बिजुलीको खम्बा नसार्दा सडक निर्माणमा ढिलाइ

कैलालीको टीकापुर नगरपालिका–१ स्थित टीकापुरको जमरा पुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक विद्युत् खम्बा नसार्दा सडक निर्माणमा समस्या हुन थालेको छ । कैलालीको टीकापुर नगरपालिका–१ स्थित टीकापुरको जमरा पुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक विद्युत् खम्बा नसार्दा सडक निर्माणमा समस्या हुन थालेको छ । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनका कारण टीकापुरमा निर्माण भइरहेको छ लेन सडकको काम प्रभावित बनेको हो ।
सडक क्षेत्रभित्र ३३ केभी अन्तर्गतका १४ वटा खम्बा परेका छन् । त्यहाँ सात वटा टावर र सातवटा टिबलर खम्बा रहेको नेपाल विद्युत् प्राधिकरण टीकापुरका छोटेलाल यादवले जानकारी दिए । संघीय सरकारको २८ करोडको योजनामा १३ करोड रुपैयाँको बोलपत्रमार्फत निर्माण भइरहेको टीकापुर नगरपालिका–१ जमरा पुलदेखि बसपार्कसम्मको दुई दशमलव तीन किलोमिटरमा छ लेन सडक निर्माण भइरहेको छ । यसको निर्माण रमण केएस जेभीले सुरु गरेको छ । अहिले सडकमा माटो भर्ने र सम्याउने काम भइरहेको छ ।सडक निर्माणमा कार्यरत इञ्जिनीयर गगन शाहीले काममा निकै समस्या भइरहेको बताउँदै बारम्बार पत्राचार गर्दा पनि विद्युत् कार्यालयले प्रसारणलाइन हटाउने बारेमा वास्ता नगरेको गुनासो गरे । “हामीले पटक-पटक पत्र बुझायौँ, कैयौँ पटक भेट्यौँ, तैपनि कार्यालयले वास्ता गरेको छैन”, उनले भने, “काम गर्न निकै समस्या भइरहेको छ ।
विद्युत् खम्बा नसारेकै कारण समयमै काम सम्पन्न गर्न कठिन हुनसक्छ ।” उनले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा समेत समस्याका बारेमा जानकारी दिएको भन्दै दुई वर्षभित्र सक्नुपर्ने काममा विद्युत्को खम्बा नसारेकै कारण ढिलाइ हुनसक्ने बताए । “विद्युत् प्राधिकरणले हिउँद महिनामा विद्युत्को खम्बा सार्ने कुरा गर्दैछ”, शाहीले भन्ने, “जति ढिलो विद्युत् प्राधिकरणले विद्युत् खम्बा सार्छ, त्यति नै ढिलो काम सम्पन्न हुनेछ । अहिलेको अवस्थामा सडक निर्माणको बाधक विद्युत् खम्बा नै भएको छ ।”नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख हिमांशु यावद भने यस बारेमा लिखितरूपमा कुनै जानकारी नआएको बताए । उनले केही व्यक्तिले फोनमै सोधेको र आफूले फोनबाटै जवाफ दिएको बताए । “केही व्यक्तिले फोनमा सोधेका थिए । मैले पनि फोनमै जवाफ दिएको हुँ”, उनले भने, “कसरी सार्ने ? कहाँ सार्ने ? भन्ने बारेमा आधिकारिक रूपमा कोही आएको छैन । योजनासहित सरोकारवाला आए म विकल्प खोज्न तयार छु ।”