नेपाल भ्रमण वर्ष २०२० को प्रचार

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल यातायात महासंघ र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच भएको संयुक्त कार्यक्रममा देशभरमा सार्वजनिक यातायातहरूमा भ्रमण वर्ष २०२० को प्रचार सामग्री राखिने समझदारी भएको हो । आजबाट लागू भएको भ्रमण वर्षको प्रचार सामग्री मंसिर १५ गतेसम्म करिब ३ लाख सार्वजनिक सवारी साधनहरूमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्रीहरू राखिसक्ने नागरिक तथा उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
त्यसैगरी भ्रमण वर्षलाई लक्षित गरी सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाई नेपाल सरकार तथा नेपाल यातायात व्यवसायी महांसघको संयुक्त आयोजनामा तालिम दिने भएको छ । तालिममा चालक तथा सहचालकलाई भाषा, पर्यटकसँग गरिने व्यवहारलगायतका विषयमा तालिम दिने जनाएको छ । तालिममा करिब १ हजार जनाको उपस्थिति रहनेछ । तालिममा सहभागीहरूलाई नेपाल सरकारको तर्फबाट खाना, खाजा र गाडी भाडाबापत ५ सय दिने जनाएको छ । त्यसैगरी सार्वजनिक यातायातका यात्रु, चालक तथा सहचालकलाई सरसफाइमा चेतना जगाउन सय जना स्वयंसेवक परिचालन गरिने भएको छ ।
सय जना स्वयंसेवकहरूमा ५० जना काठमाडौं महानगरपालिका, ३० जना टे«ड युनियन, १० जना ललितपुर महानगरपालिका र १० जना भ्रमण वर्ष सचिवालयबाट रहनेछ ।