गाउँमै नर्सरी व्यवसाय

सिन्धुली-जिल्लाका ग्रामीण भेगका युवा आफ्नै ठाउँमा स्वरोजगार बन्दै गएका छन् । उनीहरू गाउँको हावापानी सुहाउँदो खेती व्यवसाय गर्दै स्वरोजगार बनेका हुन् ।
तीनपाटन गाउँपालिका–७ तोश्रामखोलाका पुन मश्रांगीले अहिले गाउँमै नर्सरी व्यवसाय सुरु गरेका छन् । जुनार उत्पादक किसानलाई लक्षित गर्दै उनले तीनपाते फलफूल नर्सरी फर्म दर्ता नै गरेर सञ्चालनमा ल्याएका हुन् । जुनार उत्पादनका लागि राम्रो मानिएको यो ठाउँका अधिकांश मानिसको जीविकोपार्जन जुनारखेतीले नै चलेको छ । तर जुनारको बिरुवा भने आफ्नै ठाउँमा नहँुदा भनेको समयमा बिरुवा नै नपाउने जस्ता समस्या झेल्दै आएका छन् ।
यहाँका जुनार किसानले जिल्लाकै गोलञ्जोर–५ रतनचुराबाट बिरुवा लैजानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै नर्सरी व्यवसाय सुरु गरेको मश्रांगीले बताए । “यहाँका सबै नागरिक जुनारखेतीमै निर्भर छन् । जुनार उत्पादन पनि राम्रो हुने ठाँउ हो ।” उनले भने, “म आँफै पनि जुनार किसान हुँ । तर किसानहरूको मागअनुसार बिरुवा नै पाइँदैन, पाइहाले पनि रतनचुराबाट ल्याउदा बिरुवा नै मर्ने समस्या हुन्छ ।” रतनचुुरादेखि बिरुवा लैजाँदा परेको मूल्यको दोब्बर खर्च लाग्ने गरको उनले बताए । “वर्षेनी उही समस्या झेलिरहनु भन्दा सबैको आवश्यकता अनुसार नर्सरी सञ्चालन गरेको हुँ,” उनले भने । हाल बिरुवाको मूल्य १२५ रुपैयाँ छ ।
उनले यसरी व्यवसाय गर्न विभिन्न सहयोग पनि पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (जुनार सुपरजोन परियोजना) ले दुईदिने निःशुल्क तालिम दिनुका साथै अनुदान पनि दिएपछि व्यवसाय गर्न थप ऊर्जा मिलेको मश्रांगीले बताए । उनले भने, “स्वस्थ बिरुवा उत्पादन गरेर किसानलाई सहजै उपलब्ध गराउने सोंच छ । समयले साथ दिएमा भनेजस्तै लाभ लिने आशा छ ।” उनका अनुसार नर्सरी स्क्रिन हाउस निर्माणका लागि कुल १६ लाख रुपैयाँ लागत लागेको छ । जसमा जुनार सुपरजोनले १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो । गाउँपालिका कै नमुना स्क्रिन हाउसका रूपमा हेरिएको सो हाउसमा १३ हजार बिरुवा अट्ने अनुमान गरिएको छ ।
नर्सरीमा अहिले पहिलो लटमा २५ हजार ट्राइफुलियटको बियाँ छरिसकिएको छ । यो वर्ष जुनार, कागती, निबुवा र सुन्तलाका बिरुवा उत्पादन गरिने बताउँदै उनले भने, “अर्काे वर्षदेखि एबोकाडो र किवीको पनि बिरुवा रोप्ने योजना छ ।” नर्सरीबाट वार्षिक १० देखि १२ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेका छन् । त्यस्तै उनले गाउँमा व्यवसाय सुरु गरेपछि एक जनाले रोजगारीसमेत पाएका छन् भने उनले ३ रोपनी जमिनमा जुनारखेतीसमेत गरेका छन् । जुनार बगैचाँबाट पनि मश्रांगीले वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।
मश्रांगीले जस्तै गाउँ–गाउँमा अहिले नयाँ नर्सरी व्यवसायी थपिएका छन् । विभिन्न संघसंस्थाबाट तालिम तथा अनुदान पाएपछि व्यवसायका लागि थप प्रोत्साहन मिलेको उनीहरू बताउँछन् ।