स्याउका चानाबाट मनग्य आम्दानी «

स्याउका चानाबाट मनग्य आम्दानी

जुम्लाको अर्गानिक स्याउ एक फाइदा र परिकार अनेक छन् । जुम्लामा उत्पादन हुने स्याउको उत्पादन हुने विभिन्न परिकारमध्ये एक (स्याउका चाना) जो मेसिनबाट काटेर सुकाई प्याकिङ गरी बजारमा पठाइन्छ । जुम्लामा बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकले स्याउभन्दा चानालाई बढी रुचाएको पाइन्छ । त्यसमा, विदेशीले चाना खान बढी रुचि देखाउने गरेको किसान तथा व्यापारी बताउँछन् ।
स्याउ सिजन अफ भइसकेपछि चानाको व्यापार फस्टाउँछ ।
समयको विकास हुदै गएपछि जुम्लाका किसानले स्याउ बेच्ने मात्र नभई त्यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा लिँदै आएका छन् । स्याउबाट बन्ने जुस, जाम, चाना उत्पादनमा यहाँका किसान व्यस्त छन् । जुम्लामा अत्यधिक मात्रामा स्याउ उत्पादन हुने भएकाले स्याउको चाना बनाउन किसानहरू उत्साहित भएका हुन् । सरकारी तथा गैरसरकारी निकायबाट किसानले स्याउका परिकार बनाउने सीप सिकेपछि किसानहरू स्याउका चाना तथा विभिन्न प्रकारका परिकार बनाउन जुटेका हुन् ।
सीप सिकेकामध्ये एक छन् चन्दननाथ नगरपालिका ४ किसान धर्मराज न्यौपाने । उनले विगत १० वर्षदेखि स्याउको चाना बनाएर बिक्री गर्दै आएको बताए । न्यौपानले विगत १० वर्षदेखि चाना उत्पादन व्यवसायमा लागेदेखि घरमै बसी मनग्य आम्दानी भइरहेको बताए । न्यौपानेले एक दशकपहिला नै ‘नीलकण्ठ स्याउ चाना उद्योग’ दर्ता गरेर घरमै स्याउका चाना उद्योग सञ्चालन गर्दै आएका छन् । स्याउका चाना बेचेरै घर व्यवहार सञ्चालन भइरहेको छ । आरके डिस्टिलरी उद्योगले पनि चाना उत्पादन गर्दै आएको छ ।
न्यौपानेजस्तै जुम्लाका ग्रामीण भेगका अन्य किसान पनि तालिम लिएर स्याउका चाना बनाएर बिक्री गर्न सुरु गरेका छन् । जुम्लाका विभिन्न ठाउँमा स्थापना गरिएका कोशेली घरले एकमुष्ट लिने गरेको स्थानीय किसान विष्णु अधिकारीले बताए ।

चानाबाटै साढे दुई लाख आम्दानी
चाना उत्पादन व्यवसाय जुम्ली किसानका लागि दोहोरो फाइदाको व्यवसाय हो । स्याउ निर्यात गरिसकेपछि व्यापारीले लिन नमानेका स्याउलाई सफा गरी चाना बनाउने गरिन्छ । बाहिरको बोक्रा फाल्ने, मेसिनबाट काटेर सुकाएर छापसहित प्याकिङ हुन्छ । यता किसान धर्मराज न्यौपानेका अनुसार स्याउका चाना बेचेरै वार्षिक साढे दुई लाख कमाउने गरेको बताए । स्याउ निर्यातबाट ५ देखि ७ लाख आम्दानी हुन्छ । तर चानाबाट कुनै वर्ष तीन लाख हुन्छ । नत्र वर्षेनी दुई लाख आम्दानी हुने उनकोे भनाइ छ । त्यस्तै तातोपानीका विष्ण अधिकारीले वार्षिक साढे दुई लाख बढी चानाबाट कमाउने गरेको बताए ।

स्याउ बेचेरै उच्च शिक्षा
तातोपानी–२ का विष्न अधिकारीले स्याउ बेचेरै दुई छोरालाई उच्च शिक्षा पठाएका छन् । कान्छो छोरा सतलाई एचए, जेठो छोरा भीमलाई सबइन्जिनियर पढाइरहेका छन् । स्याउका चाना र स्याउको आम्दानीले घर व्यवहार सञ्चालन भएको छ अधिकारीले भने ।
यता धर्मराज न्यौपानले भने, वर्षको ३ महिनाको स्याउका चानाबाटै परिवारको खर्चको जोहो हुने गरेको बताए । उनले पनि स्याउकै आम्दानीबाट जेठी छोरी अन्जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्स र छोरा अरुणलाई इन्जिनियर पढाएका छन् । दुवै छोराछोरीले पढाइ सकेर आ–आफ्ना क्षेत्रमा काम गर्न सुरु गरिसकेका छन् । अहिले न्यौपानेको उद्योगबाट उत्पादित स्याउका चाना बजारका मुख्य बिक्री केन्द्रमा होलसेलमा बिक्री हुने गरेको छ ।
किसान न्यौपानले घरको छत, कोठा, भान्सादेखि सबै ठाउँमा स्याउका चाना सुकाएका छन् । काटेर सुकाएदेखि प्याकिङ गरुन्जेल रेखदेखमै समय बित्छ । यो वर्ष १० क्विन्टलभन्दा बढी चाना उत्पादन गर्ने लक्ष्य अनुरुप स्याउका चानाको एक हजारभन्दा बढी सिल तयार भइरहेको उनको भनाइ छ । यस वर्ष स्याउको चाना सिधै बाहिर जिल्लाबाट माग भएकाले उत्पादन वृद्धिमा जोड दिइएको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले लामो समयदेखि स्याउका चाना, जाम, जेलीलगायतका विभिन्न परिकार उत्पादन गर्न किसानलाई तालिम दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्