Logo

वित्तीय साक्षरता किन र कसका लागि ?

मानिसका धेरै चाहना र आवश्यकता हुन्छन् । तिनलाई पूरा गर्ने मुख्य साधन पैसा नै हो । तर, आफूसँग भएको पैसालाई तरिका मिलाएर खर्च गर्न जानिएन र कमाउने उपाय खोजिएन भने ती चाहना र आवश्यकता पूरा गर्न सकिँदैन । त्यसैले सबै मानिसले वित्तीय साक्षरताको ज्ञान लिन आवश्यक छ ।

गरिबी मानवीय समस्या हो । मानिसको सकारात्मक सोच, विचार, कडा परिश्रम, खर्चमा अनुशासन र पैसाको व्यवस्थापनले गरिबी हटाउन सकिन्छ । व्यक्तिले आफ्नै प्रयासबाट गरिबी हटाउन सक्छ । नेपालको सन्दर्भमा यहाँको जनसंख्याको ठूलो हिस्सा अझै पनि औपचारिक वित्तीय सेवाबाट वञ्चित रहेका छन् । मुलुकमा अहिले पनि १८.७ प्रतिशतजति जनसंख्या गरिबीको रेखामुनि रहेका छन् र सो जनसंख्यालाई गरिबीबाट मुक्त गराउन आवश्यक छ । गरिबी र बेरोजगारीको यस्तो भयावह स्थिति र वित्तीय सेवाको न्यून पहुँचको अवस्थाबाट मुक्तिका लागि वित्तीय साक्षरता अपरिहार्य छ ।

पैसाको सदुपयोगबाट आर्थिक तथा सामाजिक सुरक्षा हासिल गर्ने, सीमित साधनको अधिकतम उपयोग गरी असीमित आवश्यकतालाई प्राथमिकताका आधारमा पूरा गर्न व्यवस्थित बजेट बनाउने तरिका सिकाउने तथा सीमित साधनको व्यवस्थित परिचालन र उच्चतम सदुपयोग गर्ने कला, सीप र ज्ञान नै वित्तीय साक्षरता हो । दैनिक जीवनमा वित्तीय अवधारणाहरू प्रयोग गर्ने र सर्वोत्तम वित्तीय निर्णयहरू लिने क्षमतालाई वित्तीय साक्षरता भनिन्छ । यसले भविष्यमा आउन सक्ने आर्थिक जोखिम घटाउन, सुखी र खुसी पारिवारिक जीवनयापन गर्न सचेत भई पारिवारिक, व्यक्तिगत वा संस्थाको आम्दानी, बचत, खर्च र लगानीलाई सही तरिकाले चलाउने निर्णय लिन सक्ने क्षमताको विकास गर्छ । यसभित्र आम्दानी, खर्च, बजेट, बचत, ऋण, बीमा, विप्रेषण आदि पर्छन् ।

आधुनिक समाजमा बाँच्नका लागि व्यक्तिहरूलाई वित्तीय साक्षरताको ज्ञान हुनु आवश्यक छ । वित्तीय अवधारणाबारे जनस्तरमा के–कस्तो बुझाइ छ, त्यससँग वित्तीय साक्षरताको सम्बन्ध गाँसिएको हुन्छ । पैसाको व्यवस्थापन एवं परिचालनसम्बन्धी सीप, क्षमता र सोको आधारमा वित्तीय निर्णयसम्बन्धी जानकारी महत्वपूर्ण हुन्छ । वित्तीय रूपले अशिक्षित व्यक्तिहरूलाई आफ्ना दैनिक खर्चको व्यवस्थापन गर्न अप्ठ्यारो परिरहेको हुन्छ । जीवनशैलीमा आउन सक्ने परिवर्तनबाट पर्ने नकारात्मक असरको व्यवस्थापनका लागि पनि वित्तीय साक्षरता अति आवश्यक छ ।

पछिल्लो समयमा नेपालमा वित्तीय साक्षरताको विषय जल्दोबल्दो विषयका रूपमा चर्चा पाउन थालेको छ । वित्तीय साक्षरता र वित्तीय पहुँच एकअर्कामा अन्तरसम्बन्धित विषयवस्तुहरू हुन् । नेपाल सरकारले वित्तीय साक्षरता र वित्तीय पहुँचलाई प्राथमिकता दिएको छ । मुलुकमा वित्तीय साक्षरता वृद्धि हुँदै जाँदा वित्तीय पहुँच पनि बढ्दै जान्छ । जब वित्तीय पहुँच बढ्दै जान्छ तब आर्थिक क्रियाकलापमा पनि वृद्धि हुने र पुँजी निर्माण पनि बढ्न गई आर्थिक विकास सम्भव हुन्छ । वित्तीय साक्षरता र वित्तीय पहुँचको बीचमा सकारात्मक सम्बन्ध त छ नै, यिनीहरू एकअर्कामा प्रभावित हुने र एकअर्कालाई प्रभावित पार्ने विषयवस्तु पनि हुन् ।

वित्तीय साक्षरताले वित्तीय समृद्धि प्राप्तिमा ठूलो भूमिका निर्वाह गर्छ । विश्व परिवेशलाई हेर्दा तुलनात्मक रूपमा वित्तीय साक्षरता दर बढी भएका देश सम्पन्न छन् । वित्तीय स्रोतको उपलब्धता मात्रभन्दा पनि त्यसको सही व्यवस्थापनले सम्पन्नतालाई निर्धारण गर्छ । धेरै आम्दानी भएर पनि आर्थिक संकटमा परेका र कम आम्दानी हुँदा पनि सम्पन्न हुँदै गएका कतिपय उदाहरण छन् । जसले स्रोतको सही प्रयोगको महत्वलाई पुष्टि गर्छ ।

ग्लोबल फाइनान्सियल लिटरेसी सर्भे, सन् २०१५ को तथ्यांकका आधारमा नेपालमा वित्तीय साक्षरताको दर १८ प्रतिशत देखिएको थियो । त्यसपछिका करिब सात वर्षको हराहारीमा वित्तीय साक्षरताको दर ५७.९ प्रतिशत देखियो । वित्तीय साक्षरतामा नेपालले प्राप्त गरेको उपलब्धिलाई उत्साहजनक मान्नुपर्छ । यो दिक्कलाग्दो अवस्था त होइन, तर डेनमार्क, नर्वे, स्वीडेनजस्ता वित्तीय साक्षरता दर उच्च रहेको देशको तुलनामा भने नेपालको वित्तीय साक्षरता दर धेरै नै न्यून छ । छोटो समयमा वित्तीय साक्षरता दरमा नेपालले मारेको फड्कोको विषयमा समीक्षा गर्न अत्यन्त जरुरी छ । अर्थात् वित्तीय साक्षरताको यो दर ढुक्क भइहाल्ने अवस्था होइन ।

देशको आर्थिक–सामाजिक अवस्था, मानिसको उमेर समूह र उपलब्ध वित्तीय सेवाहरूका आधारमा वित्तीय साक्षरताका उद्देश्य फरक–फरक हुन सक्छन् । वित्तीय बजारको परिपक्वताको अवस्थाले पनि वित्तीय साक्षरता कार्यक्रमले जोड दिनुपर्ने विषय फरक हुन सक्छन् । वित्तीय साक्षरताले समुदायका सदस्यलाई प्रतिस्पर्धात्मक बजारमा रहेका विभिन्न सेवाप्रदायकका विशेषता र तिनले दिने फाइदाका बारेमा राम्रो जानकारी दिन्छ । सेवाप्रदायकहरू न्यून संख्यामा रहेको अवस्थामा भने वित्तीय सेवाको प्रयोगतिर सदस्यहरूलाई आकर्षित गर्नु वित्तीय साक्षरताको मुख्य उद्देश्य हुन्छ । विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान–सीप बढाउनु, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउनु, उपयुक्त वित्तीय सेवाहरू छनोट र प्रयोग गर्न सक्ने क्षमता विकास गर्नु, भविष्यमा आउन सक्ने जोखिमका लागि तयारी वा योजना गर्न सक्ने ज्ञान र सीप प्रदान गर्नु, मानिसमा असल वित्तीय व्यवहारको विकास गर्नु आदि वित्तीय साक्षरताका मुख्य उद्देश्यहरू हुन् ।

वित्तीय साक्षरता व्यक्ति, समुदाय, सहकारी तथा लघुवित्त संस्थाहरू सबैलाई उपयोगी छ । आफ्नो पैसा वा सम्पत्तिको राम्रो व्यवस्थापन गर्ने, आम्दानीका विभिन्न उपायको खोजी गर्ने, वित्तीय सेवाप्रदायकहरूसम्म पुगेर तिनले दिन सक्ने सेवा र आफ्नो आवश्यकताको विचार गरी उपयुक्त सेवाप्रदायक छनोट गर्ने, ऋणको उपयोग र व्यवस्थापन गर्नेजस्ता ज्ञान र सीपबाट विपन्न वर्गले आफ्नो जीवनस्तर माथि उठाउन सक्छन् । वित्तीय साक्षरताको महत्वलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ । जस्तै— मानिसलाई आफ्नो पैसा वा सम्पत्ति राम्रोसँग परिचालन गर्ने ज्ञान, सीप सिकाउँछ, आफ्नो जीवनकालमा गर्नुपर्ने खर्चको योजना गर्न सिकाउँछ, बचत गर्न, ऋणको उपयोग गर्न र कुनै व्यवसाय गरी आम्दानी बढाउन सिकाउँछ, वित्तीय सेवासम्बन्धी आवश्यक सूचना प्रदान गरी मानिसहरूलाई उपयुक्त सेवा छनोट गर्ने क्षमता प्रदान गर्छ र गलत सेवाप्रदायकको छनोटबाट हुन सक्ने हानि–नोक्सानीबाट बचाउँछ, वित्तीय सेवाप्रदायकहरूलाई सेवा विस्तार गर्ने अवसर दिन्छ, सेवाहरूको गुणस्तर विकास गर्न सचेत गर्छ आदि ।

नेपालमा वित्तीय साक्षरता आज सबै स्तरका मानिसहरूलाई अत्यन्त आवश्यक देखिएको छ । उच्च शिक्षा हासिल गरेका ठूला ओहदाका मानिसमा समेत कतिपय वित्तीय कारोबारको पूर्ण ज्ञान नभएको स्थिति छ । उपयुक्त वित्तीय शिक्षाको अभावमा उचित निर्णय लिन नसक्दा गम्भीर आर्थिक दुर्घटना हुन गई ठूलो वित्तीय क्षतिसमेत बेहोर्नुपर्ने र समाजमा नकारात्मक असर पर्ने अवस्था पनि देखिएको छ । यद्यपि मानिसको उमेर समूह, शैक्षिक योग्यता, आर्थिक अवस्था आदिका कारण विभिन्न वर्गका मानिसहरूका लागि फरक–फरक प्रकृतिको वित्तीय शिक्षा आवश्यक रहेको अवस्था छ ।

हुन त नेपालमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका र तालिम पुस्तिकाहरू प्रकाशन भएका छन् । तर, फरक–फरक समूहका लागि लागि फरक–फरक प्रकृतिको वित्तीय साक्षरता कार्यक्रमको खाँचो छ । जस्तै— अशिक्षित-अर्धशिक्षित ग्रामीण परिवेशका किसान-कृषि श्रमिक-न्यून आय भएका अन्य श्रमिक यो समूहलाई आम्दानी, खर्च र बचतका आधारभूत पक्षदेखि नै सिकाउनुपर्ने देखिन्छ । अर्थात् आधारभूत स्तरको वित्तीय साक्षरता आवश्यक छ । रेडियो, टिलिभिजनबाट चलाइने वित्तीय साक्षरताका कार्यक्रमले यिनलाई खासै प्रभाव पार्दैन । त्यस्तै वैदेशिक रोजगारीका आप्रवासी र तिनका परिवारका लागि बचत, लगानी र वित्तीय योजनाबारे विस्तृत चेतना अभिवृद्धि गरिनु जरुरी छ । यो र अन्य समूहलाई उच्च स्तरको वित्तीय साक्षरता आवश्यक छ ।

वित्तीय साक्षरता समुदायका प्रौढ, युवा तथा बालबालिका सबै उमेरका मानिसका लागि आवश्यक छ । परिवारको आम्दानी–खर्चको व्यवस्थापन र आकस्मिक रूपमा परिवारमा आइपर्न सक्ने समस्याको समाधान गर्न यसले प्रौढहरूलाई सघाउँछ । आफ्नो परिवारको आम्दानी–खर्चका बारेमा थाहा पाउन, भविष्यमा आफ्ना चाहना र आवश्यकताहरू पूरा गर्न बेलैदेखि बचत गर्दै जाने र ऐच्छिक एवम् अनावश्यक खर्च घटाउन यसले युवा तथा बालबालिकाहरूलाई सहयोग गर्छ । वित्तीय साक्षरताले घर–परिवारको वित्तीय व्यवस्थापन कार्यमा महिलाहरूलाई सघाउँछ । वित्तीय साक्षरताका प्रसिद्ध लेखक रोबर्ट टी. कियोसाकी भन्छन्, ‘विद्यार्थीलाई वित्तीय साक्षरता शिक्षा नदिनु शैक्षिक प्रणालीकै कमजोरी हो ।’ त्यसैले वित्तीय साक्षरतालाई औपचारिक पाठ्यक्रममै समावेश गर्नु नितान्त जरुरी छ ।

वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न वित्तीय साक्षरताको महत्व रहन्छ । वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउँदै वित्तीय प्रणालीप्रति अभ्यस्त बनाई धेरै नागरिकको पहुँच औपचारिक वित्तीय प्रणालीमा पुर्याउने उद्देश्यका साथ वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ ।

आमजनता वित्तीय रूपले जति धेरै साक्षर हुन्छन्, त्यति नै धेरै बैंकिङ सेवाबाट लाभान्वित हुन सक्छन् । वित्तीय सेवाको मागका पक्षमा अर्थपूर्ण सुधार ल्याउन नेपालमा पनि वित्तीय साक्षरता कार्यक्रम विस्तार अपरिहार्य र महत्वपूर्ण रहेको छ । नेपालमा वित्तीय साक्षरता सबै स्तरका मानिसलाई अत्यन्त आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्