Logo

चार वर्षदेखि चन्दाबाट अस्थायी मोटरेबल पुल

लमजुङ– लमजुङको मस्र्याङदी गाउँपालिका–५ घेर्मुमा सवारी साधन पुर्‍याउन स्थानीयले पुन: अस्थायी मोटरेबल पुल निर्माण सुरु गरेका छन् । साविक वर्षझैं स्थानीयले चन्दा संकलन गरेर अस्थायी मोटरेबल पुल निर्माण सुरु गरेका हुन् ।

घेर्मुमा विगत चार वर्षदेखि स्थानीय आफैंले चन्दा संकलन गरी काठको अस्थायी मोटरेबल पुल निर्माण गर्दै आएका छन् । स्थानीयले रकम संकलन गरी निर्माण गरेको अस्थायी मोटरेबल पुल पाँच महिनासम्म प्रयोगमा ल्याउने गरेका छन् । अस्थायी मोटरेबल पुल निर्माणका लागि मस्र्याङ्दी–५ बाट गत वर्षजस्तै दुई लाख रुपैयाँ विनियोजन भएको छ ।

यस वर्ष पुल निर्माणका लागि मस्र्याङ्दी गाउँपालिकाले पनि तीन लाख रुपैयाँ सहयोग गरेको मस्र्याङदी–५, घेर्मुका वडाध्यक्ष घनश्याम घलेले बताए । पुल निर्माणका लागि पर्याप्त रकम नभएकाले स्थानीयले श्रमदानसँगै आवश्यकता अनुसार देश विदेशबाट चन्दा संकलन गरिने वडाध्यक्ष गुरुङको भनाइ छ । चार वर्षअघि स्थानीयले रकम संकलन गरी अस्थायी मोटरेबल पुल निर्माण गरी घेर्मुमा पहिलो पटक मोटर पुर्‍याएका थिए ।

पहिलो वर्ष बाँकी रहेको रकमबाट स्थानीयले दोस्रो वर्ष पनि पुल निर्माण गरी हिउँदको समयमा यातायात सञ्चालन गरेका थिए । तेस्रो वर्ष पनि स्थानीयले पुन: चन्दा संकलन गरेर मोटरेबल पुल बनाएका थिए । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने साविक घेर्मु दशकौँ अघिदेखि बाह्य पर्यटकको आगमन हुने क्षेत्र भए पनि मोटरेबल पुल नहुँदा स्थानीय यातायातको सेवा सुविधाबाट वञ्चित छन् ।

मस्र्याङ्दी गाउँपालिका–४ ताघ्रिङ र वडा नं. ५ घेर्मु जोड्ने मस्र्याङ्दी नदीमा विगतका वर्षदेखि नै पक्की पुल बन्ने आश्वासन पाए पनि नदीमा मोटरेबल पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीयले अस्थायी मोटरेबल पुल निर्माण गर्दै आएका छन् । स्थानीयले निर्माण गरेको काठको अस्थायी मोटरेबल पुल मस्र्याङ्दी नदीको बहाव नबढेसम्म प्रयोग गर्ने गरेका छन् ।

प्राय: जेठसम्म नदीको बहाव कम हुने भएकाले कम्तीमा पाँच महिनाका लागि उक्त अस्थायी पुल प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ । नदीमा स्थायीरूपमा पक्की पुल नबनेसम्म स्थानीयले अस्थायी पुल निमार्णलाई निरन्तरता दिने जनाएका छन् । अस्थायी पुल निर्माण भएपछि घेर्मुअन्तर्गत तल्लो चिप्ला, छिचु, निउरी, संजापु खानिगाउँका स्थानीयसमेत लाभान्वित हुने गरेका छन् । हिउँदमा मात्रै भए पनि स्थानीयलाई यातायात तथा ढुवानीमा सहज हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्