बगरमा सोलारबाट बिजुली

म्याग्दी-जिल्लाको पर्यटकीय सम्भावना बोकेको विकट र दुर्गम क्षेत्रमा पर्ने बगर गाउँमा सोलारबाट विद्युतीकरण गरिएको छ । धवलागिरी गाउँपालिका–४ मा पर्ने बगर गाउँमा १६ किलोवाट क्षमताको सोलार प्लान्ट जडान गरेर विद्युतीकरण गरिएको हो ।
७५ लाख रुपैयाँका लागतमा निर्माण भएको योजनाबाट बगर, मिस्तुङ र जेल्तुङका ५२ घरधुरीमा सोलारबाट बिजुली विस्तार गरिएको वडासदस्य बमबहादुर पुनले जानकारी दिए । परियोजना निर्माणमा धवलागिरि गाउँपालिकाको ४० लाख अनुदान, अमेरिकाको गिभ पावर संस्थाको ३० लाख बराबरको उपकरण र प्राविधिक सहयोग, उपभोक्ताको पाँच लाख रुपैयाँ लगानी भएको छ । उपभोक्ताले पोल गाड्ने, विद्युत्गृहको भवन निर्माण, तार तान्ने काम गर्न प्रतिघर १९ दिनका दरले श्रमदान गरेको परियोजना निर्माण समितिका अध्यक्ष होमबहादुर पुर्जाले बताए । विद्युतीकरण भएपछि उज्यालोका साथै दैनिकीमा सहज भएको स्थानीय मिमकुमारी घर्तीले बताए । मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, रेडियो सुन्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको उनले जानकारी दिए ।
यसअघि उज्यालोका लागि घरघरमा सोलार जडान गरेका थिए । बगर र जेल्तुङमा दुई वटा मिल सञ्चालन गर्ने तयारी गरिएको छ । गहुँ, मकै, कोदो, फापर पिस्नका लागि मिल नहुँदा स्थानीयलाई समस्या थियो ।
बगर जिल्लाको विकट भूगोलमा अवस्थित बस्ती खिवाङ र मुदीबाट बगर पुग्न भीर र जंगलमा पूरै दिन हिँड्नुपर्छ । बगर धौलागिरि हिमालको प्रवेशद्वार (गेटवे) हो । बगर गाउँ भएर संसारको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविर पुग्न सकिन्छ । ऊर्जाको माध्यमबाट स्थानीयको दैनिकिमा सुधार र पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले सोलारबाट विद्युतीकरण गरिएको गिभ पावर प्रबन्ध निर्देशक किशोर रिमालले बताए ।
गिभ पावर फाउण्डेसनको सहयोगमा गत वर्ष चेचुङ गाउँका २० घरमा ६ किलोवाट क्षमताको सोलार पलान्ट जडान गरेर विद्युतीकरण गरिएको थियो । असारको गाउँसभाबाट २० लाख विनियोजन भएको बगर विद्युतीकरण योजनाका लागि गत वर्ष खर्च हुन नसकेको बजेटबाट थप २० लाख थप गर्ने कार्यपालिकाबाट निर्णय गरेर योजना कार्यान्वयनमा लगिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले बताए ।
सिमकोस र जुरकुसमा घरघरमा सोलार जडान गर्न प्रदेश सरकारसँग समन्वय गरेको बताइन् । ४८ वटा सोलार प्यानल जडान गरेर तारबाट घरघरमा विद्युत् पु-याइएको छ । २० वटा ब्याट्री, दुई वटा २५ केभीए क्षमताको ट्रान्सफर्मर, ५० वटा पोल र ६ किलोमिटर तार तानिएको गाउँपालिकाका प्राविधिक बालकृष्ण पौडेलले बताए । भविष्यमा केन्द्रीय लाइन विस्तार गर्दा पनि प्रयोग गर्न मिल्ने गरी तार र पोल राखिएको छ । भौगोलिक विकटताका कारण मुदीको सिमवाङबाट हेलिकप्टरबाट ट्रान्सफर्मर र सोलार प्यानल, ब्याट्री, तार, पोल र वायरिङका उपकरण भरियामार्फत ढुवानी गरेका थिए ।
धिरन खत्री