देवदहमा औद्योगिक व्यापार मेला

भैरहवा– शान्तिका अग्रदुत गौतम बुद्धको मावली क्षेत्र भनिएको रुपन्देहीको देवदहमा आठौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव बिहीबारबाट सुरु भएको छ । कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार भन्ने मूल नाराका देवदह उद्योग वाणिज्य संघको आयोजनामा बुद्धनगर घोडाहामा महोत्सव सुरु भएको हो ।
नगरपालिकाको सहयोगमा सुरु भएको महोत्सवमा कृषि, खाद्यान्न, तयारी पोशाक, जुत्ता, अग्र्यानिक कृषि उपज उत्पादन, पशुपन्छी जन्य, हस्तकला, घरेलु तथा कुटीर उद्योग, अटो, सूचना प्रविधि, पर्यटन, शिक्षा, स्वास्थ्य, रेष्टुरेन्टलगायतका २ सय स्टल रहेको देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारीले बताए । उत्पादन र उत्पादकत्व वृद्धि गर्न महोत्सवको आयोजना गरेको अध्यक्ष भण्डारीले जनाए ।
फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सवको एक लाखले अवलोकन गर्ने र करिव १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान रहेको आयोजकले जनाएका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारसहितको विविध सांस्कृतिक कार्यक्रम, विभिन्न प्रतियोगितालगायतका आकर्षक कार्यक्रमसमेत रहेको जनाइएको छ ।
महोत्सवको लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्दै मेला महोत्सवको माध्यमबाट देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिनेमा जोड दिए । कोभिडका कारण देशको आर्थिक अवस्था बिग्रदै गएको बताउँदै यस्ता मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन सकिने मन्त्री खनालले बताए ।