चराले धान खाँदा पोखराका किसान चिन्तित

पोखराको फेवाताल सिरान भाग फेवाफाँट क्षेत्रमा यस वर्ष पनि नयाँ जातको चराले धान खाँदा स्थानीय कृषकहरु चिन्तित भएका छन् । विगत ५-६ वर्ष देखि निलो रंग भएको कुर्मा जातको चराले रोपेदेखि काट्ने बेलासम्म धान खाने गरेकाले स्थानीय चिन्तित बनेका हुन् ।
हरेक वर्ष जसो कुर्मा जातको चराको संख्यामा वृद्धि भएसँगै धान उत्पादन घट्दै गएको स्थानीय मानबहादुर थापाले बताए । उनले भने “दुई वर्षअघि ६० मुरी धान उत्पादन गरेको मेरो खेतमा गत वर्ष ३० मुरी धान मात्र उत्पादन भएको थियो” उनले भने, “तर यस वर्ष १० मुरी पनि हुने हो कि होइन भन्ने चिन्ता बढेको छ ।” उनले भने “फेवाफाँटमा धान लगायो चरालाई, माथिल्लो भेगमा अन्नवाली लगायो बादरलाई, खै हाम्रो लागि कसले के ग-यो, हामी कृषकले अब के गरेर खाने बरु यो सरकारले हामीलाई केही विकल्प दिए हुन्थ्यो ।” कुर्माजातको चराले धानमै बस्ने र गुण समेत बनाउने गरेको चरा विज्ञहरुले बताउँछन् ।
आफूहरु जस्ता सच्चा पीडित किसान समक्ष तीन तहको सरकार हालसम्म नआइपुगेको थापाले गुनासो गरे । फेवाफाँटमा गत वर्र्ष करिब ४५ प्रतिशत उत्पादनमा कमी आएकोमा यस वर्ष करिब ५५ देखि ६० प्रतिशतले कमी आउने आफूहरुले अनुमान गरेको थापाले जनाए । धान रोपेदेखि चराले धानको जरा, गुदो खाने गरेको र फूल खेलेसँगै टुप्पाबाट समेत चराले खाने समस्याले गर्दा अधिकाशं फेवा फाँटका कृषकहरुको धानवाली हाल केही बाँझो भएको छ ।
उनले भनिन “गरिब किसानको लागि यो देशमा सरकार छ भने हामी जस्ता किसानको मर्का बुझ्न मात्र भए पनि एक पटक हाम्रो जेडो बुढो धान फल्ने खेतमा आए हुन्थ्यो ।” करिब २० हजार खर्चिएर रापेको खेतमा यस वर्ष करिब ४-५ मुरी धान पनि उत्पादन नहुने उनले गुनासो गरिन् ।
गज गज हिलोमा चरा धपाउन व्यस्त भएका स्थानीय मावध तिमिल्सिनाको हिजो आज दैनिक जसो चरा धपाउन हातमा लठ्ठी लिएर फेवाफाँटमा हिड्ने गरेका छन् । हजारौं रोपनी रहेको फेवाफाँटमा एक व्यक्तिको प्रयासले केही लाग्दैन ।
पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले फेवाफाँटमा केही वर्ष अघिदेखि चराले धान खाने समस्या भएकोले त्यसको व्यवस्थापनका लागि हालसम्म महानगरले कुनै व्यवस्थापन गर्न नसकेकोे बताए । पोखरा महानगरपालिकाका वरिष्ठ बागवानी विकास अधिकृत मनोहर कडरियाले धान हुने मौसममा विभिन्न क्षेत्रबाट जलाधार क्षेत्रमा चरा चुरुङगी आउने हुँदा चराबाट धान खाने समस्याको लागि धान खेतमा निगरानी बढाउने, बढी खेतमा झिलीमिली पार्ने, टल्कने बस्तु राख्नु पर्ने बताए ।