चलचित्रकर्मीको रोजाइमा इलाम

इलाम –हरिया डाँडाकाँडा, चियावारी, खोल्सी अनी झरना । यो इलामको पर्याय हो । ताल, पोखरी, यहाँबाट देखिने दृष्य लगायतले धेरैको मन तानेको छ । तर यति हुँदा हुँदै पनि फिल्मकर्मीहरू इलाम आएर सुटिङ भने कमै मात्र गर्दथे । हरेक क्षेत्रको केन्द्र काठमाडौ भएर हुनुपर्छ, फिल्मकर्मीहरूका लागि इलाम टाढा पनि पर्दछ ।
देशको राजधानीसँग टाढा रहेको इलाममा कमै मात्र फिल्म सुटिङ हुन्थ्ये । तर पछिल्लो समय धेरै फिल्मको अभिनय गर्ने स्थान बनेको छ इलाम । पृष्ठभुमीमा इलामका हरियाली दृष्यसहित बादलुमा रुमलिएको निलो आकासको दृष्य कैद गर्न पनि फिल्मकर्मी इलाम आउन थालेका छन् । नेपाली फिल्मकर्मी मात्र हैन, भारतका बृत्तचित्र र फिल्म पनि यहाँका पर्यटकिय क्षेत्रहरूमा कैद हुन थालेका छन् । यसले पनि बिश्वमा इलाम चिनाउन मद्दत गरेको पर्यटकबिदहरू वताउँछन् ।
इलाम सुन्दर भएकै कारण पछिल्लो समय फिल्म सुटिङको लागि मात्र हैन बनझोज खान आउने पर्यटकहरू समेत बढ्दै गएका छन् । इलाम आउने, खाने अनी रम्ने कार्यले इलामको प्रवद्र्धन हुन नसक्ने पर्यटनकर्मीहरूको भनाइ छ ।
तर फिल्क सुटिङ गर्ने, इलामलाई अध्ययन अनुसन्धान गर्ने, यहाँका वस्तुहरू प्रवद्र्धन गर्ने कार्यले इलामको दिगो भविष्यसँग जोडिएको उनीहरू वताउँछन् । चलचित्रकर्मी इलाम आएर बस्छन् । उनीहरू आएर यहाँको रहनसहन बुझ्छन् अनी राम्रा कुराहरूको प्रचार गर्छन् । यसले अन्य पर्यटक तान्नमा सहयोग गरिरहेको छ ।
चलचित्रकर्मीहरूले आफूले त पर्यटकिय क्षेत्र घुम्छन् नै चलचित्रको पृष्ठभूमीमा देखिने दृष्यले अझ पर्यटन तान्ने काम गरिरहेको छ ।
इलाममा एक पछि अर्को चलचित्रको सुटिङ भइरहेका छन् । अभिनेता दयाहाङ राई फिल्म सुटिङ गर्नकै लागि पटक पटक इलाम आइरहेका छन् । गएको वर्ष मात्र पर्यटकीयस्थल सन्दकपुर भ्रमणमा आएर करिव १० दिन ‘आप्पा’ फिल्मको सुटिङका लागि आएका राई यहाँको मनोरम दृश्यसँगै फिल्ममा नै पस्कियो । ‘आप्पा’ फिल्मका लागि मात्र होइन, ‘हाइवे’ फिल्मको सुटिङका लागि इलाममा उनले १५ दिन वढि बिताएका छन् । ‘मेरो एउटा साथी छ’ फिल्मको दौरान पनि उनी इलाममा आएका थिए । योगेश घिमिरेको निर्देशनमा रहेको नोटवुकको ‘गाला रातै’ फिल्मको दृष्यपनि इलामकै थियो । घिमिरेकै निर्देशनमा बनेको ‘प्रेम दिवश’ले इलामको सन्दकपुर, ढापपोखरी, अन्तु, कन्यामलगायतको क्षेत्र समेटिएको छ । अघिल्लो वर्ष नै पूर्वी इलामसहित दार्जिलिङ क्षेत्रमा ‘नोटवुक’ सुटिङ भएको थियो । गाला रात्तैमा जीवन लुँइटेल र नीता ढुङ्गानाले अन्तुको चियावारीमा लुकामारी खेलेको दृष्यलाई धेरैले रुचाए । यो गीतमा प्रस्तुत लेप्चा जातिको पहिरनले पनि राम्रै चर्चा बटुल्योे ।
अघिल्लो वर्ष नै रिलिज भएको ‘क्याप्टेन’ले पनि इलामको सुन्दरतासँगै फुटवल क्रेज समेटेर सुटिङ भएको थियो । पछिल्लो समय ‘म यस्तो गीत गाउँछु २’ को गीत युट्युवमार्फत सार्वजनिक भएको छ । इलामका विभिन्न पर्यटकीय स्थलसहित पाँचथरको साधुटार, चारराते, लगायत क्षेत्रलाई समेटिएर सुटिङ गरिएको ‘तिम्रो घरको वरिपरी’ बोलको गीत युट्युवमार्फत सार्वजनिक भएको हो । यो गीतमा इलामको पानीटार, इलाम चियावगान, माइपोखरी, गुफाथुम्की, टारी, पाँचथरको साधुटार लगायतका ठाउँहरू समेटिएका छन् । यस गीतमा पल शाह र पुजा शर्माको अभिनय छ । यसले गीतको आनन्दसँगै इलामको सौन्दर्य बुझ्न सघाउ पुर्याएको छ । चलचित्रकर्मी इलाम आएर आफ्नो ब्यवसाय प्रवर्दन गर्दा जिल्लावासीहरूको समेत प्रवद्र्धन भइरहेको छ । यहाँका होटल, होमस्टे लगायत गाउँघरमा उत्पादन भएका बस्तुहरूले समेत मुल्य पाउन थालेको छ । उनीहरू पर्किँदा जिल्लामा उत्पादित बस्तु कोशेलीको रुपमा लैजाने गरेकाले पनि जिल्लामा उत्पादित वस्तुहरूको प्रवद्र्धन भइरहेको छ ।
फिल्म मात्र हैन इलाम चिनाउन धेरै गित पनि गुन्जिएका छन । गित मार्फत पनि इलाम जो कोहिको मनमा बसिसकेको पाइन्छ ।
जताततै चियाका बुटाहरू देख्ने भएकाले इलामको यात्रामा निस्किने जुनसुकै यात्रीको मन हरियो चियाको बोटले लोभ्याउँछ । कन्याम आइपुगेपछि सवारीसाधनभित्रै बाट दाँयाबाँया तलमाथि जताततै चिया नै चिया देखिँदा जो कोहीको मन फुरुङ्ग हुन्छ । नाङगो पाखामा अहिले हरियाली फाँट र बस्तीमात्रै देखिने इलामका आर्कषक चिया प्रशोधन कारखानामा चिया पेलिदै गरेको आवाज र पिउँपिउँ लाग्ने चियाको मगमग बासनाले हरेकको मन लोभ्याउने गरेको छ । इलामका रमणीय क्षेत्रमा पछिल्लो समय फिल्म र म्यूजिक भिडियो सुटिङ गर्ने क्रम मौलाएको छ । इलाम घुम्न आएका धेरैले चलचित्र र गीतमा देखिएको सुन्दरताका कारण नै गन्तव्यमा परेको प्रतिकृया दिने गरेका छन् । इलामको सौन्दर्यलाई पर्यटन विदहरूले ‘नकँुदिएको हिरा’, ‘पहाडकी रानी’ लगायतका उपमा समेत दिने गरेका छन् । विशेषगरी इलाम सदरमुकाम, कन्याम, पानीटार, करफोक, पशुपतिनगर, सन्दकपुर, माइपोखरी अनि नयाँ पर्यटकीय गन्तव्यका रूपमा उदाएका अन्तुडाँडा, भालुढुंगा, ढापपोखरी लगायतले पनि फिल्मकर्मीको ध्यान खिच्दै गएको पाइन्छ । अहिले पहिले सामान्य रुपमा मात्र फिल्मको पर्दामा देख्न सकिने इलामका दृष्य पछिल्लो समय धेरै नै देख्न पाइन थालेको छ । अझै अन्य फिल्म र म्युजिक भिडियो समेत दैनिक जसो छायांकन भइरहेको पाइन्छ । इलामको सौन्दर्य समेटिएका म्युजिक भिडियो भने धेरै छन् । यसले पनि जिल्लाको पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा मद्धत गरिरहेको छ ।
टीका खतिवडा