औद्योगिक क्षेत्रको डीपीआर अगाडि बढाइने «
Logo

औद्योगिक क्षेत्रको डीपीआर अगाडि बढाइने

दाङ– घोराहीमा घोषणा भएको लक्ष्मीपुर औद्योगिक क्षेत्रको डीपीआरको काम अगाडि बढने भएको छ । औद्योगिक क्षेत्रको निरीक्षण गर्न दाङ आएका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले औद्योगिक क्षेत्रको काम अगाडि बढाउन डीपीआरको काम गरिने बताए । ‘डीपीआरको काम अबको महिना दिनमा सुरु हुन्छ,’ अध्यक्ष पन्तले भने ।

डीपीआरका लागि बजेटको कुनै समस्या नरहेको समेत उनले दाबी गरे । संरचना निर्माणका लागि काम केही समय लागे पनि अरु काम अगाडि बढने उनले बताए । डीपीआर गरेपछि थप प्रक्रियाको काम अगाडि बढने उनको भनाइ छ । ‘डीपीआर बनाएपछि के कति बजेट आवश्यक पर्दछ भनेर जानकारी हुने र त्यसैअनुसार अगाडि बढ्न सहज हुन्छ,’ उनले भने ।

राज्यले मात्र लगानी गरेर काम गर्दा ढिला हुने भएकाले प्राइभेट क्षेत्रको सहकार्यमा अगाडि बढाउनु पर्ने उनको भनाइ छ । ‘राज्यबाट आउने बजेट थोरै हुँदा काम गर्नसमेत ढिला हुन्छ प्राइभेट क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्दा काम छिटो हुने छ,’ अध्यक्ष पन्तले भने । यसरी अगाडि बढन सकिएमा काम गर्नसमेत सहज हुने उनको भनाइ छ ।

विदेशमा प्राइभेट क्षेत्रको सहकार्यमा नै पूर्वाधार विकासको काम गर्ने गरेको र त्यो सफलसमेत रहेको बताए । आफू अध्यक्षमा नियुक्त भएदेखि नै औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि अगाडि बढेको बताए । ‘समस्या भएको स्थानमा फिल्डमा पुगेर समाधान गरेर अगाडि बढिरहेको छु,’ अध्यक्ष पन्तले भने । दाङको औद्योगिक क्षेत्रमा कुनै पनि विवाद नभएको समेत बताए ।

औद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउन आफूहरू झक्झकाइ रहनसमेत उनले आग्रह गरे । यस क्षेत्रमा कृषि तथा जडिबुटीको संभावना रहेको समेत बताए । औद्योगिक क्षेत्रबाट उत्पादन भएको वस्तु बिक्री गर्नका लागि बजार सहज भएको उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको उपलब्धता, भन्सारसमेत रहेकाले औद्यौगिक क्षेत्रका लागि सहज हुने उनको भनाइ छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीले बजेट अभावका कारण काम अगाडि बढ्न नसकेको बताए । संघले पटकपटक पहल गरे पनि बजेटको व्यवस्था नहुँदा काम अगाडि बढ्न नसकेको उनको भनाइ छ । संघका अध्यक्ष वसन्त जोशीले औद्योगिक क्षेत्र स्थापनाका लागि संघले पहल गदै आएको र यसलाई निरन्तरता दिने बताए । सबै क्षेत्रको सहयोगले घोषणा गरिसकेको र आउँदा दिनमा पनि सहयोग पाउने बताए ।

उनले कोइलावास नाका पूर्णरूपमा सञ्चालनमा ल्याउनका लागि प्रयास भइरहेको बताए । नाका पूर्णरूपमा सञ्चालन भएमा उत्पादनको बजारीकरणमा सहजता हुने उनको भनाइ छ । संघका पूर्वअध्यक्ष माधवप्रसाद शर्माले लामो समयदेखि उद्योग वाणिज्य संघले उठाउँदै आएको औद्योगिक क्षेत्रको काम अगाडि बढ्न नसक्नु दु:खद कुरा रहेको बताए । औद्योगिक क्षेत्रको काम अगाडि बढाउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

संघका पूर्वअध्यक्ष मधुसूदन वैद्यले सबै क्षेत्रको सहयोग हुँदा पनि औद्योगिक क्षेत्रको काम अगाडि नबढेको बताए । औद्योगिक क्षेत्रको काम अगाडि बढाउन आवश्यक रहेको उनको भनाइ छ । घोषणा भएको लामो समय भए पनि औद्योगिक क्षेत्रमा निर्माण कार्य सुस्त गतिमा छ । औद्योगिक क्षेत्रका लागि सरकारले बजेट उपलब्ध नगराउँदा औद्योगिक क्षेत्रमा काम अगाडि बढ्न सकेको छैन । सरकारले औद्योगिक क्षेत्र घोषणा गरे पनि बजेट भने दिएको छैन ।

२०७७ माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले दाङमा औद्योगिक क्षेत्र घोषणा गरेको थियो । ५४९ बिघा क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरिएको हो । साबिक राप्तीको आवश्यकता.अनुसार लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले पहल गर्दै आएको छ । उक्त क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि संघले २०७१ सालदेखि पहल गरेको थियो ।

औद्योगिक क्षेको केही समयअघि स्थानीय बासिन्दासहित दाङ जिल्ला उद्योग वाणिज्य संघ, वडा नं. ३ का वडाध्यक्ष तथा घोराही उप महानगरपालिकाका प्राविधिक टोलीले जग्गा नापेको हो । बस्ती बाहेकको जग्गा नापिएको थियो । जग्गा नापेर प्रतिवेदन तयार गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइएको थियो । औद्योगिक क्षेत्रलाई अगाडि बढाउन आफूहरूको सहयोग रहने स्थानीय बासिन्दाको छ ।

औद्योगिक क्षेत्र बनाउँदा बस्ती नउठाउने गरी काम गर्नुपर्ने उनीहरूको भनाइ छ । लामो समयको प्रयासपछि सरकारले औद्योगिक क्षेत्र घोषणा गरेको थियो । औद्योगिक क्षेत्र घोषणा भए उद्योग स्थापनासँगै जिल्लावासीले रोजगारीको अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ । रोजगारीका लागि विदेशिने युवाको संख्यामा समेत कमी आउने आशा छ । रोजगारीका लागि जिल्लाबाट लाखौं युवा विदेशिने गरेका छन् । उद्योग स्थापना भएपछि जिल्लाको राजस्वमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

अहिले घोषणा गरिएको औद्योगिक क्षेत्रमा कुनै विवाद नभएकाले संघले औद्योगिक क्षेत्रका लागि पहल गर्दै आएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । सबैको सहयोगले गर्दा विवादरहित तरिकाले घोषणा गर्न सकिएको उद्योग वाणिज्य संघले जनाएको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि यस क्षेत्रका राजनीतिक दल, सरकारी निकाय, व्यवसायी तथा सरोकारवाला मिलेर अगाडि बढिरहेको संघको भनाइ छ ।

घोराही उपमहानगरपालिकाले नगर सभाबाट नै उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरिसकेको छ । संघले २०५८ सालदेखि नै जिल्लामा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्दै आएको थियो । सुरुमा करौतीडाँडामा ८६ बिघामा औद्योगिक क्षेत्र बनाउन पहल थालिएको थियो । औद्योगिक क्षेत्रका लागि जग्गा कम हुने भएपछि उक्त क्षेत्र घोराही उपमहानगरपालिका लागि ल्यान्डफिल साइटको रूपमा प्रयोग गर्न दिएर जग्गा खोजी गरिएको थियो ।

सरोकावारवालासँगको समन्वयमा जग्गा खोज्ने क्रममा घोराहीका तीन वडामा औद्योगिक क्षेत्रका लागि जग्गा छनोट गरिएको थियो । अहिले घोषणा गरिएको औद्योगिक क्षेत्रमा मानव बस्ती न्यून रहेको, सहरी क्षेत्रबाट टाढा, वन क्षेत्र भए पनि न्यून रुख बिरुवा रहेको, पानीको सुविधा, सहज रूपमा सडक, विद्युत सहज रूपमा पुर्‍याउन सकिने, उत्पादन भएका वस्तु निकासी गर्नसमेत सहज हुने भएकाले औद्योगिक क्षेत्रका लागि उपयुक्त रहेको बताइएको छ ।

औद्योगिक क्षेत्र भएपछि उद्योग स्थापनाको लागि आफूले जग्गा किनेर उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता हट्ने छ । जसले गर्दा उद्योग स्थापना गर्नका लागि समेत सहज हुने अपेक्षा गरिएको छ । उद्योग स्थापना भएपछि जिल्लामा उत्पादनसमेत वृद्धि हुनेछ । औद्योगिक क्षेत्र घोषणा सँगै जिल्लामा स्वदेशी तथा विदेशी लगानीकर्ता भित्रिने अपेक्षासमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्