आर्थिक विकासका कार्यक्रम ल्याउन महासंघको माग «

आर्थिक विकासका कार्यक्रम ल्याउन महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक विकासका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । महासंघले आर्थिक समृद्धिको सपना साकार पार्न तत्काल नयाँ कार्यक्रमको माग गरेको हो । महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएको प्रतिनिधिमण्डलले यस्तो माग गरेको हो ।
प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष राणाले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिँदै मुलुकलाई अब आर्थिक समृद्धितर्फ अगाडि बढाउन प्रधानमन्त्रीबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिन् । आर्थिक विकासको कार्यक्रममा निजी क्षेत्रले पूर्णत सहयोग गर्ने विश्वास पनि उनले दिलाइन् ।
अध्यक्ष राणाले सरकारको उद्यमी व्यवसायीहरूले करलगायत स्थानीय तहमा अहिले पनि निकै धेरै समस्या बेहोर्नुपरेको तथा उद्योग व्यवसाय क्षेत्रले मात्र गर्नुपर्ने कार्यक्रमहरू अन्य क्षेत्रबाट समेत हुन जा“दा त्यसको असर समग्र उद्योग व्यवसायमा पर्न गएको जानकारी गराइन् । संघीय राज्य प्रणालीमा गएपछि करलगायतका विषयमा उद्यमी व्यवसायी स्पष्ट हुन नसकेको र अन्योलता बढेकाले यस्ता विषयमा अहिलेदेखि नै निजी क्षेत्रलाई विश्वस्त पार्न आग्रह गर्दै अध्यक्ष राणाले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्नेदेखि नयाँ योजनाहरू ल्याउनसमेत प्रधानमन्त्रीसमक्ष आग्रह गरेकी छन् ।
राणाले अबको एक दशकलाई समृद्ध नेपाल निर्माण दशक घोषणा गर्नसमेत माग गरिन् । पूर्वाधार विकास, औद्योगिकीकरण, पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रमा राखेर ठोस योजना, लक्ष्य तथा कार्यक्रम ल्याउन अध्यक्ष राणाले महासंघका तर्फबाट सुझाव राखेकी थिइन् ।
भेटमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका महासचिव सुरेशमान श्रेष्ठ सहभागी थिए ।
महासंघको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख लक्ष्य र अभियान भनेकै आर्थिक रूपमा मुलुकलाई समृद्ध बनाउने भएको बताए । उनले महासंघजस्तो निजी क्षेत्रको संशक्त प्रतिनिधिमूलक संस्था र नेतृत्व नै आफ्नोे कार्यक्रमलाई सफल पार्ने ऊर्जा र इन्जिन भएको भन्दै अवको आर्थिक विकासको नेतृत्वदायी भूमिका लिन तयार हुन समेत निजी क्षेत्रलाई आग्रह गरे । ओलीले अब कुनै प्रकारको श्रम समस्या नआउने र औद्योगिक व्यावसायिक वातावरण सुमधुर बन्ने सुनिश्चिततासमेत दिलाएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्