पुम्दीभुम्दीमा एक घर एक धारा «

पुम्दीभुम्दीमा एक घर एक धारा

पोखरा महानगरपालिका २२ (पुम्दी—भुम्दी) मा एक करोड ३७ लाख १९ हजार ४ सय ५६ रुपैयाँको लगानीमा हालसम्म १ हजार ४ सय ८७ वटा घरमा एक घर एक धारा जडान गरिएको छ ।
पुम्दी भुम्दीमा २ हजार १ सय ९६ घर परिवार मध्ये हालसम्म ६८ प्रतिशतको घर घरमा पिउने पानीको धारा जडान गरिएको पुम्दी भुम्दी खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष राजबहादुर गुरुङले बताए । पोखरा २२ मा ७ सय ९ अर्थात ३२ प्रतिशत घर धुरीमा पिउने पानीको धारा जडान गर्ने कार्य बाँकी रहेको उनले जनाए । उनका अनुसार ९ सय ६० घर मा मिटरसहितको धारा जडान गरिएको छ । उक्त अभियान सफल पार्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, पोेखरा महानगरपालिका, उपभोक्ताहरु लगायतबाट उक्त रकम संकलन भएको कोषाध्यक्ष कल्पना बरालले बताइन् ।
बाँकी घरमा एक घर एक धारा जडान गर्न करिब ५ करोड बजेटको आवश्यकता भएको प्राविधिक खडानन्द बरालले बताए । उनका अनुसार ठूलढुंगा खानेपानी योजनामा ३ सय ५ घरमा एक घर एक धारा जडान गर्न बाँकी रहेको छ । एक करोड ५० लाख बजेट आवश्यक भएको संघीय खानेपानीका पूर्व प्राविधिक समेत रहेका बरालले बताए ।
पाउँदुर खाल्टा, महभिर खाल्से चिसापानी दोवाटे, खाँल्टेडाँडा, सिमलटारी, साइस्वरा, अनदु, सिम्ले, लामडाँडा, वाहुनडाँडा, फिलिङघारी लगायतका क्षेत्रमा ४ सय ४ घर धुरी रहेको जहाँ एक घर एक धारा जडानको काम बाँकी रहेको प्राविधिक बरालले बताए । पोखरा २२ मा घर घरमा धारा जडान भएसँगै शुद्ध पिउने पानीको व्यवस्था मिलाउन करिब १० करोड रुपैयाँ आवश्यक पर्ने बताए ।
साविक पुम्दी भुम्दी एकमा बस्ती बढ्दै जाँदा पानी अभावमा उपभोक्ताहरुले आलोपालो गरी पानीको प्रयोग गर्ने गरेको सचिव नवराज बरालले बताए । पोखरा २२ मा करिब २ हजार २५ वटा मात्र घर भए पनि केही व्यवसायिक प्रयोजनको लागि, केही कृषि फार्मको लागि दुई÷तीन वटासम्म धारा जडान गरेकोले गर्दा घर धुरी भन्दा बढी धारा जडान गरिएको सचिव बरालले जनाए । २०७२ देखि पोखरा २२ मा एक घर एक धाराको अभियान शुरु भएको हो ।
यसैबीच, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले आगामी दुई वर्षमा प्रदेशका सबै जनतालाई पिउने पानीको सुविधा दिने गरी अघि बढेकोे बताए । उनले भने ‘प्रदेश सरकारले अब एक वर्षपछि सबैको घर घरमा धारा जडान भएसँगै शुद्ध पिउने पानीको समेत व्यवस्था मिलाउनेछौं ।’ प्रदेशमा सांसदद्वय रामजी बराल (जीवन) र राजिव पहारीले घर घरमा धारा जडान गरेसँगै शुद्व पिउने पानीको व्यवस्था मिलाउन तर्फ आफूहरुले सहयोग गर्ने वचन दिएका छन् ।
यसैबीच, पुम्दी भुम्दीमा एक घर एक धारा जडान अभियानमा शुरुदेखि हालसम्म महत्वपूर्ण सहयोग पु-याएको भन्दै प्राविधिक खडानन्द बराल र इन्जिनियर शिवहरि आचार्यलाई सम्मान गरिएको सचिव नवराज बरालले बताए । उनीहरुलाई सम्मान पत्रको साथमा दोसला र फूलमालाले मन्त्री बस्नेतले सम्मान गरेका हुन् । उनीहरु दुवै जना नेपाल सरकार निजामती सेवाबाट निवृत्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्