विद्युतीय प्रणाली विस्तार गरिँदै «

विद्युतीय प्रणाली विस्तार गरिँदै

 
श्रम स्वीकृति सहज बनाउन ई टोकन र मोबाइल म्यासेज सेवा 

सरकारले श्रम स्वीकृति प्रक्रियालाई सहज र आधुनिक प्रविधिमैत्री बनाउन अनलाइन पालो प्रणाली (ई टोकन) र मोबाइल म्यासेज प्रणाली सुरु गरेको छ ।
वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत विभागले आइतबारदेखि अनलाइनबाटै टोकन लिने व्यवस्था गरेको हो । यसैगरी सो सेवालाई मोबाइल म्यासेज प्रणालीमासमेत जोडेको छ । श्रम स्वीकृतिका लागि विद्युतीय पालो गर्ने कार्यलाई व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन मंसिर १५ गतेदेखि ई टोकन प्रणाली लागू गरिएको विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले जानकारी दिए । सेवाग्राहीको अनलाइन फर्म भरी श्रम स्वीकृतिका लागि पेश गर्ने क्रममा श्रम स्वीकृति प्रदान गर्ने प्रत्येक कार्यालयहरुले वैदेशिक रोजगार सूचना प्रणाली (एफईआईएमएस) मा राखेको जम्मा टोकन संख्याबाट खपत भइ बाँकी रहेका टोकन संख्या देखिन्छ । सेवाग्राहीले सोही बमोजिम आफूलाई पायक पर्र्नेे कार्यालय र मिति छनोट गरी आवेदन पेश गर्न सक्ने गरी प्रविधिको विकास गरिएको छ ।
श्रम स्वीकृतिका लागि आवेदन दिने सेवाग्राहीले एफईआईएमयस प्रणालीमा नम्बर र मिति हेरेर सेवा लिन सक्ने छन् । एउटा कार्यालयका लागि टोकन लिएका सेवाग्राही अर्को कार्यालयमा गएमा उसको डिटेल सिस्टमबाट (पुनः तालिकीकरण अर्थात् रिसेड्युल) गरी छानेको कार्यालय र मितिमा जानु पर्ने जनाइएको । ई टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा पाउन सकिने विभागले जनाएको छ । ‘आफूले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो अनलाइनबाटै रोज्न सकिने छ’, महानिर्देशक भुसालले कारोबारसँग भने, ‘कुन कार्यालयमा छिट्टै पालो आउँछ, त्यो कार्यालयसमेत रोज्न सकिने छ ।’ जसले गर्दा फाराम स्वीकृत हुने वित्तिकै युवाले कार्यालयमा पर्खिरहनु पर्ने छैन । अहिले सरकारले सातै प्रदेशस्थित श्रम कार्यालयमार्फत श्रम स्वीकृति जारी गर्दै आएको छ । प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुर, प्रदेश–३ को काठमाडौं (ताहचल), गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति जारी हुँदै आएको छ ।
त्यसैगरी श्रम स्वीकृतिको फाराम बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नुपरेमा पनि मोबाइलमा म्यासेज प्राप्त हुने जनाइएको छ । श्रम स्वीकृति प्राप्त भएको जानकारी पनि मोबाइलमा म्यासेजमार्फत आउने छ । श्रम स्वीकृतिको फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टिकर जाने छ । विभागले श्रम स्वीकृतिको फारम भर्दा सही मोबाइल नम्बर र इमेल राख्न अनुरोध गरेको छ ।

 
भुक्तानी विद्युतीय प्रणालीबाट गर्ने तयारी

विभागले वैदेशिक रोजगारीका क्रममा लाग्ने खर्च विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने प्रक्रियाअन्तिम चरणमा पुगेको जनाएको छ । विद्युतीय भुक्तानीका लागि लामो समयदेखिको प्राविधिक तयारीपछि सेवा प्रदायकसँग सम्झौताको चरणमा पुगेको विभागका महानिर्देशक भुसालले जानकारी दिए । विद्युतीय भुक्तानी प्रणाली लागू भइसकेपछि बिमा र कल्याणकारी कोषको पैसा तिर्न बैंकमा जानुपर्ने वा बिचौलियाको सहयोग माग्नुपर्ने अवस्था नहुने जनाइएको छ । कामदार छनोट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाइन प्रणालीसमेत तयार गरी लागू गर्ने तयारी भइरहेको विभागले जनाएको छ । सम्बन्धित सरोकारवालालाई अभिमुखीकरण दिएपछि यो प्रणाली लागू गरी तयारी गरिएको महानिर्देशक भुसालले बताए । विभागले गत कात्तिक २६ गतेदेखि अनलाइनमार्फत् श्रम स्टिकर जारी गदै आएको थियो । ई स्टिकर जारी गरिएसँगै राहदानीमा स्टिकर टाँस्नुपर्ने अवस्थाको अन्त्य तथा स्टिकर खरीदमा लाग्ने खर्च जोगिएको विभागले जनाएको छ ।

 
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाको म्याद थप्ने सम्बन्धमा आन्तरिक रुपमा तयारी सुरु गरेको छ ।
यसअघि सरकारले पहिलो पटक मंसिर १४ गतेसम्म योजनामा सामेल हुन सक्ने गरी १ महिनाको म्याद थपेको थियो । सो म्याद समेत सकिएपछि रोजगारदाता र श्रमिकको अनुरोधमा थप गर्ने तयारी गरेको छ । कोषका एक अधिकारीले म्याद थप्नेबारे बोर्ड बैठकमा प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्