सेयर बजार ११ अंकले घट्यो

केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि बिहीबार ३६.०१ अंंकले बढेको सेयर बजार आइतबार ११.०५ अंकले घटेको छ । आइतबार सेयर बजार सूचकसँगै कारोबार रकम पनि घटेको छ । बजार खुलेको केही समयमा नै करिब २० अंकले बढेको नेप्से परिसूचक बन्द हुँदा ११.०५ अंकले घटेको हो ।
बिहीबार ओली प्रधानमन्त्रीको खबरले सेयर लगानीकर्ता उत्साहित भएका भन्दै बढेको बजार एकदिन पनि नटिक्दा बजारमा चलखेल भएको अनुमान गरिएको छ ।
पछिल्लो एक वर्षको अवधिमा सेयर बजार सूचक करिब ४ सय अंकसम्मले तल झरेको छ । अर्थतन्त्र तथा राजनीतिक घटनाक्रमसँगै सूचीकृत कम्पनीको अवस्थालाई पनि आधार बनाइ लगानी बढाउने र घटाउने निर्णय लिने लगानीकर्ता पछिल्लो समयमा राजनीतिक घट्ना क्रमलाई धेरै आधार बनाएको देखिन्छ । गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वामपन्थी राजनीतिक दलको बहुमत आएपछि पनि सेयर बजारमा लगानीकर्ताको बजारप्रतिको विश्वास कमजोर भएको थियो ।
तर, बिहीबार तथा आइतबारको घटनाक्रम हेर्दा भने सेयर लगानीकर्तामा केपी ओली सेयर बजार मैत्री रहेको हुनसक्ने अनुमानका कारण नभई बिहीबार नेप्से सेयर खेलाडीका कारण बढेको देखिन्छ ।
बिहीबार बजार परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको थियो तर आइतबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा दैनिक २४ देखि ३० करोडको हाराहारीमा सेयर कारोबार हुने गरेकोमा बिहीबारको कारोबार रकमसमेत ६६ करोडभन्दा धेरैको कारोबार भएको थियो । तर, आइतबार भने बजारमा दिनभर ५९ करोड रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ । जसमा १ सय ५९ कम्पनीको १४ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ ।
आइतबार बैंकिङ समूहका कम्पनीको कारोबार बढी भएको छ । आइतबार बजार खुल्दा बढेको बजार केही समय पनि टिक्न सकेन । १५ मिनेटमै करिब २० अंकले बढेको बजार त्यसपछि १५ मिनेटमा घट्न पुग्यो । बजार खुलेको केही समय लगानीकर्ताले चलखल गरेर बढाउन खोजे पनि त्यसलाई टिकाउन भने सकेनन् ।
आइतबार बजारमा बीमा समूहको परिसूचक सबैभन्दा बढी १ सय ७ दशमलव ४८ अंकले ओरालो लागेको छ भने विकास बैंक र माइक्रोफाइनान्स समूहको परिसूचक पनि उच्च रूपमा ओरालो लागेका छन् । यसैगरी जलविद्युत् र होटल समूहका परिसूचकमा पनि सोहीअनुरूप गिरावट आएको छ ।
सेयर बजार घटे पनि आइतबार लगानीकर्ता नेपाल इन्भेस्टमेन्ट बैंक र सानिमा बैंकको सेयरमा बढी आकर्षित देखिए । नेपाल इन्भेस्टमेन्ट बैंकको प्रतिकित्ता सेयर ६८५ देखि ६८७ रुपैयाँसम्म ४० हजार ९९५ कित्ता सेयर किनबेच भएको छ । यस्तै, सानिमा बैंकको पनि प्रतिकित्ता ३७० रुपैयाँमा ७३ हजार ५९७ कित्ता सेयर किनबेच भएको छ ।
यसरी दुई बैंकको मात्र ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दुवै बैंकको वित्तीय अवस्था मजबुत हँुदा लगानीकर्ताको आकर्षण बढेको ब्रोकरको भनाइ छ ।
यस्तैगरी, आइतबार सबैभन्दा बढी बोटलर्स नेपाल तराई लिमिटका लगानीकर्ताले कमाएका छन् । बोटलर्सका लगानीकर्ताले प्रतिसेयर २८७ रुपैयाँ कमाएका छन् ।
‘क’ वर्गमा ११० कम्पनी
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत कुल २०६ वटा कम्पनीहरूमध्ये ११० वटा कम्पनीहरू ‘क’ वर्गमा वर्गीकरण भएका छन् । तर, गत आवको तुलनामा यस वर्ष ‘क’ वर्गमा पर्ने कम्पनीको संख्या घटेको छ । गत आवमा १११ कम्पनीहरू ‘क’ वर्गमा वर्गीकृत भएका थिए भने चालू आवमा जम्मा ११० कम्पनीहरू ‘क’ वर्गमा परेका नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार वर्गीकृत कम्पनीमध्ये वाणिज्य बैंक समूहबाट २७, माइक्रोफाइनान्स समूहबाट २६, विकास बैंक समूहबाट २१, बिमा समूहबाट १६, वित्त समूहबाट ११, जलविद्युत् समूहबाट ५, होटल समूहबाट २ र अन्य समूहबाट २ वटा कम्पनीहरू ‘क’ वर्गमा परेका छन् । नेप्सेले आर्थिक वर्ष २०७३–७४ को अन्तसम्ममा सूचीकृत कुल कम्पनीहरूमध्ये चालू आवमा ‘क’ वर्गमा वर्गीकरण गरेको हो ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीअनुसार चुक्ता पुँजी २ करोड, साधारण सेयरधनीहरूको संख्या कम्ीतमा हजार नाघेको, कम्तीमा ३ वर्षदेखि लगातार मुनाफा रहेको, सेयर किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र उक्त आर्थिक वर्षको कारोबार तथा आयव्यय विवरण पेस गरेकाले ११० कम्पनीलाई ‘क’ वर्गमा वर्गीकरण गर्ने गर्छ ।