Logo

नेपाल प्रहरीको फुटबल टिमको प्रायोजक टेलिकम

नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक नेपाल टेलिकम बन्ने भएको छ । बुधबार भएको दुई पक्षीय सम्झौतामा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी र प्रहरीको तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार टेलिकमले एक वर्षसम्मका लागि प्रहरी खेलकुद समितिअन्तर्गत रहेको नेपाल पुलिस क्लब पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक बनेको छ । प्रायोजन स्वरूप टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई ३२ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले प्रहरी महानिरीक्षक खनाललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरेका छन् । सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीहरूले नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी हुनेछन् ।
जर्सीको अगाडिको मागमा माथि दाहिने पट्टि नेपाल टेलिकमको लोगो रहनेछ भने बीच भागमा नेपाल टेलिकमको नाम लेखिनेछ । त्यसैगरी हाफ पाइन्टको अगाडि भागको बायाँपट्टि नेपाल टेलिकमको ‘एनटी फोरजी’ लोगो रहनेछ । त्यसैगरी नेपाल टेलिकमले आफ्ना विभिन्न प्रवद्र्धनात्मक सामग्रीमा नेपाल पुलिस क्लबका पुरुष तथा महिला फुटबल टिम तथा फुटबल खेलाडीको नाम निःशुल्क रूपमा प्रयोग गर्न सक्नेछ । सम्झौतापत्रमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक अधिकारीले खेलको माध्यमबाट राष्ट्रको गरिमा अभिवृद्धि हुने र राष्ट्रिय एकता समेत थप मजबुत हुने विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी र नेपाल टेलिकमबीचको यो सम्झौतामार्फत फुटबलको माध्यमबाट खेलका साथै राष्ट्रिय एकता प्रवद्र्धन गर्न समेत योगदान पुग्ने बताए । यस्ता प्रयासले खेल र खेलाडीलाई थप व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्