हकप्रद सेयरको आवेदन पनि आस्बा

नेपाल धितोपत्र बोर्डले हकप्रद सेयरको आवेदन पनि एप्लिकेसन सोर्पोटेड बाइ ब्लक्ड अमाउन्ट(आस्बा) मार्फत दिन सकिने बनाएको छ । बोर्डले हकप्रद सेयर मात्र नभई लिलाम प्रक्रियामा उपत्यकाभन्दा बाहिरबाट पनि आवेदन दिन सक्ने व्यवस्था गर्ने मर्चेन्ट बैंकरलाई निर्देशन दिएको छ ।
बोर्डले बजारसँग सम्बन्ध पक्षहरूलाई धितोपत्रको हकप्रद निष्कासन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन धितोपत्रको हकप्रद निष्कासनमा आस्बा प्रणालीमार्फत समेत आवेदन गर्न सक्ने व्यवस्था गर्ने बोर्डले निर्देशन दिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, सम्पूर्ण धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बंैकर तथा आस्बा सदस्यहरूलाई बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिरको प्रमुख केन्द्रहरू कम्तीमा विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत तथा धनगढीबाट आवेदन दिन सक्ने व्यवस्था गर्नेसमेत निर्देशन दिएको छ ।
बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, धितोपत्र दलाल व्यवसायीले बोर्डमा पेस गर्नुपर्ने त्रैमासिक प्रतिवेदनमध्ये प्रत्येक दोस्रो तथा चौथो त्रैमासिक प्रतिवेदनसँग र धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) ले पेश गर्नुपर्ने अर्धवार्षिक प्रतिवेदनसँग लेखापरीक्षकबाट प्रमाणित नियमपालना प्रतिवेदनसमेत बोर्डमा पेस गर्ने व्यवस्था गरेको छ ।