Logo

प्रदेश गौरवका नौ आयोजनाको १९ खण्डमा ठेक्का, सबै अधुरो

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गरेको नौवटै प्रदेश गौरवको आयोजनाको १९ वटा सडक खण्डमा ठेक्का लगाएको छ । तीमध्ये १२ वटा ठेक्काको म्याद सकिएपछि सबै ठेक्का अधुरा छन् । आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट स्रोत सुनिश्चित गरी प्रदेशको सबै जिल्लामा एक/एक वटा गरी नौवटा सडक खण्ड ठेक्का लगाएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा तीनवटा र आर्थिक वर्ष २०७८/०७९ मा सातवटा थप ठेक्का लगाइएकोमा २०७८/०७९ लगाइएको ठेक्काबाहेक सबैको म्याद सकिएको छ । ३० महिनाको समयावधि दिएर लगाएको ठेक्का सबै अधुरा छन् । २०७८/०७९ को ठेक्का पनि २०८०/०८१ मा सम्पन्न हुनुपर्ने हो । प्रदेशका पूर्वाधार विकास कार्यालयका अनुसार बजेट अभाव, निर्माण कम्पनीको ढिला सुस्ती, कानुनी र प्राविधिक कठिनाइले गर्दा ती सबै ठेक्का अधुरा भएका हुन् ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका योगेन्द्रबहादुर अधिकारीले प्रदेश गौरवको आयोजनामा नौ किलोमिटर सडक पिच गर्न २०७६/०७७ मा ठेक्का लगाइएको भए पनि निर्माण कम्पनी सन्तोषी थेकिम जेभीले समयमा काम नगर्दा चार वर्षमा ४० प्रतिशतमात्रै भौतिक प्रगति भएको बताए । उनले यसैवर्ष काम सक्न थेकिमलाई ताकेता गरिएको बताए । नौवटै सडकको कुल लम्बाइ ७६८ किलोमिटरमध्ये २१७ किलोमिटर निर्माण गर्न ठेक्का लगाइएको छ ।

ती ठेक्कामा औषत ४५ प्रतिशत भौतिक प्रगति भएको छ । १९ खण्डको लागत अनुमान पाँच अर्ब १६ करोड ३७ लाख रुपैयाँ रहे पनि निर्माण कम्पनीसँग तीन अर्ब १४ करोड ५३ लाखमा ठेक्का सम्झौता गरिएको छ । गत आर्थिक वर्षसम्म ती ठेक्कामा एक अर्ब ८५ करोड ३९ लाख रुपैयाँ खर्च भइसकेको छ भने चालु आर्थिक वर्षमा एक अर्ब २३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा विनियोजित सबै बजेट खर्च भएमा अझै ती ठेक्काका लागि पाँच करोड ३३ लाख रुपैयाँ बजेट अपुग छ ।

गत आर्थिक वर्षमा यी ठेक्काका लागि एक अर्ब २७ करोड विनियोजन भएकोमा सबै रकम खर्च हुन सकेको थिएन । चिसापानी–जंगलघाट–बडिमालिका सडकमा १२ किलोमिटरको गौरीटाँड–कमलबजार–दर्ना (बाँसकाँडा) खण्डमा कालोपत्रेको काम सुरु भएको प्रदेश सरकारको एक वर्षे अवधिको प्रगति पुस्तिकामा उल्लेख छ । २० करोड लागत अनुमान रहेकोमा १७ करोड १५ लाख रुपैयाँमा ठेक्का लगाइएको छ ।

सोही सडकको जंगलघाटदेखि गौरीटाँडसम्मको २४ किलोमिटर खण्ड २०७६/०७७ मा ठेक्का लगाइएकोमा कटिङर स्ट्रक्चरकै काम भइरहेको छ । १९ करोड ९७ लाख रुपैयाँ लागत अनुमान रहेको खण्डमा नौ करोड ४८ लाखमा ठेक्का सम्झौता गरिएको छ । ठेक्काको म्याद सकिएको दुई वर्ष भइसक्दा पनि सो खण्डको निर्माण ५० प्रतिशतमात्रै सम्पन्न भएको छ ।

चिसापानी–जंगलघाट–बडिमालिका सडकमा थप ठेक्का लगाउन प्रदेश सरकारले चालु आर्थिक वर्षमा नौ करोड र संघीय सरकारले समपुरक अनुदानबाट नौ करोड रुपैयाँ गरी १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस सडकको कुल लम्बाइ २०३ किलोमिटर छ । बझाङको ९५ किलोमिटर लम्बाइको पातीहाल्ला–तल्कोट–साइपाल–हुम्ला सडक १५ मिलोमिटर र १० किलोमिटर खण्ड कच्ची सडक निर्माणका लागि २०७६/०७७ र २०७८/०७९ मा ठेक्का लगाइएको भए पनि दुवै खण्ड अधुरो छ ।

नौ करोड ५७ लाख र ११ करोड ८१ लाखमा लगाइएको ठेक्कामा चालु आर्थिक वर्षमा सात करोड ५० लाख विनियोजन गरिएको छ । बाजुरामा ६५ किलोमिटरको खप्तड–मार्तडी सडकको ५० किलोमिटर खण्ड ठेक्का २०७६/०७७ मा ठेक्का लगाइएकोमा सो सडको प्रगति ३५ प्रतिशतमात्रै भएको छ । सो सडकका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

झनाना–जडार खण्डको ठेक्का सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय बझाङका प्रमुख जंगबहादुर थापाले बताए । उनले निर्माण कम्पनीलाई भुक्तानी दिनमात्रै बाँकी रहेको बताए । उनले विगतका वर्षमा बजेट अभाव भए पनि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरिएको जनाउँदै यसै आर्थिक वर्षमा थप सडक खण्डको बहुवर्षीय ठेक्का लगाउने तयारी भइरहेको बताए । डडेल्धुरामा सञ्चालित दैजी–जोगबुडा–सलौन–पोखरा–ढुंगाड सडकको दैजी–जोगबुडा खण्ड निर्माणधीन अवस्थामा ।

प्रतिक्रिया दिनुहोस्