७ करोड लगानीमा स्क्वायर रेस्टुरेन्ट

पोखराको न्युरोडमा अत्याधुनिक सुविधा भएको सिटी स्क्वायर ब्यान्क्वेट एन्ड रेस्टुरेन्ट संचालनमा आएको छ ।
पोखराका केही व्यवसायीको लगानीमा सबै वर्गलाई लक्षित गरी पोखराको व्यापारिक केन्द्र न्युरोडमा रेस्टुरेण्ट संचालनमा ल्याएको सिटी स्क्वायर व्यान्क्वेट एन्ड रेस्टुरेन्ट प्रालिका अध्यक्ष प्रमेश पराजुलीले बताए । पर्याप्त मात्रामा पार्किङको सुविधासहितको ४ वटा सभाहल समेत रहेको अध्यक्ष पराजुलीले जनाए ।
उनका अनुसार ७ करोड रुपैयाँको लगानीमा संचालनमा आएको रेस्टुरेन्टमा हाल ५० जना कर्मचारी रहेका छन् । उनले भने “पोखरामा राम्रो कार्यक्रम गर्नुपर्दा ग्रान्ड, सांग्रिलालगायतका केही होटलमा बाहेक अन्य सुविधा सम्पन्न छैन । त्यसैले हामीले आवश्यकता देखेरै लगानी गरेका हौं ।”
रेस्टुरेन्टले ग्राहकको रोजाइ अनुसार गुणस्तरीय सेवा दिने बताइएको छ । ब्यान्क्वेटमा ४ सय, २ सय ५०, ६० र १५ जना क्षमताका ४ वटा हलका साथै ७० जना क्षमताको रेस्टुरेन्ट तथा बारसमेत रहेका छन् । चारवटै हल एसीजडित र साउन्डप्रुफ रहेको प्रालिले जनाएको छ । परिसरमै वार, कफी सप तथा जुस कर्नर समेत रहेको छ । अध्यक्ष पराजुलीले भने, “पोखरा अब प्रदेशको राजधानी मात्र नभई अन्तर्राष्ट्रिय सहर बन्दै छ । सोही अनुसार यहाँ होटल तथा रेस्टुरेन्टहरू आवश्यक भएकाले हामीले रेस्टुरेन्ट संचालनमा ल्याएका हौं ।”
रेस्टुरेन्ट ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । विवाह, व्रतबन्धलगायतका कार्यक्रमहरूका लागि मन्डपनिर्माणदेखि आवश्यक सबै सुविधा एकै ठाउँमा उपलब्ध भएको प्रबन्ध निर्देशक आदर्शमान श्रेष्ठले बताए ।