Logo

भिरकोटका ३५० घरधुरीमा बत्ती बल्दै

तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित रिसिङ गाउँपालिका–४ भिरकोटमा विद्युतीकरणका लागि काम शुरु भएको छ । टुकीको भरमा बस्न बाध्य स्थानीयवासीको घर उज्यालो बनाउन गाउँपालिकाले पोल गाड्न र तार विस्तारका लागि काम शुरु गरेको हो ।तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित रिसिङ गाउँपालिका–४ भिरकोटमा विद्युतीकरणका लागि काम शुरु भएको छ । टुकीको भरमा बस्न बाध्य स्थानीयवासीको घर उज्यालो बनाउन गाउँपालिकाले पोल गाड्न र तार विस्तारका लागि काम शुरु गरेको हो ।वडाको पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे, डिहीगाउँका करीब ३५० घरधुरीमा विद्युत विस्तारका लागि काम भइरहेको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए ।
वडाध्यक्ष रानाभाटका अनुसार पोल गाडेर तार विस्तार भएपछि ट्रान्सफर्मर र मिटर जडान गरिनेछ । विद्युतीकरणका लागि गाउँपालिकाले गत आर्थिक वर्ष २०७५-०७६ मा ४० लाख र चालू आर्थिक वर्ष ०७६-०७७ का लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ८० लाख रुपैयाँको लगानीमा दशैँ अगाडि नै बत्ती बाल्ने गरी काम शुरु गरिएको रानाभाटले जानकारी दिए । ‘दशैँ अगाडि नै झिलीमिली गाउँ बनाउने गरी कामलाई तीव्रता दिएका छौँ,’ उनले भने, ‘पोल गाडेर तार विस्तार गर्ने बित्तिकै ट्रान्सफर्मर जडान गरेर प्रत्येक घर–घरमा बिजुली पु-याउँछौँ ।’सिङ्गुवा, मधुवन र गुम्लेकमा पनि विद्युत विस्तारका लागि पोल गाड्ने काम भइरहेको छ । एक हजार घरधुरी रहेको उक्त वडाको नारायणटार, हाडीटार, गुम्लेकलगायत हाल काम भइरहेको सहित गरी करीब ४३० घरधुरीमा बिजुली बल्न बाँकी रहेको छ ।
वडाको सबै घरधुरीमा चालू आर्थिक वर्षभित्रै बत्ती बाल्ने योजना छ ।गुम्लेक ५२ घरधुरीमा भने केही दिनभित्रै बिजुली बाल्ने तयारी छ । उक्त ठाउँमा विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरणको ३५ लाख र गाउँपालिकाको चार लाख रुपैयाँको लगानीमा सम्पूर्ण कार्य पूरा भइसकेको छ । जिल्लाकै विकट क्षेत्रको रूपमा परिचित यस ठाउँमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै विद्युत विस्तारको कामले खुशी छाएको पालिङटारका स्थानीयवासी कृष्ण रानाभाटले बताए ।
‘अहिलेसम्म टुकी र मैनबत्तीको सहारामा बस्दै आएका छौँ,’ उनले भने, ‘अब छिट्टै बत्ती बाल्न पाउने भएका छौँ ।’ पचासी प्रतिशत घरधुरी बिजुलीको पहुँचमाहालसम्म जिल्लाका ८५ प्रतिशत घरधुरीमा बिजुली विस्तार भइसकेको छ । करीब ७८ हजार घरधुरीमध्ये १५ प्रतिशत घरधुरीमा अझै पनि बिजुली पुग्न नसकेको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रले गत वर्ष आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो ।
११ केभीको ३२, ४४० भोल्ट (३ फेज) को ५.८, ४४० भोल्ट (२ फेज) को ७.८ र २०० भोल्ट (१ फेज)को २३ किमी लाइन विस्तार गरिएको छ । बिजुली विस्तारका लागि गत वर्ष रु तीन करोड बजेट खर्च भएको थियो । बाँकी १५ प्रतिशत घरधुरीमा अबको डेढ वर्षभित्र बिजुली विस्तार गर्ने योजना रहेको वितरण केन्द्रका प्रमुख शिव गोशलीले बताए । अनुसार देवघाट गाउँपालिका, रिसिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ हजार घरधुरीमा बिजुली सुविधा पुग्न सकेको छैन ।विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा ८ एमबीएको सबस्टेशन निर्माण गरिएको छ ।
उक्त सबस्टेशनबाट आँबुखैरेनीसम्म १९ किलोमिटर दुरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत नपुगेका गाउँमा विद्युत सेवा पु-याइनेछ । साथै सोही सबस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीहरूमा बिजुली सेवा पु-याइनेछ ।  त्यसैगरी बुद्धसिंह फिडरमार्फत आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका¬–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिं मार्गका छेउछाउका बस्तीहरूमा विद्युतीकरण गरिनेछ ।
कार्यालयले आर्थिक वर्ष २०७५-०७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरेको छ । म्याग्देको मुलाबारी, ओटाङ्दी, व्यासको सुढे, बागभञ्ज्याङ, शीतलगुफा, रिसिङको नाजुङ, दुभुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, बन्दीपुरको तीनधारा जुनडाँडा, साराङघाट, ग्याजाटार, भानुको खहरे, भन्सार, आँबुखैरेनीको छापस्वाँरा र मिलनचोकमा ट्रान्सफर्मर थप भएको छ ।

प्रतिक्रिया दिनुहोस्