Logo

नेपाली अर्थतन्त्रमा विप्रेषणको स्थान

 

स्वदेशमा रोजगारीको व्यवस्था गर्न विभिन्न योजना ल्याएर बिदेसिने क्रम न्यून गर्नुपर्नेमा सरकारले त्यो गर्न सकेको छैन ।

पछिल्लो समय अमेरिका र इरानबीच बढेको द्वन्द्वका कारण नेपाली अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने सम्भावना पनि बढेको छ, जसका कारण नेपाली अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने अर्थविद्हरूको अनुमान पनि छ । नेपाली अर्थतन्त्रको मूलआधार बनेको विप्रेषण वा रेमिट्यान्सको घट्नेक्रम दिनप्रतिदिन जारी छ । सन् २०२० जनवरी ३ मा इराकको कुर्दिस फोर्सका कमान्डर जनरल कासिम सुलेमानीसहित आठ जनाको अमेरिकी सैनिकद्वारा हत्या भएपछि बढेको द्वन्द्वका कारण विश्वका अधिकांश देश त्यसबाट उत्पन्न हुने नकारात्मक असरप्रति गम्भीर र थप चिन्तित बन्न पुगेका देखिन्छन्, जसका कारण विश्वका केही मुलुकको अर्थतन्त्रसमेत प्रभावित हुने सम्भावना बढ्दै गएको छ ।
सुलेमानीको आक्रमणपश्चात् इरानले जनवरी ८ मा इराकस्थित इरबिल र अल असदका दुई अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण गरेपछि खाडी क्षेत्रमा झन् तनाव बढेको हो ।
प्रत्युत्तरमा अमेरिकाले आफ्ना सेनाको प्रतिरक्षाका लागि जस्तो पनि कदम चाल्ने कडा चेतावनी दिएका कारण खाडीक्षेत्र मात्र नभएर अहिले विश्वमै सन्त्रास बढेको छ, जसका कारण हाम्रो जस्तो मुलुकमात्र नभएर विकसित मुलुकले पनि त्यसको थप असर भोग्नुपर्ने सम्भावना बढेको देखिन्छ । यदि खाडी क्षेत्रमा उक्त विवाद कायमै रहेको खण्डमा नेपाली अर्थतन्त्र पनि धराशायी हुने देखिन्छ ।
यदि खाडी क्षेत्रमा द्वन्द्व बढिरहेमा खाडी क्षेत्रमा तीव्र रूपमा भइरहेको पूर्वाधार निर्माणको काम रोकिनेछ र त्यसले त्यहाँ कार्यरत नेपाली कामदार पनि स्वदेश फर्कन बाध्य हुनेछन् । यदि इरान–अमेरिकाको द्वन्द्व यही रूपमा कायम रहने हो भने मध्यपूर्वका एक दर्जनभन्दा बढी मुलुकसमेत नराम्रोसँग प्रभावित हुनेछन् ।
इरान, इराक, साइप्रस, सिरिया, जोर्डन, लेबनान, टर्की, यमनलगायतका देशमा नेपाली राजदूतावास समेत छैन । राजदूताबास नहुँदा त्यहाँ नेपाली श्रमिकहरूले भोग्नुपर्ने समस्या त बेग्लै छ । खाडी मुलुकमा मात्र झन्डै १० लाख नेपाली कार्यरत छन् । वैदेशिक रूपमा प्रतिबन्ध लगाइएका इराक र इरानलगायतका देशमा समेत नेपालीहरू काम गर्न पुगेका छन् । त्यसो त वैदेशिक रोजगार ऐन, २०६४ अनुसार ५ हजारभन्दा बढी कामदार भएको मुलुकमा अनिवार्य रूपमा श्रम सहचारी राख्नुपर्छ । रोजगार ऐनमा सो व्यवस्था भए पनि कैयन् मुलुकमा श्रमचारी नभएका राजदूतावास पनि रहेका छन् । विश्वमा नेपालको ३० देशमा राजदूतावास, ६ देशमा महावाणिज्य दूतावास, ३ देशमा स्थायी नियोग, ७ देशमा श्रम सहचारी र ५ देशमा कन्सुलर रहेका छन् ।
जोर्डन, इराक, टर्की, सिरिया, साइप्रस, यमन, बहराइन, इरान, इजरायल, लेबनान आदि देशमा कुनै पनि राजदूत, श्रमसहचारी, महावाणिज्य दूतावास, स्थायी नियोग, कन्सुलर र श्रमसहचारी रहेका छैनन् । साउदी अरब, ओमान, युएई, कतार, कुबेतमा श्रमसहचारीमात्र रहेका छन् । त्यस्तै, कतार, साउदी अरब, युएईमा भने कन्सुलरमात्र रहेका छन् ।
विश्वमा नेपालीहरू रोजगारीका लागि जाने क्रम दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । विदेशका थुप्रै मुलुकमा नेपाली कामदारहरू विभिन्न रूपमा कार्यरत् छन् । जोर्डनमा ८ हजार ६ सय ६३, कुबेतमा ८९ हजार ९ सय १९, इरानमा २४, ओमानमा २० हजार, साउदी अरबमा ४ लाख १९ हजार ७ सय ७८, इजरायलमा २ हजार ४ सय २९, टर्कीमा ४ हजार, कतारमा ६ लाख, युएईमा ४लाख, बहराइनमा २८ हजार ९ सय २३, ओमानमा २० हजार नेपाली कामदार रहेका छन् । यसरी हेर्दा देशभित्र भित्रिने विप्रेषणको करिब ७५ प्रतिशत हिस्सा खाडी क्षेत्रका मुलुकबाट नेपालमा आउने गरेको देखिन्छ । नेपाली अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने त्यो विप्रेषण यदि खाडी मुलुकमा सङ्कट बढेमा प्रभावित हुने देखिन्छ । विद्यमान द्वन्द्व न्यूनीकरणका लागि गरिने प्रयास असफल भएमा त्यसको दीर्घकालीन असर विश्वअर्थतन्त्रमा मात्र होइन हाम्रो जस्तो मुलुकमा त प्रत्यक्ष रूपमा नै देखिनेछ । यदि यस द्वन्द्वले विकराल रूप लिएको खण्डमा नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्ने पक्कापक्की छ । जबकि आर्थिक वर्ष २०७५÷७६ मा कुल गार्हस्थ उत्पादनको २३ प्रतिशत बराबार विप्रेषण स्वदेश भित्रिएको थियो ।
अर्कातिर सुलेमानीको हत्या र इरानको अमेरिकी सैन्य शिविरमा आक्रमणपछि विश्वबजारमा सुन र तेलको मूल्य पनि एकाएक बढ्न पुगेको छ । दुई देशबीच भएको तेल आपूर्तिमा अवरोध आउने सम्भावनाका कारण विश्व बजारमा तेलको मूल्यवृद्धि भएको हो । तेलको मूल्य वृद्धिका कारण विभिन्न उत्पादनको मूल्यसमेत प्रभावित हुन सक्छ । गत वर्ष कतारसँग साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहराइन, यमन र लिबियाले सम्बन्धविच्छेदको घोषणा गरेपछि कतारको अर्थतन्त्र प्रभावित भयो, जसका कारण त्यहाँबाट नेपाली कामदारहरू पनि स्वदेश फर्कन बाध्य भए । त्यसले नेपाली अर्थतन्त्रमा पनि असर पारेको देखिन्छ ।
पछिल्लो समयमा स्वदेशमा रोजगारी नभएका कारण र राम्रो कमाइ हुने आसमा कैंयन् नेपाली वैदेशिक रोजगारीका लागि अनुमति नदिएका देशमा पनि काम गर्न जान बाध्य भएका छन्, जसबाट पनि ठूलो मात्रामा विप्रेषण नेपाल भित्रने गरेको छ । हाल नेपालमा १ सय ५८ राष्ट्रबाट रेमिट्यान्स भित्रिने गर्छ । वैदेशिक रोजगारीका लागि नेपालले विश्वका १ सय १० देशसँग सम्झौता गरिसकेको छ । पछिल्लो समयमा सरकारले वैदेशिक रोजगारीका लागि अनुमति नदिएका ४८ राष्ट्रमा नेपालीहरू रोजगारीका लागि भित्रिएका छन् भने इराक, अफगानिस्तान, लिबियालगायत राष्ट्रमा हाल काम गर्न जान स्थगित गरिएको छ, तर पनि स्वदेशका रोजगारीको भरपर्दो व्यवस्था नभएका कारण गैरकानुनी बाटोबाट त्यहाँ काम गर्न जाने नेपालीको सङ्ख्या पनि बढी रहेको छ । संयुक्त राष्ट्रसंघमा आबद्ध राष्ट्रअनुसार विश्वमा कुल १९५ राष्ट्र छन् । तीमध्ये १९२ सदस्य र दुईवटा एसोसिएट सदस्य छन् ।
त्यसमध्ये ८१ प्रतिशत मुलुकमा नेपालीहरूले काम गर्ने र त्यहाँबाट विप्रेषण स्वदेश पठाउने गरिएको पाइन्छ । नेपालमा धेरै विप्रेषण आउने राष्ट्र कतार हो । गत वर्ष कतारबाट मात्र करिब ७ करोड ८३ लाख ९३ हजार ६ सय ६८ अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिएको थियो । त्यसपछि साउदी अरबबाट मात्र करिब ७ करोड ९९ हजार ४ सय ७२ अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ । त्यसपछि दुबईबाट ६ करोड ९८ लाख ७० हजार ६ सय ४४ अमेरिकी डलर र मलेसियाबाट ५ करोड २२ लाख ४९ हजार ७ सय ७९ अमेरिकी डलर विप्रेषण नेपाल आएको पाइन्छ । त्यस्तै गरी अमेरिकाबाट ४ करोड ९८ लाख ४ सय ५९ हजार अमेरिकी डलर विप्रेषण नेपाल भित्रिएको देखिन्छ भने जापानबाट ४ करोड ६७ लाख ८२ हजार ३ सय ९९ अमेरिकी डलर नेपाल भित्रिएको देखिन्छ । दक्षिण कोरियाबाट २ करोड ७५ लाख २६ हजार १ सय ३४, कुबेतबाट १ करोड ९९ लाख ३४ हजार १ सय ३२, बहराइनबाट १ करोड २१ लाख ७३ हजार १ सय ९४ र बेलायतबाट १ करोड १६ लाख ५० हजार २१ अमेरिकी डलर विप्रेषण नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यो राष्ट्र बैंकको बैंकिङ प्रणाली र रेमिट्यान्स कम्पनीमार्फत नेपाल भित्रिएको रकमको तथ्याङ्क हो । यसबाहेक अनौपचारिक माध्यमबाट नेपाल भित्रिने रकमको यहाँ तथ्याङ्क समावेश भएको छैन । जबकि हुन्डीबाट पनि नेपालमा ठूलै रकम भित्रिने गरेको छ । त्यसैले नेपालमा बर्सेनि कति रकम विप्रेषणका रूपमा भित्रन्छ, त्यसको सही तथ्याङ्क निस्कन सकेको छैन ।
गत साल कात्तिक मसान्तसम्ममा ३ खर्ब १२ अर्ब रुपैँया रेमिट्यान्स नेपाल भित्रिएकोमा यस वर्ष कार्तिक मसान्तसम्म ३ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । जसबाट के प्रस्ट हुन्छ भने रेमिट्यान्स आप्रवाह क्रमशः घट्दै गइरहेको छ, जसको मूलकारण खाडी मुलुुकमा बढ्दै गएको द्वन्द्व र विदेशी कामदार कटौति नै प्रमुख कारण हुन् । मलेसियामा करिब १५ महिना नयाँ रोजगारी रोकिएका कारण पनि नेपाली अर्थतन्त्रमा प्रभाव परेको हो । कतारमा भएको आर्थिक नाकाबन्दीका कारण त्यहाँ जाने नेपाली कामदारको सङ्ख्यासमेत घट्न पुगेको देखिन्छ, जसका कारण पनि विप्रेषण दर क्रमशः घट्न पुगेको हो । गतवर्ष रोजगारीका लागि बिदेसिने नेपालीको सङ्ख्या घटेका कारण विप्रेषण पनि घट्न पुगेको थियो, तर यो वर्ष रोजगारीका लागि बाहिरिने नेपालीको सङ्ख्या बढेको छ ।
स्वदेशमा रोजगारीको व्यवस्था गर्न विभिन्न योजना ल्याएर बिदेसिने क्रम न्यून गर्नुपर्नेमा सरकारले त्यो गर्न सकेको छैन । बिदेसिने नेपालीहरूले पनि त्यहाँ भोग्नुपर्ने विभिन्न खालका समस्या आफ्नै ठाउँमा छन् । त्यसलाई समाधान गर्न सरकारले विशेष पहल गर्नुपर्ने देखिन्छ । बेलाबेलामा त्यहाँ घट्ने कुनै पनि घटना वा हिंंसामा नेपालीहरूको अवस्था बुझ्न पनि सरकारलाई कठिनाई छ, जसका लागि नेपालले छिमेकी मुलुक भारत र चीनको भर पर्नुपर्ने अवस्था छ । कति देशमा राजदूतावास छैन, कतै कन्सुलरको अभाव देखिन्छ । श्रमसहचारीको व्यवस्था नहुँदा नेपालीले विभिन्न समस्या भोग्नुपरेको नै छ । नेपाली कामदारकाृ समस्या हल गर्न नेपाल सरकारले विशेष पहल गरी नेपाली अर्थतन्त्रको ठूलो हिस्सा मानिने विप्रेषणको सुनिश्चितताका लागि गम्भीर भएर लाग्नु आजको आवश्यकता हो । नेपाली अर्थतन्त्रमा विप्रेषणको महŒव र भूमिका सहजै आकलन गर्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्