Logo

भुटानी शरणार्थीको पर्व : उत्साहभन्दा निरासा

झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका भिमबहादुर क्षेत्री (६९) लाई चाडपर्वको उल्लासले छोएको छैन । बाँसका भाटाले बारेको, जस्तापाताले छाएको छाप्रोमा क्षेत्री एक्लै बस्छन् । क्षेत्री शिविरमा ८ वर्ष अघिसम्म भाइको साथमा बस्दै आएका थिए । बेलडाँगी स्थित शिविरमा २८ वर्षदेखि बस्दै आएका वृद्ध क्षेत्रीलाई ८ वर्षदेखि कुनै चाडपर्वले छोएको छैन ।
सन् २००८ देखि भुटानी शरणार्थी तेस्रो देश पुनर्वास सुरु भयो । परिवारका सदस्यहरू तेस्रो मुलुक पुनर्वासका क्रममा फरक फरक मुलुक पुगेपछि शिविरमा बस्दै आएका शरणार्थीलाई चाडपर्व आउन छोडेको हो । “भुटानबाट विस्थापित भएपछि दुई छोरा भारतको दार्जिलिङमै बस्छन्,” उनले भने, “भाइसँगै बस्ने सोचले म बेलडाँगी आएँ । भाइ अमेरिका पुग्यो, अहिले आफू एक्लो छु ।” क्षेत्रीका लागि चाडबाड आएको भन्दा नआएकै जाति हुने अवस्था बनेको छ । भएको सबै जायजेथा भुटानमा छोडेर आएका उनीहरू अहिले वेसहारा छन् ।
“परिवार नै तितरवितर छ, चाडपर्व साह्रै खल्लो लाग्छ,” क्षेत्रीले भने । छोराहरू दार्जिलिङमै बसे, भाइ अमेरिका पुगेपछि एक्लो जीवन झन्झटिलो र उत्साहहिन बनेको उनको अनुभव छ । अहिले धेरैजसो शिविर खाली हँुदै गएपछि चाडपर्व आउँदा झनै पीडा हुने गरेको क्षेत्री बताउँछन् । क्षेत्री जस्तै शिविरमा आश्रित अधिकांश शरणार्थीका आफन्त तथा परिवार युरोपका आठवटा मुलुकमा बसोबास गरिरहेका छन् । शरणार्थीलाई पुनर्वास गर्न सक्रिय आइओएमका अनुसार हालसम्म १ लाख १४ हजार बढी संख्यामा पुनर्वास भइसकेका छन् ।
बेलडाँगी शिविरमा बस्दै आएकी ८० वर्षीया डम्बरकुमारी काफ्लेसमेत चाडवाड उदास लाग्ने गरेकोे बताउँछिन् । काफ्ले शिविरमा २८ वर्ष अघिदेखि बस्दै आएकी छन् । “श्रीमान्ले दोस्रो विहे गरे, मलाई छोड,े” काफ्लेले भनिन्, “सन्तान साथमा हुँदा पो चाडपर्व रमाइलो लाग्छ, मेरा दुई जना छोरी छन् । एउटी अमेरिका गई, अर्की छोरीको नेपालकै पश्चिममा बिहे भएको छ ।” शिविरमा एक्लै बस्दै आएकी काफ्ले चाडपर्व नजिकिँदै गर्दा कोही आफन्त आउँछन् कि भन्ने आशमा दिन बित्ने गरेको सुनाउँछिन् ।
नेपाल लखेटिएपछि दाताले बनाइदिएको छाप्रो र राहत बाहेक आफ्नो सहारा केही नभएको उनी बताउँछिन् । “अहिले त दाताहरू पनि कम छन्, साउनमा ६ महिनाको सात हजार रुपैयाँ पाएको थिएँ । यसैले खाने, लगाउने गर्नुपर्छ ।” “छोरी अमेरिका त पुगि, पढाइ थिएन, सिप थिएन । काम गरेर जीवन चलाउन नै गाह्रो हुन्छ भन्छे ।” काफ्लेले भनिन् ।
क्षेत्री र काफ्ले जस्तो सिङ्गो परिवार बिछोडिए पछि शिविरमा बस्ने अधिकांशलाई चाडपर्वले खासै छोएको छैन । शिविरमा अहिले भुटान नै फर्कने सोच भएका, वृद्धवृद्धा र अशक्त गरेर ७ हजार जना रहेका छन् । उनीहरू आफ्नो देश, आफ्नो शैली, आफ्नो परिवेश छोडेदेखि दाताको भरमा जीविकोपार्जन गर्दै आएका छन् । शिविर आसपासका क्षेत्रमा चाडपर्वसँगै रौनक बढ्दै गए पनि शरणार्थी सिता गौतम, दुर्गा क्षेत्रीलाई पनि जब पर्व नजिकिन्छ, उमंग भन्दा निराशाले मन भारी हुने गरेको सुनाउँछन् । केही वर्ष अघिसम्म त फाटेको छानोमुनि आफन्तको साथमा चाडवाड मनाउँदा पनि मन जोडिन्थ्यो । तर परिवार नै विभाजित हुँदै तेस्रो मुलुक पुगेपछि शिविरमा रहेका शरणार्थीलाई पर्वहरू पिरका पर्याय बन्ने गरेको उनीहरू सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्