Logo

दक्ष कामदार खोज्दै रोजगार गन्तव्य मुलुक

सरकारले आम्दानीका आधारमा आकर्षक रोजगारगन्तव्य खोजी गरिरहे पनि रोजगादारदाता मुलुकको मागअनुसार नेपालमा दक्ष जनशक्तिकोभने चरम अभाव देखिएको छ ।आम्दानीका आधारमा आकर्षक रोजगार गन्तव्य मानिएका जापान, कोरिया र इजरायलसँग रोजगारीका लागि विभिन्न सम्झौता गरे पनि विश्व बजारको मागअनुसारनेपालले श्रमिक उत्पादन गर्न नसक्दा नेपाली श्रमिकले अपेक्षाकृत रोजगारी नपाउने भएका छन् ।
सरकारले गत वर्ष जापानसँग श्रम समझदारी (एमओसी) गरेपनि उसले खोजेजस्तो श्रमिक नेपालमा न्यून मात्रामा छन् । जापानले भाषा परीक्षा प्रक्रियागत रुपमा सुरुगरेपनि सीपलाई पहिलो र भाषा दक्षतालाई दोस्रो प्राथमिकतामा राखेर नेपाली कामदार लैजाने योजना बनाउँदै आएको छ । नेपालले भने सो अनुसार तयारी गरेको छैन ।जापानको कृषि, वन तथा मत्स्य विकास मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाले नेपाल भम्रणका क्रममा नेपालबाट कृषि श्रमिक लैजाने जानकारी दिए पनि रोजगारदाताले माग गरेअनुसार सीप अनिवार्य हुनुपर्ने बताएका छन ।
नेपालबाट कृषिश्रमिक लैजानेबारे सरकारसँग समेत छलफल गरेका उपमहानिर्देशक नाकाडाले जापानको कृषि क्षेत्रका लागि सम्बन्धित क्षेत्रको योग्यता सहितको सीप भएको कामदारलाई प्राविधिक प्रशिक्षार्थीका रुपमा लैजान सकिने बताएका छन् । जापान हाल कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभावमा दक्ष विदेशी श्रमिकको खोजीमा रहेपनि नेपालले त्यसको फाइदा उठाउन अभैm केही समय पर्खनुपर्ने भएको छ । जापानले नेपालबाट कृषि क्षेत्रका लागि स्पेसिफाइड स्कील्ड वर्कर र प्रविधिक प्रशिक्षार्थी लैजाने योजना बनाएपनि नेपालसँग दुवै प्रकारका कामदारको संख्या न्यूनमात्रै छ ।
विगत २० वर्षमा जापानको कृषि क्षेत्रमा काम गर्ने जनशक्ति ३१ प्रतिशतले घटेको बेलानेपालले त्यसको फाइदा उठाउन सक्ने गरी दक्ष जनशक्ति तयार गर्नु पर्ने देखिन्छ । जापानमा हाल कृषि क्षेत्रका प्राविधिक प्रशिक्षार्थीको संख्यामात्र ३१ हजार पुगेको छ । जापानले प्राविधिक प्रशिक्षार्थीको रुपमा तरकारी खेती, बंगुरपालन, माछापालन, अण्डा उत्पादन र दूध उत्पादनका लागि नेपालबाट श्रमिक लैजाने योजना बनाएको छ ।नेपालबाट कृषिश्रमिक लैजानेसम्बन्धमा जापान एग्रिकल्चर कोअपरेटिभले कृषि अनुसन्धान परिषद् (नार्क) र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सहकार्य गर्ने गरी छलफल अगाडि बढाएको छ ।
कोरियाले समेत वार्षिक औषत ९ हजारको हाराहारी नेपाली श्रमिक माग गर्दै आएकोमा यो पटक सीप र दक्षता परीक्षणलाई मापदण्ड बनाएर कामदार छनोट गरिरहेको छ । यसअघि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइने भाषा परीक्षालाई कामदार मागको अन्तिम मापदण्ड मान्दै आएको कोरियाले पछिल्लो पटक सिप परीक्षणलाई कामदार छनोटको अन्तिम र अनिवार्य आधार बनाएको छ । यसले गर्दा भाषा परीक्षामा पास भए पनि लगभग ४० प्रतिशत युवा कोरिया जान पाउने छैनन् ।
इजरायलले पनि केयर गिभर र कृषि क्षेत्रमा नेपालबाट नर्सिङ सेवा सहरको अनुभव र सीप भएको हुनुपर्ने जनाउँदै केही समयअघि नेपालसँग सम्झौता गरेपनि सोचेअनुसार नेपाली युवा जान सकेका छैनन् ।यसका लागि सरकारले कृषि र केयर गिभरको क्षेत्रमा विश्व बजारको मागअनुसार जनशक्ति उत्पादन गर्ने संयन्त्रको विकास गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्