Logo

एयरपोर्ट सञ्चालनको माग गर्दै जनप्रतिनिधि काठमाडौंमा

दाङ– तुलसीपुरमा रहेको एयरपोर्ट विस्तार तथा नियमित सञ्चालन गर्ने माग गर्दै जिल्लाको एक टोली काठमाडौं पुगेको छ । काठमाडौं पुगेको जनप्रतिनिधि तथा निजी क्षेत्रका अगुवासहितको टोलीले मन्त्री तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा राजनीतिक नेतृत्वसँग भेटघाट तथा छलफल गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटघाट गरेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन् । मन्त्रीहरूसँग तुलसीपुरमा रहेको एयरपोर्ट विस्तार तथा नियमित सञ्चालनका बारेमा छलफल गरिएको उनले बताइन् । ‘हामीसँगको भेटमा मन्त्रीहरू सकारात्मक हुनुहुन्छ,’ उनले भनिन्, ‘यसका लागि हामी हाम्रो क्षेत्रबाट सहयोग गर्दछौं भन्नुभएको छ ।’

एयरपोर्टको धावनमार्ग विस्तारका गर्दा प्राविधिक समस्या नभएमा आफूहरूबाट सहयोग रहने बताएको उपप्रमुख चौधरीले बताइन् । मन्त्रीहरूलाई एकै स्थानमा राखेर एयरपोर्टका बारेमा जानकारी गराउने समेत उनको भनाइ छ । ‘सबैलाई एकै स्थानमा राखेर एयरपोर्टको बारेमा जानकारी गराउने र डीपीआरसमेत बुझाउने तयारी गरिएको छ,’ उपप्रमुख चौधरीले भनिन् । छलफलमा इन्जिनियरको सहभागिता गराएर प्राविधिक अवस्थाको बारेमा जानकारी दिइने उनले बताइन् ।

यसले गर्दा मन्त्रीहरूलाई बुझाउन सजिलो हुने उनको भनाइ छ । सबैको सहयोग भएमा तत्काल ठेक्का आह्वान गरेर दुई वर्षभित्र काम गर्न सकिने उनको भनाइ छ । ‘सबैको सहयोग भएर काम सुरु भएमा दुई वर्षमा सञ्चालन गर्न सकिने छ,’ उनले भनिन् । उपप्रमुख चौधरीले तुलसीपुर एयरपोर्ट सञ्चालनका लागि आफू निरन्तर लागिपरेको बताइन् । आफू निर्वाचित भएदेखि नै आफ्नो पालिकामा रहेको एयरपोर्ट विस्तार र नियमित सञ्चालनका लागि अगाडि बढेको बताइन् ।

‘मैले धेरै पटक आफ्नो व्यक्तिगत खर्चमा समेत डीपीआर बनाउने काम गरें,’ उनले भनिन्, ‘पैसा धेरै खर्च भइसकेको छ काम हुन सकेको छैन तर पनि भेटघाट छलफललाई निरन्तरता दिँदै आएकी छु ।’ सबै एकताबद्ध हुन नसक्दा पुरानो एयरपोर्ट सञ्चालनमा समस्या रहेको उनको भनाइ छ । ‘सबै क्षेत्र एक भएमा एयरपोर्ट सञ्चालनमा ल्याउन सकिन्छ,’ उपप्रमुख चौधरीले भनिन् । जिल्लामा एयरपोर्ट नहुँदा बाहिरी जिल्ला गएर जहाज चढ्नसमेत लाज लाग्ने गरेको उनी बताउँछिन् ।

इन्जिनियर प्रा.डा. गोविन्दप्रसाद लामिछानेले तुलसीपुरमा रहेको एयरपोर्ट विस्तार गर्न प्राविधिक रूपमा कुनै समस्या नरहेको बताउँछन् । आफूले गरेको अध्ययन अनुसार कुनै समस्या नदेखिएको उनको भनाइ छ । एयरपोर्ट निर्माणका लागि इच्छाशक्ति आवश्यक रहेको उनको भनाइ छ । ‘इच्छाशक्ति भएमा एयरपोर्ट विस्तार सञ्चालनमा कुनै समस्या छैन,’ लामिछानेले भने । प्राविधिक रूपमा काम गर्नका लागि आफू तयार रहेकोसमेत उनले बताए । सबै एकबद्ध भई अगाडि बढ्न उनले आग्रह गरे । जिल्लाका सरोकारवाला एकताबद्ध भएर लागेमा आफू सहयोग गर्न तयार रहेको उनी बताउँछन् ।

भूगोलविद् प्रकाशचन्द्र घिमिरेले एयरपोर्टका लागि भौगोलिक हिसाबले समस्या नभएको बताउँछन् । एयरपोर्ट सञ्चालनका लागि सबै मिलेर दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ छ । ‘जिल्लामा नियमित रूपमा एयरपोर्ट सञ्चालन गर्ने सबैको दायित्व हो । म आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न तयार छु,’ उनले भने । वि.सं २०११ मा टरीगाउँ एयरपोर्ट स्थल सञ्चालनमा आएको हो । पुरानो एयरपोर्ट भए पनि कहिले सञ्चालन हुने कहिले बन्द हुने गर्दै आएको छ ।

एयरपोर्टको विकासमा लागि राजनीतिक दलले हरेक निर्वाचनमा चुनावी एजेण्डा गराउँदै आएका छन् । तर यसको विस्तार तथा नियमित रूपमा सञ्चालनका लागि पहल हुनसकेको छैन । निजी क्षेत्रको पहलमा पटकपटक सञ्चालनमा आउने र बन्द हुने भइरहेको छ । निजी क्षेत्रले एयरपोर्ट सञ्चालनका लागि दबाब दिनका लागि धावनमार्ग विस्तारका लागि खुक्रुके अभियानसमेत सञ्चालन गरेका थिए भने जिल्लामा रहेका सामाजिक संघ संस्थाले दबाब दिनका लागि एयरपोर्टमा नै गएर बैठक बस्ने ध्यानाकर्षण गराउने कार्य गर्दै आएका छन् ।

जिल्लामा एयरपोर्ट नियमित सञ्चालन नहुँदा जिल्लाको विकासमा समेत असर पुगेको निजी क्षेत्रका अगुवा बताउँछन् । नियमित हवाइ सेवा भएमा जिल्लाको विकासमा धेरै ठूलो सहयोग पुग्ने स्थानीय नागरिक बताउँछन् । सहज रूपमा जिल्लामा आउने वातावरण नहुँदा लगानीकर्तासमेत यहाँसम्म नआउने गरेको उनीहरूको भनाइ छ । जिल्लामा हवाइसेवा नहुँदा नेपालगन्ज तथा भैरहवा गएर हवाइ सेवा लिनुपर्ने बाध्यता छ । यसले नागरिकलाई समयसँगै आर्थिक रूपमासमेत बढी खर्च हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्