Logo

नाग्म गमगडी सडक अवरुद्ध

जुम्ला– नेपालकै पर्यटक आकर्षणको केन्द्र मानिने रारा ताल जाने एक मार्ग हो नाग्म गमगडी सडक । हिउँदमा हिलो र वर्षायाममा धुलोले पर्यटक अन्य यात्रुले सास्ती पाइरहेकै छन् । तर हिमपातका कारण गएको एक हप्तादेखि नाग्म गमगडी सडक अवरुद्ध भएपछि आवतजावत बन्द भएको छ । सडक खण्डको घुचिलेकमा अत्याधिक हिउँ जमेपछि सडक अवरुद्ध भएको हो । पटक पटक अवरुद्ध हुँदै आएको नाग्म गमगडी सडक भ्रमण वर्षका बेला बन्द हुँदा सयौ पर्यटक प्रभावित भएको स्थानीय सर्पजित बुढाले बताए । उनका अनुसार सडक अवरुद्ध हुँदा अधिकांश पर्यटक अहिले सिंजा गुठिज्युलामै बस्ने गरेका छन् । पर्यटकीय मार्ग मानिने सडक ग्राभेलसमेत नहुँदा सास्ती पाएका स्थानीयहरु अहिले हिमपातले हप्तादिनसम्म अवरुद्ध हुँदा अत्यावश्यक कामका लागि पनि यात्रा गर्न नपाएको मुगुका स्थानीय नन्द रोकायाको गुनासो छ । भ्रमण वर्षकै बेला हप्ता दिनसम्म सडक अवरुद्ध हुँदा रारा आउने पर्यटक घटेका छन् । 
हिउँ पन्छाएर सडक खोल्ने तयारीकर्णालीमा भएको भारी हिमपातले अवरुद्ध पर्यटकीय मार्ग नाग्म गमगडी सडक हिउँ पन्छाएर खोल्ने तयारी भइरहेको छ । विगत एक हप्तादेखि अवरुद्ध सडक खोल्नका लागि चार दिनदेखि डोजरले गुच्ची लेकको हिउँ पन्छाइरहेको सडक डिभिजन जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । उनका अनुसार मौसम खुलेको दिनदेखि हिउँ पन्छाउन सुरु गरिएको हो । हिउँ पन्छाएर कम्तीमा ३-४ दिनभित्र सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्