सूचना प्रविधिमा एफडीआई ल्याउन सके बाहिरिएको जनशक्ति फर्किनेछ «

सूचना प्रविधिमा एफडीआई ल्याउन सके बाहिरिएको जनशक्ति फर्किनेछ

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको अढाइ दशक लामो इतिहासमा पहिलो पटक काठमाडौं उपत्यका बाहिरबाट उम्मेदवारी दिएर अध्यक्षमा निर्वाचित नवराज कुँवर जुझारु व्यवसायी मानिन्छन् । वि.सं २०५२ देखि क्यानको सदस्य रहेका कुँवरले २०५७ सालमा लुम्बिनी अञ्चलका सूचना प्रविधि व्यवसायीलाई संगठित गरी आफ्नो अध्यक्षतामा क्यान लुम्बिनी संस्था गठन गरी क्यानको पहिलो शाखाका रूपमा सदस्यता लिएका थिए । पछिल्लो डेढ दशकदेखि क्यानको केन्द्रीय समितिमा रहेका कुँवर संस्थामा अनुभवी नेतृत्वका रूपमा चिनिन्छन् । यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका कुँवर गत मंसिर ७ मा भएको क्यान महासंघको १३औं कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । सात प्रदेश र ७७ जिल्लामा क्यान महासंघ पु-याउने एजेण्डासहित क्यान नेतृत्वमा चुनिएका कुँवर हाल क्यानको पहिचान बनेको इन्फोटेकको अन्तिम तयारीमा छन् । योसँगै ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच पु-याउन अभियान सञ्चालन गर्ने र संस्थागत सुशासन विकासमा जोड दिँदै सूचना प्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश गराउने बताउँदै आएका छन् । उनै अध्यक्ष कुँवरसँग सरकारले अगाडि सारेको डिजिटल नेपालको अवधारणा, फागुन पहिलो साता हुन लागेको इन्फोटेकको तयारी तथा सूचना प्रविधि क्षेत्रको वर्तमान अवस्थालगायत समसामयिक विषयमा कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :

क्यान महासंघ र इन्फोटेक एक–अर्काका परिपूरक जस्तै भइसकेका छन् । यस वर्ष हुन लागेको क्यान इन्फोटेक–२०२० को तयारी कस्तो हुँदैछ ?
मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक–२०२० को तयारी अन्तिम चरणमा पुगेको छ । सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६औं संस्करण हो । आगामी फागुनको २ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । ८० प्रतिशत स्टल बुकिङ भइसकेका छन् । यस पटकको क्यान इन्फोटेकको विशेषता इन्नोभेसन एक्स्पोजर रहनेछ । यसअन्तर्गत स्टार्टअप र इन्नोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्नेछन् । यसका निम्ति सार्वजनिक सूचना निकालेरै स्टार्टअप र इन्नोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरिसकेका छौँ । सहभागीहरूलाई क्यान इन्फोटेकमा विभिन्न सुविधा तथा उत्कृष्टलाई पुरस्कृत गर्ने घोषणा यसअघि नै गरिसकिएको छ । प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवद्र्धन गर्ने आफ्नो योजनाअनुरूप क्यान महासंघले इन्नोभेसन एक्स्पोजरलाई विशेष प्राथमिकतामा राखेको हो । सूचनाप्रविधि तथा इन्जिनियरिङका विद्यार्थीहरूको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहार उपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो । इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतिस्पर्धा पनि आयोजना गरिनेछ, जसमा हरेक प्रतिस्पर्धाका विजेताले आकर्षक पुरस्कार पाउनेछन् । यसका लागि बेग्लै विशेष पेभिलियनको व्यवस्था गरिनेछ । प्रदर्शनीको उद्घाटन रोबोट र ड्रोनबाट गरिनेछ । इन्फोटेकलाई नयाँपन दिन फरक शैली अपनाएका छौँ ।

सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासंघ भए पनि कार्यसमितिमै धु्रवीकरण हुँदा समग्र क्षेत्रले अपेक्षित लाभ लिनबाट चुक्यो भनिन्छ नि ?
क्यान महासंघ मात्रै नभएर संघसंस्था अरू जुनसुकै होस्, केही चर्चा–परिचर्चा हुन थालेपछि नै अरूको चासो बढ्न थाल्छ । समाजमा जुन संस्था अलि अगाडि बढ्छ र प्रभाव जमाउन थाल्छ अवश्य पनि आकांक्षीहरू बढ्छन् । जब आकांक्षा बढ्दै जान्छ त्यस्तो संस्थामा सर्वसम्मतभन्दा निर्वाचन प्रक्रियाबाट नेतृत्व छानिन्छ । ठूलो संस्थामा केही धु्रवीकरणजस्तो देखिनुलाई सामान्य रूपमै लिनुपर्छ । क्यान महासंघको २६ वर्षको इतिहासमा मेरो पालामा सबैभन्दा टप किसिमको निर्वाचन भयो । चुनाव भएपछि एउटाले हार्ने एउटाले जित्ने स्वाभाविक प्रक्रिया हो । हार्ने पक्ष केवल चुनाव मात्रै हारेको हो, समग्र क्षेत्रबाटै बाहिरको भन्ने होइन । दुवै पक्ष मिलेर जान सकियो भने मात्रै समग्र आईटी क्षेत्रको विकासमा टेवा दिन सकिन्छ । चुनाव सकियो अब हामी सबै साथीभाइ नै हो कुनै न कुनै ठाउँमा हामी एकअर्कामा ठोक्निुपर्ने अवस्था छ । एकले अर्काेलाई सहयोग गरेर अगाडि बढ्नुपर्छ, दुवै पक्षलाई मिलाएर जानुपर्छ भनेर मेरो विपक्षबाट उठेको व्यक्तिलाई उपाध्यक्ष मनोनीत गरेको छु । अरूलाई पनि विभिन्न ठाउँमा राखेर सक्दो ब्यालेन्स गरेर जाने कोसिस गरेको छु । क्यान महासंघलाई व्यावसायिक बनाउँदै सफल बनाउने जिम्मेवारी ममाथि आएको छ । मेरो कार्यकालमा सबै पक्षलाई मिलाएर अवसर र चुनौती दुवैतर्फ साझेदारी हुनेछ ।
अर्कातर्फ मेरो कार्यकालमा महिला सहभागिता पनि बढेको छ । काम गर्ने र नेतृत्व लिने आकांक्षा स्वयं व्यक्तिमा हुनु जरुरी छ । अहिलेको टिममा केही गर्नुपर्छ भन्ने सोचसहितका साथीहरू आउनुभएको छ । क्यानमा महिला सहभागिता कम भएकाले उहाँहरूको सहभागिता बढाउन थप प्लेटफर्महरू खडा गर्ने काम भएको छ । उहाँहरूलाई नेतृत्व दिन खोजेको छु । निर्वाचित भएर आएपछि काठमाडौंबाहिर ८ वटा ठाउँमा इन्फोटेक सम्पन्न भएको छ । ९ वटा इन्फोटेकलाई हेर्दा निकै तीव्र रूपमा काम गर्र्नुपर्ने भएकाले आन्तरिक छलफल कम भएको छ । राजधानीको इन्फोटेक सकिएपछि आन्तरिक तथा बाह्य रूपम समेट्न छुटेका विषयलाई सम्बोधन हुन्छ ।

तपाईंले नेतृत्व लिएपछि इन्फोटेकबाहेक अरू कामहरू कुन–कुन अगाडि बढाउनुभयो ? दुईवर्षे कार्यकालमा यो क्षेत्रले के नयाँ अनुभव गर्न पाउँछ ?
सूचना प्रविधिका क्षेत्रमा काम गर्नुपर्ने धेरै छ । अहिलेको अवस्थामा क्यान महासंघ मात्रै नभएर देशले नै सूचना प्रविधि क्षेत्रलाई उच्च स्थान दिएको छ । परिवर्तनको पहिलो सुरुवात भनेको नै सूचना र प्रविधिबाट हो । जहाँबाट हामी परिवर्तन चाहन्छौँ भने काम त अवश्य गुर्नपर्छ । निजी क्षेत्रबाट क्यान महासंघ लिडिङ रोलमा छ, त्यसैले हामीमाथि ठूलो जिम्मेवारी छ । सरकारले डिजिटल नेपालको अवधारणा अगाडि बढाएको छ । डिजिटल नेपाल फ्रेमवर्कले सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवा तथा कारोबार विद्युतीय माध्यमबाट सञ्चालन गर्न ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । यो फ्रेमवर्क डिजिटल प्रविधिको उपयोग गरी विकास र समृद्धिको लक्ष्य हासिल गर्न, सार्वजनिक सेवासुविधा सहजै उपलब्ध गराउन तथा प्रविधिको प्रयोगबाट उत्पादन लागत कम गर्ने लक्ष्य लिएको छ । तथ्यांकको उत्पादन, प्रशोधन र वितरणको लागत कम गरी पहँुच सुनिश्चित गरी नीतिगत तथा प्रणालीगत स्थिरता कायम गर्न सहज हुने अपेक्षा गरिएको छ । कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधार गरी ८ वटा क्षेत्र छानिएका छन् । ८ वटै क्षेत्रलाई समेट्ने गरी नेपाललाई आर्थिक सामाजिक प्रगतितर्फ अग्रसर गराउने उद्देश्यका साथ ८० वटा डिजिटल पहलसहितको कार्ययोजना समावेश गरिएको छ । यो लगायत क्यान महासंघले हिजोका दिनमा अगाडि सारेका कामहरू पूरा गर्नुपर्ने दायित्व छ । सरकारले भिजिट नेपाल २०२० मनाइरहँदा त्यसका सहयोगी हामी हुनुपर्छ । यसलाई मध्यनजर गरेर पर्यटन र आईटीलाई मिलाएर विभिन्न कार्यक्रमहरू गर्ने तयारीमा छौँ ।
अर्कातर्फ इन्फोटेकलाई पनि फरक तरिकाले लैजानुपर्छ भनेर यस पटकदेखि केही नयाँपन दिन पहल गरेका छौँ । विश्वबजारमा भएका प्रविधि मात्रै नभएर नेपालमा भएका प्रविधिलाई पनि समावेश गराउनुपर्छ भनेर इन्जिनियरिङ कलेजहरूबाट उत्पादन भएका उत्पादनलाई छुट्टै प्याभिलियन मार्फत प्रदर्शन गरिनेछ । विदेशी सामग्री मात्रै नभएर नेपालमै उत्पादन भएका नयाँ इनोभनेस, स्टार्टअपलाई प्रदर्शन गर्ने प्लेटफर्म इन्फोटेक बन्न सक्छ । कलेज तथा विद्यार्थीसँग सहकार्य गरेर नेपालमै भएका कामहरूलाई पनि प्रदर्शन गर्न हामीले पहल गरेका छौँ । विगतमा इन्फोटेकमा विदेशमा भएका प्रविधिलाई भिœयाइन्थ्यो भने यसपटक नेपालमै उत्पादन भएका सामग्री, इन्नोभेस, स्टार्टअपलाई समावेश गरिएको छ । यसले गर्दा विगतभन्दा केही नयाँपन इन्फोटेकमा अवलोकनकर्ताले पाउनेछन् । कम्तीमा २०-२२ वटा कलेजहरूका उत्पादनहरू इन्फोटेकमा समावेश हुन्छन् ।

क्यान महासंघ सूचना प्रविधिका क्षेत्रमा नेतृत्व गर्ने संस्था भए पनि आयातित सामान बेच्ने व्यवसायीहरूको संस्था जस्तो भयो । रिसर्चतर्फ पनि ध्यान दिने बेला भएन ?
क्यान महासंघको अवधारणमा अगाडि बढेको संस्था हो । प्रविधिका क्षेत्रमा अरू संस्थाहरू पनि खुलिसकेका छन् । ती संस्थाहरूको प्रतिनिधित्व क्यानले गर्छ । हिजोका दिनमा सूचना प्रविधिको क्षेत्रमा क्यान मात्रै रहेको जस्तो थियो तर अहिले त्यो अवस्था छैन । त्यतिबेला क्यान महासंघले गरेका ससाना कामहरू पनि देखिन्थे । अहिले क्यान महासंघमा परिणत हुनु भनेको क्षेत्रगत रूपमा रहेका सबै संस्थालाई प्रतिनिधित्व गरेर अगाडि बढ्ने हो । क्यान महासंघ नेपालभर फैलिएको छ । अहिलेकै दिनमा हामी ५७ जिल्लामा शाखा कार्यालय विस्तार गरेका छौँ भने प्रदेश कार्यालयहरू पनि स्थापना भइसकेका छन् । क्यानले गर्दै नगरेको भन्न मिल्दैन । नीतिगत रूपमा हुने लबिङ गर्ने, दबाब दिने, सुझाव दिने काम महासंघले गर्दै आएको छ । सूचना प्रविधि बिल, डिजिटल नेपाल अवधारणा, ब्रोडब्यान्ड नीतिलगायत सबैमा क्यान महासंघ संलग्न छ । सरकारलाई दिनुपर्ने सुझावमा क्यान महासंघले दिएको छ । सरकारले पनि हामीले दिएका सुझावहरू समावेश गरेको छ । राजनीतिक कुरा जस्तो हामीले यो ग-यौं त्यो ग-यौं भन्नु भन्दा पनि सूचना प्रविधि क्षेत्रमा भएका काममा उपभोक्तालाई रुचि छ, त्यसैले जनमानसमा छिटो पुग्छ । हाम्रो पालामा पनि सरकारसँग सहकार्य गरेर यो क्षेत्रको विकास लागि पहल गर्नेछौं । एकातर्फ सरकारले अगाडि सारेको डिजिटल नेपालको अवधारणालाई सहयोग गर्दै अगाडि बढ्छौँ भने अर्कातर्फ हाम्रा अन्य काममा पनि सहकार्य गरेर अगाडि बढ्छौँ । प्रधानमन्त्रीज्यूलाई पनि सूचना प्रविधि क्षेत्रको विषयमा जानकारी गराइसकेका छौँ । यस क्षेत्रमा सरकारले ध्यान दिनुपर्ने विषयमा बुँदागत रूपमा ध्यानाकर्षण गराएका छौँ । हिजोको अवस्था, वर्तमान अवस्था र भोलिका दिनमा अवलम्बन गर्नुपर्ने मार्ग प्रस्तुत गरेका छौँ । सरकारले सूचना प्रविधिलाई जुन तरिकाले अगाडि बढाउन खोजेको छ त्यसमा हामीले दिएका सुझावहरू अवश्य पनि समावेश हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।
क्यान महासंघमा विभिन्न खालका व्यक्ति, उद्योगी, संस्था सदस्य छन् । सूचना प्रविधि क्षेत्रलाई प्रवद्र्धन गर्दै जनचेतना बढाउने काममा महासंघ सक्रिय छ । भौगोलिक रूपमा विविधता भएको देशजस्तै प्रविधिमा पनि विविधता छ । युवापुस्ता फाइभजी तर्फ आकर्षित भइरहेको अवस्था उमेर ढल्केका सर्वसाधारणमा फोन राम्रोसँग चलाउन नसक्ने अवस्था छ । सूचनामा पहुँच हुने र नहुने बीचको ग्यापलाई कम गर्नुपर्छ भनेर क्यान महासंघ लागिरहेको छ । सबैभन्दा ठूलो कुरा शिक्षा हो त्यसका निम्न माध्यमिक र माध्यमिक तहमा सूचना प्रविधिलाई समावेश गराउनुपर्छ । हामीले कुनै पनि क्षेत्रलाई अगाडि बढाउनु विशेष कक्षा सञ्चालन गरिएको थियो । सूचना प्रविधिको पहुँच तल्लो तहसम्म पु-याउनका लागि विशेष किसिमको अभियान सञ्चालन गर्नुपर्छ । यसमा संघीय सरकार मात्रै नभएर प्रदेश सरकार र स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ । अभियानको रूपमा जान सकियो भने २-४ वर्षमा एउटा लेभलमा पु-याउन सकिन्छ तव मात्रै डिजिटल नेपालको सपना साकार पार्न सकिन्छ । हामीले तीनै तहका सरकारलाई यस सम्बन्धमा सुझाव दिइसकेका छौँ ।

सरकारकारलाई सुझाव दिने मात्रै हो कि तपाईंहरूका तर्फबाट पनि केही काम हुन्छ ?
निजी क्षेत्रले सरकारकारलाई सुझाव दिने हो भने सरकारले जारी गरेका ऐन–नियमको कार्यान्वयमा सहयोग गर्ने हो । आफ्नो क्षेत्रबाट प्रविधिको विकास र पहुँच बढाउन गर्नुपर्ने काम हामीले गर्दै आएका छौँ । मेरो कार्यकालमा पनि तल्लो तहसम्म कसरी सूचना प्रविधिको पहुँच पु-याउन सकिन्छ भनेर विशेष छलफल भएको छ । क्षेत्रगत रूपमा रिसर्च गर्न छलफल भएको छ । हामीले अलि ब्रोड रूपमा रिसर्च गर्न खोजेका छौँ तर सरकारसँग नै डेटा नभएको अवस्थामा कत्तिको रियालिटीसम्म पुग्न सकिन्छ भन्ने हो । यस क्षेत्रमा डेटाको अभाव महसुस गरेर रिसर्चको काम सुरु गरेका छौँ । क्यान महासंघले गर्ने सचेतना, प्रविधिको प्रवद्र्धन, इन्फोटेकजस्ता कार्यक्रम भइरहेका छन् ।

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै नेपाल गुणस्तरहीन सामग्रीको ‘डम्पिङ कन्ट्री’ हुन लागिसकेको भन्ने गरिन्छ, के नेपाल साँच्चै डम्पिङ हुँदै गएको हो ?
हार्डवेयरका क्षेत्रमा नेपालमा केही पनि उत्पादन छैन त्यसका लागि आयातमा भर पर्नुको विकल्प छैन । नागरिकको क्रयशक्ति कति छ भन्नेमा अर्काे महत्वपूर्ण विषय हो । कतिपय सामान बन्दा ‘ओन्ली फर नेपाल’ भनेर ट्याग लगाएको पनि देखेका छौँ । जुन कुरा हामी उत्पादन गर्न सक्दैनौं तबसम्म यस्तो अवस्था आइरहन्छ । सफ्टवेयरको क्षेत्रमा भने नेपालले अलिकति फड्को मार्न खोजेको छ । नेपालमा उत्पादन भएका सफ्टवेयरहरू विदेशमा निर्यात भएका छन् । मोबाइल र ब्रोडब्यान्ड बाहेक अन्य क्षेत्रमा नेपालले खासै प्रगति गर्न सकेको छैन । अन्य क्षेत्रहरू खासै विकास हुन सकेका छैनन् । जबसम्म हामीले आफ्नो उत्पादन गर्न सक्दैनौं तबसम्म डम्पिङ नै भए पनि आयात गर्नुको विकल्प छैन ।

नेपाललाई सफ्टवेयर र बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) को हब बनाउने भनेर पनि क्यान महासंघको अघिल्लो नेतृत्वले पहल गरेको थियो । तपार्इंले यस मुद्दालाई कसरी लिनुभएको छ ?
हामीले यसमा पहल गरेका छौँ । कानुन बनाउने ठाउँमा पनि यस क्षेत्रको सम्भावनासहितको खाका प्रस्तुत गरिसकेका छौँ । नेपालले सूचना प्रविधिमा फड्को मार्न सक्ने भनेको सफ्टवेयर र बीपीओ नै हो । कानुन बनाउने ठाउँमा सूचना प्रविधि बुझेको व्यक्ति पुग्न सकेमा मात्रै यस क्षेत्रको न्याय हुन्छ । नेपालमा कर्मचारीतन्त्र परिवर्तन हुन चाहँदैन यसले अप्ठेरो गरेको छ । कानुन बनाउने ठाउँमा प्रविधि बुझेका व्यक्ति राख्नुपर्छ भनेर सरकारलाई ध्यानाकर्षण गराएका छौँ । हामीले नीति बनाउन पनि सक्दैनौँ, कसैलाई दण्ड–जरिवाना पनि गर्न सक्दैनौँ सबै काम सरकारले गर्ने हो । हाम्रो आवाज दिने बाटो देखाउने, ज्ञान दिने हो ।
काठमाडौंकै कुरा गर्दा अहिले पनि हरेक १० घरमा सानो होस् या ठूलो सफ्टवेयर कम्पनी छ । त्यसलाई बाहिर ल्याउने वातावरण सरकारले गराउनुपर्छ । राम्रा कुरालाई प्रवद्र्धन गर्नुपर्छ । सरकारलाई चाहिएको सफ्टवेयर चाहिएको छ त्यसलाई विदेशबाट किन्ने नभएर बरु लगानी गरेर भए पनि नेपाली कम्पनीलाई प्रमोसन गर्नुपर्छ ।

सूचना प्रविधिमा उच्चतम सम्भावना भए पनि विदेशी लगानी आउन नसक्नुको कारण के हो ?
विदेशी कम्पनीलाई नेपाल ल्याउन सकियो भने जति पनि जनशक्ति बाहिरिएको छ त्यसलाई रोक्न सकिन्छ । नेपालमा लगानी गर्न चाहानेलाई एउटा समयसीमा तय गरेर उसलाई दिनुपर्ने सुविधा छुट स्पष्ट पार्नुपर्छ । विदेशी लगानीकर्ता नेपाल आउँदा लाभको अपेक्षाले आउने हो । हामीले कुनै सुविधा र सुरक्षा नदिई विदेशी लगानी आउँदैन । सूचना प्रविधि क्षेत्रमा विदेशी लगानी आवश्यक छ त्यसमा धेरै कम्पनी आउन इच्छुक पनि छन् । विदेशी कम्पनी आउने वातावरण सरकारले बनाउनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्