मर्जरमा गएका म्यानपावरले नगद र पासपोर्ट फिर्ता गर्नुपर्ने «

मर्जरमा गएका म्यानपावरले नगद र पासपोर्ट फिर्ता गर्नुपर्ने

सरकारले मर्ज भएर अस्तित्व समाप्त भएका म्यानपावर व्यवसायीलाई नयाँ कारोबार र भर्ति प्रक्रिया सुरु नगर्न निर्देशन दिएको छ ।पुरानो अनुमतिकै आधारमा नयाँ प्रक्रिया सुरु गर्दा श्रमिक ठगीमा गर्ने जोखिम न्यूनीकरण गर्न वैदेशिक रोजगार विभागले थप प्रक्रिया नगर्न निर्देशन दिएको हो ।
वैदेशिक रोजगार ऐनअनुसार गाभिएर अस्तित्व समाप्त भएका म्यानपावरको संख्या ४५० भन्दा बढी रहेको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले भदौ २९ गते नै सूचना जारी गरी श्रमिकबाट लिएको नगद, पासपोर्ट र अन्य प्रमाणित कागजात बुझाउन निर्देशन दिएको बताए । “बैक ग्यारेन्टी र नगद धरौटी थप नगरी यथास्थितिमा रहेका संस्थाहरूले भदौ ८ गते अघि गरेका सम्पूर्ण कार्यहरू स्थगन गरी कात्तिक१३ गतेसम्म संस्थाको सम्पूर्ण दायित्व विभागमा बुझाउन अनुरोध गरिएको छ,” विभागले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।
गाभिएर अस्तित्व समाप्त भएका कम्पनीले यसअघि व्यक्तिसँग लिएको पासपोर्ट, नगद रकम सम्बन्धित श्रमिकलाई फिर्ता नगरे कारबाही गरिने विभागले जनाएको छ । यसैगरी विदेशी रोजगारदाता कम्पनीसँग लिएको मागपत्र बमोजिमको जनशक्ति आपूर्ति गर्न नसक्ने व्यहोरा समेत सम्बन्धित रोजगारदातालाई जानकारी गराउनु पर्नेछ । श्रमिक र संस्थाको प्रयोजनका लागि प्रमाणीकरण गरिएका मागपत्रहरूबारे सम्बन्धित कूटनितीक नियोगलाई जानकारी दिनुपर्ने छ । यसैगरी मर्जरमा गएर अस्तित्व समाप्त भएका म्यानपावर कम्पनीले अब सोही नाममा नयाँ मागपत्र ल्याउने र प्रमाणिकरण गरे कारबाही गरिने विभागले जनाएको छ । यस्ता संस्थाको नाममा कुनै मुद्दा तथा उजुरी भए तत्काल फरफारक गर्नुपर्ने भएको छ । यसैगरी संस्थाको कार्यलयमा राखिएको साईन बोर्ड र कर्मचारीलाई दिइएको परिचयपत्रसमेत फिर्ता लिइ विभागमा बुझाउनु पर्ने छ । संस्थाको अस्तित्व समाप्तीसँगै शाखा अनुमति, घरेलु कामदार अनुमति, जिट्को र केयर गिभरका लागि लिएको इजाजतसमेत रद्द गर्नुपर्ने छ । यस्ता म्यानपावरलाई हालसम्म वैदेशिक रोजगारीमा पठाएका व्यक्तिको सम्पूर्ण विवरण समेत विभागमा पेश गर्न अनुरोध गदै आगामी दिनमा ति संस्थाको नामबाट वैदेशिक रोजगारसम्बन्धी नयाँ र पुरानो कुनै पनि कार्य नगर्न निर्देशन जारी गरिएको छ ।
यसरी असत्तिव समाप्त भई नयाँ संस्था स्थापना गरेका म्यानपावर व्यवसायीले सरकारले तयार गरेको (वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली–एफईआईएमएस) मा आबद्ध भएका ईजाजत पत्र प्राप्त संस्थाहरूले आफनो संस्थाको सम्पुर्ण विवरण अद्यावधिक गरी राख्न विभागले निर्देशन दिएको छ । मर्ज भई स्थापना भएका नयाँ संस्थाका संचालनक तथा कर्मचारीको विवरण ७ दिन भित्र एफईआईएमएस राखेर मात्र भर्ना प्रक्रिया र कारोबार गर्न पाउने छन । विभिन्न म्यानपावर गाभिदा लगभग ४५० भन्दा बढी म्यानपावरको अस्तित्व समाप्त भएको छ ।
यसमध्ये ३०३ संस्था गाभिएर १३१ संस्था बन्न पुगेका छन्। यसरी गाभिने संस्थाहरूमध्ये ६ वटा संस्था गाभिई १ म्यानपावर बनेको छ । यसैगरी ५ वटा वटा संस्था एकआपसमा गाभिई बन्ने संस्थाको संख्या २ रहेको छ ।
४ संस्था गाभिई बन्ने संस्था ९, तीनवटा संस्था गाभिई बन्ने संस्था संख्या १३, २ वटा म्यानपावर संस्था गाभिई बन्ने संख्या १०६ रहको छ । अब भने बैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक रोजगार नियमावली २०६४ को प्रवधानअनुसार बिगतमा विभागबाट इजाजत लिएका वैदेशिक रोजगार व्यवसाय संचालन गरिरहेका संस्थाहरू मध्ये ऐन र नियमावली अनुसार एक आपसमा गाभिई नयाँ कम्पनी गठन भएका संस्थाबाट प्रक्रिया अघि बढाउन सकिने छ । बिभागमा नयाँ इजाजतपत्र प्राप्तिको प्रक्रियामा रहेका संस्थाहरू बाहेक एक आपसमा गाभिएका संस्था संस्थाहरूले यस अघि गरेका र प्रक्रियामा रहेका ऐनको ८ क को उपनियम ६ अनुसारका कार्यहरू सोही उपनियम ६ को प्रावधान बमोजिम गर्न पाउने व्यवस्थाका लागि विभागबाट एफइआईएमएस प्रणालीमा अध्यावधिक गर्ने कार्य भईरहेको हुनाले गाभिई कायम भएको नयाँ संस्थाको नामबाट मात्र गराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्