Logo

अर्थतन्त्रको महापर्व

नेपाली समाजमा दसैं भन्नेबित्तिकै सबैभन्दा ठूलो र रमाइलो पर्वका रूपमा बुझिन्छ । कसैले अपेक्षाभन्दा केही बढी खुसी वा ठूलो उपलब्धि हासिल गर्नुलाई पनि ‘दसैं आएको’ भनेर बुझ्ने प्रचलन छ । दसैंको महत्त्व सांस्कृतिक र सामाजिक रूपमा मात्र नभई आर्थिक रूपमा पनि उत्तिकै छ । अझ नेपाली अर्थतन्त्रको मेरुदण्ड नै बनेको छ, दसैं । दसैंमा हुने व्यापार–व्यवसायले वर्षैभरिको वासलातमा असर गर्ने भएकाले आर्थिक दृष्टिकोणले यसलाई ‘अर्थतन्त्रको महापर्व’ पनि भन्ने गरिन्छ ।

दसैंको धार्मिक, सामाजिक, सांस्कृतिक महत्त्वसँगै यो आमनेपालीको जीवनशैली बनिसकेको सहजै महसुस गर्न सकिन्छ । पछिल्ला वर्षहरूमा भने मुलुकमा दसैंको सबैभन्दा बढी महत्त्व आर्थिक क्षेत्रमा हुने गरेको छ । असोजमा मनाइने (यो वर्ष कात्तिकमा परेको) दसैंको रौनक बजारमा भने भदौतिरबाटै सुरु भइसकेको हुन्छ । यसर्थ, आम सर्वसाधारणले यो पर्व मनाउनुअघि नै व्यवसायीको ‘दसैं’ सुरु भइसकेको मान्न सकिन्छ ।

यो बेला उपभोक्ताको क्रयशक्ति उच्च हुने र उपभोक्ताको समग्र माग पूरा गर्न सक्ने आपूर्ति क्षमता पहिचान गर्दै व्यवसायीले पर्याप्त पूर्वतयारी गर्ने भएकाले यो बेला अपवाद बाहेकका वस्तु तथा सेवामा अभाव महसुससमेत गर्नु पर्दैन । माग र समग्र आपूर्ति सहज भएको अवस्थालाई अर्थतन्त्रको सिद्धान्तले आदर्श अर्थतन्त्रका रूपमा हेर्ने गरेको छ ।

‘दसैंका बेलामा कुनै कारणले समस्या उत्पन्न भयो र वस्तुहरू बिक्री हुन सकेन भने जुनसुकै व्यवसायी वर्षैभरि त्यो नोक्सानीबाट बाहिर आउन सक्दैन,’ नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ भन्छन्, ‘वर्षभरिको कमाइ गर्ने महत्त्वपूर्ण बेला यही भएकाले दसैं आसपासका समय अर्थतन्त्रमा कुनै विघ्नबाधा नआओस् भनेर व्यवसायीहरू प्रार्थना गरिरहेका हुन्छन् ।’

नेपालको अर्थतन्त्र आकारका दृष्टिले सानो त छँदै छ, सँगसँगै सिजनल पनि छ । दसैं तथा तिहारजस्ता ठूला चाडपर्वका बेला उपभोक्ताको माग अत्यधिक बढ्ने र आपूर्ति पनि सोहीअनुरूप बढ्ने हुँदा यो बेलामा सुस्त अर्थतन्त्रले पनि गति लिने र समग्र अर्थतन्त्र चलायमान हुन्छ ।

उनका अनुसार पछिल्ला वर्षहरूमा कोरोना महामारी, बैंकको चर्को ब्याजदर तथा रुस–युक्रेन युद्धजस्ता घटनाका कारण व्यावसायिक क्षेत्रमा वर्षैभरि संकट आइरहे पनि दसैंका बेला थोरै भए पनि निजी क्षेत्रले राहत महसुस गर्नेे अपेक्षा छ । नेपालको अर्थतन्त्र आकारका दृष्टिले सानो त छँदै छ, सँगसँगै सिजनल पनि छ । दसैं तथा तिहारजस्ता ठूला चाडपर्वका बेला उपभोक्ताको माग अत्यधिक बढ्ने र आपूर्ति पनि सोहीअनुरूप बढ्ने हुँदा यो बेलामा सुस्त अर्थतन्त्रले पनि गति लिने र समग्र अर्थतन्त्र चलायमान हुन्छ ।

मागले आपूर्तिलाई दबाब दिने र मागअनुरूपको आपूर्तिका लागि उत्पादनमा दबाब पर्ने हुँदा दसैंजस्ता ठूला चाडपर्वले आर्थिक गतिविधिलाई गति प्रदान गरेको हुन्छ । दसैं भत्ता, बोनस, रेमिटेन्स आदि कारणले दसैंका बेला आम्दानी बढ्ने र खर्च गर्ने क्षमतासमेत बढ्ने हुँदा मुद्रा विस्तार हुन्छ । मुद्रा विस्तारले समग्र आर्थिक गतिविधिलाई नै बढाउँछ ।

चाडपर्वका अवसरमा मुद्रा विस्तारले हुने आर्थिक गतिविधि बढी उपभोगमुखी हुने भएकाले यो बेला खाद्यान्नलगायत उपभोगका अन्य सामग्रीको बजारको आकार पनि बढ्छ । यसले गर्दा नगद परिचालन र आर्थिक गतिविधि पनि बढ्ने हुन्छ । ठूला चाडपर्वहरूमा बजारमा आउने नगदको झन्डै ६० देखि ८० प्रतिशतसम्म उपभोगमा खर्च हुने गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल वर्षैभरिका ११ महिनामा ६० प्रतिशत व्यापार हुनेमा दसैं र तिहारबीचको एक महिनाको समयमा ४० प्रतिशत व्यापार हुने बताउँछन् । यतिबेला कर्मचारीहरूको भत्ता आएको हुन्छ, विदेशबाट रेमिटेन्स पनि यसै समयमा आउँछ भने व्यापारीहरूले पनि छुट अफर दिएका हुन्छन्, जसले गर्दा आर्थिक गतिविधि बढ्ने उनको अनुभव छ । सुनसान रहेको बजार दसैं आउन लागेपछि भने भीडभाड बढ्न थालिसकेको छ ।

आम किसानले पनि आफ्ना उत्पादन बजारमा पठाउने तथा उद्योग–व्यवसायले समेत औद्योगिक उत्पादन वृद्धि गर्ने उपयुक्त मौसम भएकाले यसले राज्यको अर्थतन्त्रमा मेरुदण्डको काम दसैंले गरेको हुन्छ । ‘माग बढी भएपछि उत्पादन वृद्धिका लागि निश्चय नै चाप परेको हुन्छ,’ अध्यक्ष मल्ल भन्छन्, ‘ठूला चाडपर्वका अवसरमा उपभोक्ताको उच्च मागका कारण आपूर्तिमा दबाब पर्ने र मागबमोजिमको सहज आपूर्तिका लागि बृहत् उत्पादनमा जोड दिनुपर्ने हुँदा वस्तु तथा सेवाको उत्पादन लागतसमेत कम पर्न जान्छ ।’

मुलुकको आर्थिक क्षेत्र पनि चलायमान भइरहेको पछिल्ला दिनमा सम्पन्न नाडा अटो शो, दसैंलक्षित एक्स्पोलगायतका विभिन्न मेलामा भएका कारोबारले पुष्टि गरिसकेका छन् ।

नयाँ नोटसँगै दसैंको उमंग

दसैं भन्नेबित्तिकै नयाँ नोट सबैभन्दा पहिले अगाडि आउँछ । दक्षिणाका रूपमा नयाँ नोट दिने प्रचलन धेरै अगाडिदेखिको हो । यस वर्षको दसैंमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक–एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने जनाइएको छ । बैंक तथा वित्तीय संस्थाबाटै नोट साट्न सकिनेछ भने राष्ट्र बैंक र प्रादेशिक कार्यालयहरूबाट समेत नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकले ५० अर्ब नयाँ नोट बजारमा पठाउने तयारी गरको छ ।

यातायातमा वर्षभरिकै चाप

नेपालको सार्वजनिक यातायात यात्रुप्रति उत्तरदायी र जवाफदेही नहुँदा हरेक वर्ष दसैंमा कार्यक्षेत्रबाट गृहनगर जाने टिकट पाउनुलाई उपलब्धि मान्नुपर्ने अवस्था छ । यस्तोमा सवारीले दिनुपर्ने सेवा न त यात्रुले माग्ने अवस्था हुन्छ, न त यातायात व्यवसायीले दिन्छन् नै । यात्रुलाई मुडामै बसेर भए पनि घर जानुपर्ने अवस्था छ भने व्यवसायीले यसलाई सेवाभन्दा व्यापारको अवसरका रूपमा हेर्छन् ।

दसैंको समय भनेको आम्दानी गर्ने सबैभन्दा सुनौलो अवसर उनीहरू ठान्छन् । सार्वजनिक यातायातको क्षेत्रमा सरकारको उपस्थिति नहुँदा व्यवसायीले तेस्र्याउने अनेकौं माग पूरा गर्दैमा सरकार आजित भइसक्छ । यसैले सार्वजनिक यातायातको यात्रा दसैंमा झनै कष्टकर हुने गरेको उपभोक्ताहरूको गुनासो रहँदै आएको छ ।

वर्षभरिकै लामो बिदा

दसैंको सकारात्मक चर्चा गरिरहँदा यसबेलाको बिदाले भने मुलुकको राजनीति, प्रशासन र अर्थतन्त्रमा केही समस्या सिर्जना गर्छ । दसैंको बिदा आफैंमा लामो नभए पनि यसका लागि मानिसहरूको मनोविज्ञान पहिलेदेखि नै तयार गर्ने भएकाले औद्योगिक र व्यावसायिक क्षेत्रमा समस्या पर्ने गरेको विज्ञहरू बताउँछन् । बढी उत्पादन गर्नुपर्ने यो बेला मजदुरहरू चाँडै बिदामा जाँदा उत्पादनदेखि ढुवानीसम्ममा प्रभाव पर्ने बताउँछन् । सरकारी कर्मचारीदेखि निजी क्षेत्रमा समेत इमर्जेन्सीबाहेकका बिदा दिन मिल्ने प्रवृृत्तिका कामहरू सबै बिदा हुन्छन् ।

विद्युतीय सामग्री बढी आयात

ठूला चाडपर्वमा उपभोक्ताले खरिद गर्ने महँगामध्येका वस्तु भने आयातित हुने गरेका छन् । गाडी, मोबाइल, रेफ्रिजेरेटर, टिभीलगायतका वस्तुहरू आयातित हुने भएकाले पनि यसले मुलुकको व्यापारघाटा भने बढाउने देखिन्छ । यस्तै, खसीबोका तथा केही खाद्यान्नसमेत आयात गर्नुपर्ने अवस्था अर्थतन्त्रका लागि सकारात्मक सूचक होइनन् ।

यद्यपि, वैध माध्यमबाट खसीबोका ल्याउन भने पाइँदैन । रेमिटेन्सका कारण केही हदसम्म औसत नेपालीको क्रयशक्ति बढेकाले उनीहरूको रुचि र माग दुवै आयातित वस्तुमै केन्द्रित हुने गरेको पाइन्छ । अर्कातर्फ सीमावर्ती सहरभन्दा भारतीय भूमिहरूमा किनमेलमा जाने प्रचलनले पनि राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिन सकेको पाइँदैन । विगतमा १ सय रुपैयाँभन्दा महँगा सामानको खरिदमा अनिवार्य रूपमा संक्षिप्त बिजक जारी गर्नुपर्ने व्यवस्था रहे पनि अहिले भने त्यो कार्यान्वयनमा छैन ।

बढ्छ रेमिटेन्स

वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दसैंतिहारमा अन्य महिनाको तुलनामा धेरै रेमिटेन्स पठाउँछन् । सामान्यतया मासिक १ खर्बको हाराहारी आउने गरेको रेमिटेन्स दसैंमा भने १ खर्ब ३५ अर्बसम्म आउन सक्ने सरोकारवालाहरूले बताएका छन् । रमिटेन्सको प्रभाव उपभोग्य सामग्रीको खरिदमा देख्न सकिन्छ ।

दसैंको रौनक बढाउन व्यवसायीहरूले दसैं तथा तिहारजस्ता ठूला चाडपर्वको अवसरमा जुत्ताचप्पल, लत्ताकपडादेखि गाडीसम्मको बिक्रीमा छुट तथा उपहारको व्यवस्था गरेको पाइन्छ । यसले सबै सेवाग्राहीलाई लाभान्वित तुल्याउने कारणले चाडपर्वको अर्थतन्त्रलाई विशेष महत्त्वका रूपमा लिनुपर्ने हुन्छ । मागमा आउने वृद्धिसँगसँगै उत्पादन बढाउन दवाव हुने हुँदा अन्तत: यसले राष्ट्रिय उत्पादनको वृद्धिदरमा समेत सकारात्मक टेवा पुर्‍याई अर्थतन्त्रको सबलता र सुदृढतामा सहयोग पुर्‍याउँछ ।

२०४६ सालपछिको आर्थिक उदारीकरण नीतिले मुलुकमा गरिबी त केही हदसम्म कम गरेको छ नै, साथसाथै सहरी तथा सहरोन्मुख ग्रामीण क्षेत्रमा मध्यमवर्गीय तथा उच्च मध्यमवर्गीय परिवारको संख्या पनि उच्च दरले बढ्दै गएको छ । पेसा तथा व्यापार–व्यवसायको अनुकूल अवसरको लाभ उठाउँदै आर्थिक गतिविधिमा संलग्न यस्ता परिवारले आफ्नो आर्थिक हैसियत बढाउँदै दसैं तथा तिहारजस्ता ठूला चाडपर्वमा प्रत्येक वर्ष आफ्नो खर्च बढाउँदै लगेका छन् ।

यिनीहरूको दसैं मनाउने शैलीमा मात्र होइन, प्राय: सबैजसो चाड मनाउने शैली र खर्च गर्ने प्रवृत्तिमा समेत परिवर्तन आएको छ । यस्तो परिवर्तनले हाम्रो सामाजिक परम्परा र रीतिरिवाजमा केही नकारात्मक असर पारेको भए पनि अर्थतन्त्रमा भने सकारात्मक प्रभाव नै पारेको छ । खर्च गर्ने प्रवृत्तिले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नुका साथै पुँजी परिचालनमा समेत वृद्धि हुने हुँदा मानिसहरूको खर्च गर्ने प्रवृत्तिलाई अर्थतन्त्रमा सकारात्मक दृष्टिले हेर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्