निर्यातकर्ताहरूको क्षमता अभिवृद्धि तालिम

हातले बुनेको ऊनीको गलैंचा र जडीबुटी निर्यातकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्र (टीईपीसी) र अन्तर्राष्ट्रिय व्यापार केन्द्रले (आईटीसी) ले संयुक्त रूपमा ‘चीनमा निर्यात कसरी गर्ने’ भन्ने विषयमा पोखरामा तालिम सञ्चालन गरेको छ ।
दुई दिने तालिम आईटीसीले तयार पारेको निर्यात प्रबन्धन निर्देशिकामा आधारित भएर आयोजना गरिएको होे । उद्घाटन सत्रमा व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले स्वदेशीय तथा घरेलु ज्ञानले भरिपूर्ण भए तापनि निर्यातसम्बन्धी ज्ञानको अभावले देशको निर्यात घट्दै गएको औंल्याए ।
आईटीसीका राष्ट्रिय सल्लाहकार राजन शर्माले नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउनु छ भने निर्यातकर्ताहरूले आफ्नो विक्रयकला बढाउनुको विकल्प नरहेको कुरामा प्रकाश पारे । यसैगरी अन्तर्राष्ट्रिय सल्लाहकार कसिम चौदरीका अनुसार आईटीसीले साना तथा मझ्यौला उत्पादकहरू (एसएमई) लाई अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउन सहयोग गर्दै आएको र यस तालिमको उद्देश्य चीनमा निर्यातका लागि साना तथा मझ्यौला निर्यातकर्ताहरूको क्षमता अभिवृद्धि गर्नुका साथै त्यसका लागि आवश्यक प्रक्रियाहरूमा प्रकाश पार्नु रहेको बताए ।
कार्यक्रममा प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य तथा नेपाल गलैंचा निर्यात संघका अध्यक्ष रामबहादुर गुरुङ, नेपाल जडीबुटी तथा जडीबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला र क्वारेन्टाइन सुविधाकोे अभावका कारण नेपालले जडीबुटी निर्यातमा सोचेअनुसार प्रगति गर्न नसकेको कुरामा जोड दिए ।
उक्त दुई दिवसीय तालिममा देशैभरिबाट गलैंचा र जडीबुटी उत्पादक तथा निर्यातकर्ता गरी करिब ६० जनाको सहभागिता थियो ।