आर्थिक अभावमा उपचार समस्या

प्यूठान-दुई जनाको परिवार । जसोतसो बिहान बेलुकीको गर्जो टरिरहेको थियो । प्यूठान नगरपालिका–१ फूलघाटमा सानो दुईतले घर र भएको केही जमिनले जीवन धान्न धौधौ भएपछि केही वर्षयता किराना पसल सञ्चालनमा ल्याएका थिए, लालबहादुर नेपाली ।
प्यूठान नगरपालिका जुम्री बसपार्क छेउमा राखेको पसलबाट घरभाडा तिर्न र जसोतसो जीवन धान्न सहज भएको थियो उनलाई । सानो लगानीका कारण त्यति धेरै आम्दानी पनि सम्भव थिएन ।
घर व्यवहार सञ्चालन हुँदा सन्तुष्ट रहेका लालबहादुर गत भदौमा एक्कासि पक्षघात (प्यारालाईसिस) ले थलिन पुगे । उपचारका लागि चन्द्रौटा, बुटवल र काठमाडौं धाउँदासमेत भएको २-३ लाख रुपैयाँ सकियो । उपचारबाट स्वास्थ्यमा केही सुधार आए पनि आर्थिक अभावमा उनी अस्पताल छोडेर घर फर्किनु परेको बताए । “उपचारका लागि अझै ६ महिना जति औषधि र थेरापी गर्नु पर्ने अस्पतालले भनेको छ,” नेपालीले निरास हुँदै भने, “उपचारमा भएको सबै पैसा सकियो । पैसा नभएपछि उपचार छोडेर फर्किए ।” पक्षघातले एक हर नै चल्न नसक्ने गरी थलिएका उनी उपचारबाट दायाँहरको भरमा सामान्य उठ्न र हिँड्न सक्ने भए ।
काठमाडौंको अस्थागं आयुर्वेद केन्द्रमा उपचार गराउँदै आएका उनी पैसा सकिएपछि केही दिन ललितपुरस्थित कोरियन स्वास्थ्य उपचार केन्द्र ग्वार्कोमा निःशुल्क थेरापी गराएको बताए । “थेरापी निःशुल्क हुन्थ्यो,” नेपालीले भने, “खान र बस्नका लागि कोठा भाडा तिर्ने उपाए नभएपछि घरमा फर्किँए ।” आफूसँग रहेको मोटरसाइकल बिक्री र हाते सापटीबाट अहिलेसम्मको उपचार खर्च जुटाएको उनले बताए । “विस्तारै सुधार आउँदै थियो तर के गर्नु भएको सबै पैसा सकियो,” नेपालीले भने ।
अस्पतालका अनुसार उनको उपचारमा धेरै पैसा खर्च हुने पनि होइन । तर खाना र बस्नका लागि समेत समस्या भएपछि उनको उपचार बीचमै रोकिएको हो । छ महिनासम्म थेरापी गराउँदा ढेड-दुई लाखसम्म खर्च लाग्ने भए पछि स्रोत नहुँदा समस्या भएको उनी सुनाउँछन् । कतैबाट सहयोग आए आफूले पुनर्जीवन पाउने आशामा छन्, उनी ।
उपचारार्थ १० हजार सहयोग
उपचारका लागि प्यूठान नगरपालिका–४ जुम्रीमा ग्रिल व्यवसाय गर्दै आएका युवा व्यवसायि कृष्ण खड्काले नेपालीलाई १० हजार रुपैयाँ उपचारार्थ सहयोग प्रदान गरेका छन् । शुक्रबार स्थानीयको उपस्थितिमा उनले सहयोग हस्तान्तरण गरे । “सानो सहयोगले कसैको जीवनमा सहयोग पुग्छ भने सबैले सहयोग गर्नुपर्छ,” खड्काले सहयोग रकम हस्तान्तरण गर्दै भने, “अन्य ठाउँबाट पनि सहयोग जुटे लालबहादुरको जीवन पहिलेको अवस्थामा आउँछ भनेर सहयोग गरेको हुँ ।”
प्रज्वल पहाडी