Logo

महिलाका नाममा उद्योग दर्ता बढ्दो

हेटौँडा- मकवानपुरमा महिलाको नाममा दर्ता भएका उद्योग तथा व्यावसायिक संस्थाको संख्यामा वृद्धि भएको छ । राज्यले महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजस्व छुटको व्यवस्था गरेकाले महिला उद्यमी तथा व्यवसायीको संख्यामा वृद्धि भएको हो । घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाको तथ्यांकको आधारमा चालु आर्थिक वर्षमा पुरुषको तुलनामा महिलाको नाममा दोब्बर उद्योग दर्ता भएका छन् ।
हेटौंडाको घरेलु तथा साना उद्योगमा निजी फर्म रजिष्ट्रेशन ऐन २०३४ ले तोकेका उद्योग तथा व्यापारिक फार्म दर्ता गर्दा यस आर्थिक वर्षदेखि सरकारले छुट दिएपछि महिलाको नाममा उद्योग तथा व्यापारिक फार्म दर्ता संख्या बढेको जनाइएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा महिलाको नाममा मात्रै ६०८ उद्योग तथा व्यावसायिक संस्था भएको जनाइएको छ । पुरुषको नाममा भने ३७६ उद्योग दर्ता भएका छन् ।
यस्तै यस वर्ष एक हजार २२६ पुरुषको नाममा व्यापारिक फर्म दर्ता भएको छ भने एक हजार ५४३ महिलाको नाममा फर्म दर्ता भएका छन् । राज्य तथा प्रदेश सरकारले महिलालाई अघि बढाउन र पुरुषको मात्र भर नपरी आफ्नै पहलमा केही काम गर्न योजना तथा सेवासुविधा दिइएको कुरा सम्झाउँदैमा समय बित्ने गरेको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहालले जानकारी दिए ।
उनी भन्छन्, “हामी वास्तविक रुपमा महिला उद्योगी व्यवसायी भएको हेर्न चाहन्छौं, राज्यको पनि उद्देश्य त्यही हो तर दर्ता गर्न आउने महिला हेर्दा केहीलाई त उद्योगको बारेमा थाहासम्म हुँदैन दुःख लाग्छ ।” तर केही महिला भने सशक्तरुपमा उद्योग व्यवसायमा लागेको उनको भनाइ थियो ।
यद्यपि वास्तविक रुपमा भने केही महिला कागजमा मात्र नै उद्यमी र व्यवसायी भएको पाइएको उनको गुनासो छ । एक करोडसम्म पुँजीको फर्म दर्ता गराउँदा महिलालाई शतप्रतिशत छुट भएकै कारण घरेलु तथा साना उद्योगमा पुरुषभन्दा दोब्बर महिलाको स्वामित्वमा फर्म दर्ता भएको कार्यालय प्रमुख दाहालको भनाइ थियो ।
सरकारले एक करोड रुपैयाँसम्म पुँजीको उद्योग तथा व्यापारिक फर्म दर्ता गर्दा २० हजार १०० राजस्व तोकेको छ । महिलाले यस्तो फर्म दर्ता गर्दा २०० राजस्व मात्र तिर्नुपर्ने व्यवस्था छ । यस्तै एक करोडभन्दा धेरै पुँजी लगानीमा लगानी हेरी दर्ता शुल्कको ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस वर्ष उद्योग तथा व्यापारिक फर्म दर्ताबापत ३८ लाख राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्