विपन्नले आवास बनाउन अनुदान पाउने «

विपन्नले आवास बनाउन अनुदान पाउने

म्याग्दी-गण्डकी प्रदेश सरकारले आवासविहीन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय बागलुङले आवासविहीनको पहिचान गरी घर निर्माणमा सघाउने प्रक्रिया सुरु गरेको हो ।
जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्षसमेत रहेका प्रदेश सांसद विनोद केसीको अध्यक्षतामा बेनीमा आइतबार बसेको बैठकले आवास बनाउन इच्छुक मापदण्डभित्र पर्ने लाभग्राहीबाट आवेदन संकलन गर्ने निर्णय गरेको छ । स्थानीय तहका वडा कार्यालयमार्फत लाभग्राहीले आवेदन फारम भर्न पाउने व्यवस्था मिलाइएको छ । बैठकले आवेदन बुझाउन १५ दिनको समय तोकेको छ । संकलित आवेदनका आधारमा प्राविधिकले स्थलगत निरीक्षण गर्नेछन् ।
कार्यविधि अनुसार न्यूनतम ३५ अंक प्राप्त गर्नेलाई कार्यक्रममा छनोट गरिने कार्यालयका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए । जग्गा भएर पनि घर नभएकाले लाजपुर्जासहित भवन बनाउन इच्छुक भएको आवेदन फारम भर्नुपर्नेछ । राष्ट्रिय दलित आयोगमा सूचिकृत दलित समुदायका घरविहीनले चार किस्तामा तीन लाख ५० हजार रुपैयाँ पाउनेछन् । जीर्ण अवस्थाको घर, टहरा, गोठ र ओढारमा बस्नुपर्ने अवस्था हटाउन यस्तो कार्यक्रम ल्याइएको केसीले भने, “लक्षित लाभग्राहीलाई समेट्न स्थानीय तह र जनप्रतिनिधिको सक्रिय सहयोगको अपेक्षा गरेका छौं ।”
कुल रकममध्ये जग खनेपछि २५, डीपीसी गरेपछि ३०, गाह्रो लगाएपछि ३५ र शौचालय निर्माणका साथै छानो हालेपछि अन्तिम १० प्रतिशत पाउने व्यवस्था छ । आवेदन संकलन भएपछि लाभग्राही छनोट गरेर अनुदान वितरण गरिने कार्यालयका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए ।
आव ०७४-७५ मा ६६ र ०७५-७६ मा ८० वटा घर निर्माण भएको कार्यालयका सूचना अधिकारी बद्रीनाथ गौतमले बताए । उनका अनुसार गत वर्ष सम्झौता भएका ९५ मध्ये १५ वटा घर निर्माणाधीन छन् । विगतका वर्षमा कार्यक्रमका लागि आवेदन भरेर पनि सुविधा नपाएका, प्रतीक्षा सूचीमा रहेकाले पनि आवेदन दिन सक्नेछन् । अनुदान पाउने लाभग्राहीले कार्यालयले बनाएको डिजाइन र मापदण्डअनुसार दुई कोठे भवन बनाउनुपर्नेछ ।
बैठकमा जिसस प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ ज्ञाननाथ ढकाल र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायतले प्राविधिक सेवा र अनुदान भुक्तानी प्रक्रियालाई सहज बनाउन सुझाव दिएका थिए ।

 

धिरन खत्री

प्रतिक्रिया दिनुहोस्