बाख्रा पाल्दै वडाध्यक्ष «

बाख्रा पाल्दै वडाध्यक्ष

सिन्धुली-‘दुर्गा देवकोटा’ दुधौली नगरपालिका– १० का वडा अध्यक्ष हुन् । २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनै देवकोटा अहिले व्यावसायिक बाख्रापानल तर्फ लागेका छन् । वडाको आर्थिक समृद्धिका लागि आफंैबाट व्यवसाय सुरु गरिएको उनले बताए । दिँउसो वडा कार्यालय बाहेक बिहान, बेलुका नै वडावासीको लागि समय खर्चिने देवकोटा बाख्राको स्याहार सुसार गर्न पनि भ्याउँछन् । देवकोटा फुर्सदको समयमा बाख्राको रेखदेख, दाना, पानी दिनमा नै व्यस्त हुन्छन् ।
“वडा कार्यालयको कामसँगै समय मिलाएर उन्नत जातका बाख्रा पालेको छु ।” वडाध्यक्ष देवकोटाले भने, “हामी आफ्नै ठाँउमा व्यवसायी बनौँ भन्छौँ, तर सुरु कोहीले गर्ने होइन, आफूले सुरु गरेमात्र अरुले पनि सिको गर्छन् ।” व्यवसायबाट आयआर्जनमा सहयोग पुग्ने युवाहरुलाई प्रोत्साहन पनि मिल्ने त्यही भएर पनि बाख्रा पालन सुरु गरेको उनले बताए ।
गत वर्षदेखि वोयर बाख्रा पालन फर्म दर्ता गरेर उनले उन्नत जातका बोयर बाख्राका बोका र पाठी झण्डै ५० लाख रुपैयाँ लागतमा अष्ट्रेलियाबाट ल्याएर व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरेका हुन् ।
एउटै बाख्राको तीनलाख रुपैयाँसम्म पर्ने बोयर जातका २० वटा पाठापाठी र अन्य उन्नत जातका पाठापाठीबाट व्यवसाय गरेका देवकोटाको फर्ममा अहिले १२० वटा बाख्रा छन् । उनका अनुसार अहिले फर्ममा ३० वटा वोयर जात र ९० वटा लोकल खरी जातका बाख्रा छन् ।
आधुनिक खोरमा बाख्रा पालन गरेका देवकोटाले घाँस खेती समेत गरेका छन् । आफ्नै बाँझो रहेको १० कठ्ठा जमिनको घाँसले मात्रै नधान्ने भएपछि उनले जग्गा भाडामा लिएर पनि घाँस लगाएका हुन् । भन्छन्, “बाख्राको संख्या धेरै छ थोरै घाँसले पु¥याउनै सकिन्न, आफ्नो भएको जमिनको घाँसले नपुगेपछि ७ कठ्ठा जमिन भाडामा लिएर घाँस खेती गरेको छु ।” व्यावसायिकरुपमा बाख्रा पालन गर्नेले अनिवार्य रुपमा घाँस खेती गर्नु पर्ने देवकोटा सुनाउँछन् ।
“वडाबाट अन्तराष्ट्रिय बजारसम्म मासु खपत गर्ने उद्देश्यसहित व्यावसायिक बाख्रापालनका लागि युवाहरुलाई पनि प्रोत्साहन गरिरहेको छु ।” उनले भने, “सबैले बाख्रा पाल्नै पर्छ भन्न छैन, जे गर्न सक्नुहुन्छ त्यही गर्नुस् भनेर आग्रह गरिरहेको छु, कतिपयले सुरु पनि गरिसक्नु भयो ।” नगरपालिकाले दिने अनुदान र अन्य संघसंस्थाबाट पाइने सेवा सुविधाका बारेमा पनि जानकारी दिन भ्याउँछन् देवकोटा ।
बोयर बाख्रा फर्म सिन्धुलीमै पहिलो पटक आफूले सञ्चालन गरेको अध्यक्ष देवकोटाले दावी गरे । “आगामी दिनमा वडालाई उन्नत जातको बाख्रा उत्पादन र मासुका लागि बाख्रा स्रोत केन्द्रकै रूपमा विकास गर्ने लक्ष्य राखेको छु ।” उनले भने,“यो मेरो व्यक्तिगत प्रयासले मात्रै सम्भव छैन, तर पनि प्रयास गरिरहेको छु ।” गाउँमा आफूले पालेको उन्नत जातका बाख्रा अन्यलाई पनि पाल्न प्रोत्साहन गर्दै बाख्रापालन व्यवसायबाट आयआर्जन गर्दै आत्मनिर्भर हुन सिकाइरहेको देवकोटाले बताए ।
व्यवसाय सुरु गरेको छोटो समयमा नै उनले सात वटा वोयर बाख्रा साढे ३ लाख रुपैयाँमा बिक्री भइसकेको देवकोटा बताउँछन् । फर्मबाट बिक्री भएको बाख्रा उदयपुर, म्याग्दी, झापा, पर्वत, मोरङ र पाल्पामासमेत लगेको उनले बताए । उनले ५ जना स्थानीयलाई रोजगारी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्