Logo

सीमा क्षेत्र निगरानीविहीन

पाँचथर-पाँचथरबाट करिब ४५ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । सन्दकपुरबाट तिम्बुपोरीसम्म भारतका सिक्किम र पश्चिम बंगालसँग नेपालको सीमाक्षेत्र रहेको छ । सदरमुकाम फिदिमबाट टाढा र भैगोलिक रुपमा पनि बिकट रहेको सीमा क्षेत्रमा सरकारको उपस्थिति शून्य रहेको छ ।
यहाँ सरकारको कुनै संयन्त्रको उपस्थिति रहेको छैन । ४५ किलोमिटर लामो सीमाक्षेत्रमा भारतले आफ्नो भूमिलाई राम्रोसँग सुरक्षित गरेको छ । उसले प्रत्येक ६ किलोमिटरमा सीमा सुरक्षाबल राखेको छ । तर नेपालबाट सरकारले सीमा सुरक्षामा कति पनि नजर राखेको पाइँदैन । नेपाल सरकारको उपस्थिति शून्य छ । सुरक्षा निकायको मात्र हैन स्थानीय सरकार को उपस्थितिसमेत छैन ।
याङबरको च्याङथापुमा सीमा प्रशासन कार्यालय त छ । तर सीमा प्रशासन कार्यालयबाट सीमा क्षेत्र चिँवा भञ्जाङ पुग्न सबारी साधनमै करिब पाँच घन्टा लाग्ने गरेको छ । सीमा क्षेत्र बस्तिहरुबाट टाढा रहेको छ । गाउँहरु टाढा टाढामात्र छन् । सीमाको सुरक्षाको लागि बसेको नेपाल प्रहरी सीमा क्षेत्रबाट धेरै टाढा बसेका छन् । सरकारी उपस्थिति नहँुदा बेला बेला सीमा सुरक्षामा समस्या आउने गरेको च्याङथापुका रमेश राईले बताए ।
नेपालतर्फबाट सरकारको उपस्थिति नहुँदा भारतीय सीमा सुरक्षा बलले बेला बेला नेपाल तर्फको भूमिमा दुःख दिने गरेको स्थानिय बताउँछन् ।
४५ किलोमिटर सीमा क्षेत्र हेर्दा विरक्तलाग्दो देखिन्छ । भारततर्फ सिक्किममा कञ्चजंघा नेसनल पार्क र वेस्ट–बंगालमा सिंहलीला नेसनल पार्कको रूपमा संरक्षित छ । सीमाक्षेत्रमा भारतीय वन कार्यालय पर्याप्त भेटिन्छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले दुई वर्षअघि तीन चरणमा सीमाक्षेत्रको अवलोकन गर्दा १६ सीमास्तम्भ हराएको पाएको थियो । अवलोकन गर्दा एक सय १३ मध्ये ९७ वटामात्र सीमास्तम्भ पाइएको तथ्य सार्वजनिक भएको थियो । हराएका १६ सीमा स्तम्भमध्ये चारवटाको मात्र डोब भेटिएको छ । बाँकी १२ वटाको नाम–निसान केही पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ । सोे क्षेत्रमा ठाउँठाउँमा सीमास्तम्भहरू भत्किएको भेटिन्छन् ।
मेमेङमा रहेको प्रहरी चौकीबाट सुरक्षाकर्मी सीमानामा पुग्न एक दिन लाग्छ । याङवरकको च्याङ्थापुमा सीमा प्रशासन कार्यालय छ तर पुग्न एक दिन लाग्छ । प्राङबुङमा रहेको प्रहरी चौकीबाट पुग्न पनि एकदिन नै लाग्ने अवस्था छ । खुला सीमाना भएका कारण अपराधी भाग्न सक्ने खतरा पनि उत्तिकै छ । नेपालतर्फको भूभाग पुग्नलाई पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्