Logo

निरन्तर घट्दै शेयर बजार

काठमाडौं- शेयर बजार घट्ने क्रम साताको चौथो दिन पनि निरन्तरता पाएको छ । यो साता लगातार गिरावट हुँदै आएको शेयर बजार मापन गर्ने नेप्से परिसूचक (आज) बुधबार ६ दशमलव चार छ अंकले घटेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शून्य दशमलव तीन एक प्रतिशतले घटेर २ हजार २६ दशमलव पाँच नौ अंकमा झरेको छ ।

यसदिन उत्पादनमूलक बाहेक सबै समूहले समग्र परिसूचक घटेको हो । उत्पादनमूलक समूहको परिसूचक दुई दशमलव आठ चार प्रतिशतले बढ्दा बाँकी सबै समूहको परिसूचक एक प्रतिशत भन्दा कमले घटेको छ । घटेको बजारमा कारोबार रकम र शेयर संख्या समेत उल्लेखीए घटेको छ । दिनभर कुल ३ सय १३ कम्पनीको जम्मा ६३ लाख ४१ हजार कित्ता शेयर २ अर्ब २४ करोड १९ लाख रुपैयाँमा सिमित भएको छ ।

अघिल्लो दिन ९३ लाख ४२ हजार कित्ता शेयर ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बराबरमा किनबेच भएको थियो । कारोबार रकमको आधारमा भने आज पनि हिमालयन पुनर्बीमा लिमिटेड नै अग्रस्थानमा रहेको छ । पछिल्लो महिना लगातार उच्च कारोबार हुँदै आएको कम्पनीको आज ११ करोड १२ लाख रुपैयाँ बरारबको शेयर कारोबार भएको छ ।

नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको दिन बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, हिमालय ऊर्जा विकास कम्पनी र समाज लघुवित्त कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत मूल्य बढेका यी ४ वटै कम्पनी दोस्रो त्रैमाससम्मको अवधिमा प्रतिसेयर आम्दानी भने ऋणात्मक छ ।

प्रतिक्रिया दिनुहोस्