नमुना बन्दैै स्याङ्जा मालपोत कार्यालय «

नमुना बन्दैै स्याङ्जा मालपोत कार्यालय

स्याङ्जा-मालपोत कार्यालय स्याङ्जालाई नमुना अर्थात् सुधारिएको मालपोत बनाउन भौतिक संरचनाहरूको निर्माण कार्य शुरु गरिएको छ । सेवाग्राहीहरूलाई छिटो छरितो तबरबाट सेवा प्रबाह गर्ने उद्देश्यले मालपोत कार्यालयको संरचना परिवर्तन गर्न लागिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको योजाना अनुरुप मालपोत कार्यालय स्याङ्जालाई सुधारिएको मालपोत कार्यालय स्याङ्जा बनाउन लागिएको मालपोत कार्यालय स्याङ्जाका प्रमुख प्रकाश पौडेलले जानकारी दिए । सुधारिएको मालपोत कार्यालयमा एउटा सहायता कक्ष हुनेछ, जहाँबाट सेवाग्राहीले आफ्नो काम सम्बन्धित विषयमा जानकारी पाउने छन् । जसमा कार्यकक्ष सबैले देख्ने पारदर्शी हुनेछ, प्रतिक्षालयमा टेलिभिजन र अडियो भिजुअल डिस्प्ले, फ्रि वाईफाई जडान गरिएको छ । 

सुधारिएको कार्यालयको सम्पूर्ण कारोबार बैंकिङ प्रणालीबाट गरिनुका साथै पूर्ण रुपमा नगद कारोबार बन्द गरिने कार्यालय प्रमुख पौडेलले बताए । पौडेलका अनुसार कार्यालयमा स्तनपान कक्ष, महिला पुरुषको शौचालय, खानेपानीको व्यवस्था र भवन अपाङ्ग मैत्री हुनेछ ।
मालपोत कार्यालय वरिपरि भू–सेवा केन्द्र रहने कार्यालयले जानकारी दिएको छ । भू–सेवा केन्द्र स्थापनापश्चात् काम गर्न सहज हुने कार्यालयको ठम्याई रहेको छ । भू–सेवा केन्द्र स्थापना भए पछि कार्यालयमा भिड हट्नेछ । सेवाग्राहीहरूले भोग्दै आएको झन्झटलाई अन्त्य गर्न सुधारिएको मालपोत कार्यालय स्याङ्जा बनाउन शुरु गरिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।
“सुधारिएको मालपोत कार्यालय बनाउने कामलाई तिव्रता दिइएको छ, करिब २ महिनाभित्र सुधारिएको मालपोत कार्यालय बनिसक्ने छ,” कार्यालयका सूचना अधिकारी डोलबहादुर थापाले भने, “सुधारिएको कार्यालय बनिसकेपछि डिजिटल प्रविधि उपयोग गरी घरबाटै जग्गाको विवरण हेर्न सक्ने व्यवस्था गर्न लागिएको छ ।”
युजर नेम र पासवर्ड लिएर आफ्नो जग्गाको विवरण घरमै बसेर थाहा पाउन सकिने सूचना अधिकारी थापाले जानकारी दिए । मालपोत कार्यालय स्याङ्जामा दैनिक जसो करिब एक सयदेखि एक सय ५० जनासम्म सेवाग्राहीले सेवा लिने गरेको थापाले बताए ।
जिल्लाका ११ स्थानीय तहमध्ये सेवाग्राहीको ठूलो संख्याले वालिङमा रहेको ईलाका मालपोत कार्यालयबाट सेवा लिएका छन् भने पुतलीबजार नगरपालिका, आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा र अर्जुनचौपारी गाउँपालिकाका सेवाग्राही जिल्ला मालपोत कार्यालयमा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्