साउदीमा बढेको तलब कामदारले पाएनन् «

साउदीमा बढेको तलब कामदारले पाएनन्

नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन नगरेको पाइएको छ ।नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धिगरे पनि रोजगारदातालेकार्यान्वयन नगरेका हुन् । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सीप अनुसारको मासिक पारिश्रमिक र खाना सुविधा सम्बन्धी निर्णय गरेको भएपनि पुर्णरूपमा कार्यान्वयनमा आएको छैन ।
साउदीस्थित नेपाली दूतावासले हालै सार्वजानिक गरेको २०७६-७७ को प्रथम चौमासिक प्रगति प्रतिवेदनमा कतिपय रोजगारदाताले श्रमिकको सेवा सुविधा नेपाल सरकारले तोके अनुसार नदिएको जनाएको छ । नेपाल सरकारले निर्धारण गरेको नयाँ पारिश्रमिक निर्णय कार्यान्वयन गराउनु नेपाली राजदूतावासका लागि अहिले ठूलो चुनौती रहिआएको जनाइएको छ । वृद्धिभएको पारिश्रमिककार्यान्वयन गराउने सम्बन्धमा रोजगारदाता र नेपालका इजाजतपत्रवालाहरूको इमान्दार सहयोगको आवश्यकता रहने भए पनि सोको अनुभुति आशातित नभएको दूतावासले जनाएको छ ।
“नेपाल सरकारले गरेको पारिश्रमिक वृद्धिसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सहयोग गरिदिन साउदी सरकारलाई पनि अनुरोध गरिएको छ,” दूतावासद्वारा सार्वजानिक गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ,“न्यूनतम पारिश्रमिक कार्यान्वयनमा क्रमशः सफलता प्राप्त भइरहे पनि पूर्ण रूपमा कार्यान्वयनमा आएको छैन ।” नेपाल सरकारले निर्धारण गरेको पारिश्रमिक रोजगारदाताहरूले उपलव्ध नगराएको लिखित गुनासो श्रमिकहरूबाट प्राप्त भएमा राजदूतावासले रोजगारदाता र इजाजतपत्रवालाहरूबाट आउने थप मागपत्रहरू पूर्वमागपत्रबाट सिर्जना भएका समस्या समाधान नभएसम्म प्रमाणिकरण नगर्ने कार्यको थालनी भने गरेको छ । लागू गरिएको पारिश्रमिक कार्यान्वयन गर्न दूतावासले कम्पनी भ्रमण र सचेतना कार्यलाई पनि महत्वकासाथ अगाडि बढाइएको जनाएको छ ।यो अवधिमा दूतावासमा सबै भन्दा बढी गुनासो तलब सम्बन्धी आउने गरेको समेत जनाएको छ । दूतावासमा आएका ४ हजार १५१ गुनासा मध्ये तलव सम्बन्धमा १ हजार ९२६ अर्थात आधा रहेको देखिएको छ । दोस्रोमा अकमा ( अस्थायी आवासीय अनुमतिपत्र) नवीकरण नभएका कारण सिर्जना भएका समस्या समाधानमा १ हजार ३७६ गुनासो आएका छन् ।
नेपालका इजाजतपत्रवालाहरूको इमान्दार सहयोग प्राप्त हुन सकेमा न्यूनतम पारिश्रमिक कार्यान्वयन निकै सहज हुने राजदूतावासको प्रष्ट धारणा रहेको जनाउँदै आएको छ । “नयाँ प्रावधानअनुसार आउने कामदारहरू समेत उत्तिकै जिम्मेवार भइ राजदूतावासलाई सहि र विश्वसनीय सूचना प्रदान गर्नुहुनेछ भन्नेमा पनि राजदूतावास विश्वस्त रहेको छ,” प्रतिवेदनमा भनिएको छ ।
नेपाल सरकारले अघिल्लो असोजमा नै साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यवसायिक कामदारको आधारभूत पारिश्रमिकका लागि ६ वर्षपछि न्यूनतम पारिश्रमिक पुनरावलोकन गरेको थियो । पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियल अर्थात ९००० हजार रुपैयाँ पाउनेछन् । पुनरावलोकन गरिएको २०० पारिश्रमिक र १०० भत्ता गरी हाल साउदी जाने नेपालीले १३०० रियल अर्थात ३९ हजार रुपैयाँ पाउने देखिएको छ । दूतावासको प्रतिवेदनमा सो अनुसार पारिश्रमिक दिन समेत रोजगारदाताले आनकानी गरेको देखिन्छ । यस अघि साउदी जाने श्रमिकले ८०० पारिश्रमिक र २०० भत्ता गरेर १ हजार रियल अर्थात ३० हजार रुपैयाँ पाउदै आएका छन । हाल साउदीका रोजगारदाताले यसरी वृद्धि गरिएको पारिश्रमिक अनुसार नेपालमा मागपत्र पठाइरहेको भएपनि तलब वृद्धि भने कार्यान्वयन गरिएको छैन ।
नेपालबाट जाने डाक्टर, इन्जिनियर र अन्य व्यावसायिक कामदारले ३ लाख ४५ हजार कायम हुने उल्लेख छ । वृद्धि भएको तलबअनुसार दक्ष कामदारले १ हजार ७ देखी ३ हजारसम्म पाउने छन् । त्यसैगरी अर्धदक्ष कामदारले १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म पाउनेछन् । साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, ओहोरदोहोर हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्