वैशाख पहिलो साता घरजग्गा मेला हुने

आगामी वैशाख ४ गतेदेखि काठमाडौंमा घरजग्गा मेला हुने भएको छ । नेपाल जग्गा तथा आवस विकास संघले आगामी वैशाख ४ गतेदेखि ७ गतेसम्म भृकुटीमण्डपमा घरजग्गा मेलाको आठौं संस्करण गर्ने भएको हो ।
संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मेला आयोजना हुनेबारे जानकारी गराएको छ । मेलामा विद्युतीय सामग्री, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधनसँगै घरजग्गासम्बन्धी स्वदेशी तथा विदेशी गरी ८० बढी स्टल रहने मेला आयोजक समितिले जनाएको छ । मेलामा भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक तथा बिमा कम्पनीहरूको पनि सहभागी हुने संघका अध्यक्ष मिनमान श्रेष्ठले जानकारी दिए । उनले यो पटक प्रदर्शनीमा नयाँ योजनाहरू अलि कम भएकाले पुरानै योजनाहरू राखिने बताएका छन् ।
मेलाले घरजग्गा व्यवसायको वर्तमान स्थितिसँगै समस्या र समाधानको उपायसहित भावी योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । मेलाबाट सर्वसाधारणका लागि घरजग्गाबारे जानकारी हुनुका साथै घरजग्गा कारोबारलाई सरल, सुलभ र व्यवस्थित बनाउन सहयोग पुग्ने आयोजकको भनाइ छ ।