बेनी–दरबाङ सडकमा बेलिब्रिज बनाउन अध्ययन सुरु

म्याग्दी– धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकअन्तर्गत फापरखेतको पहिरोले बर्खा याममा सिधा यातायात सेवालाई प्रभावित बनाउँदै आएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययन सुरु भएको छ ।
मंगला गाउँपालिकाको वडा नम्बर ३ पखेर लुलीयाघाट र वडा नम्बर २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथि बेलिब्रिज तथा पखेरदेखि लुलियाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माण गर्न निरिक्षण भएको छ । करिब १८ वर्षअघि सडकको मार्ग खोलिएको बेनी–दरवाङ सडकमा बर्खा याममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको नेतृत्वमा पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलसहित प्राविधिक र मंगला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर रोकालगायतको टोलीले शनिबार वैकल्पिक सडक र बेलिब्रिज निर्माणका लागि प्रस्तावित स्थानको अध्ययन गरेका थिए ।
प्रस्तावित ठाउँका जग्गाधनीको सहमति जुटाएर प्राविधिक टोलीमार्फत् विस्तृत अध्ययन गरि चालु आर्थिक वर्षभित्र नै बेलिब्रिज र सडक निर्माण गर्ने तयारी गरेको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली जानकारी दिए ।
‘१० दिनअघि पहिरो निरिक्षण गर्न आउनुभएका मुख्यमन्त्रीज्यूले चालु आर्थिक वर्षभित्रनै बेलिब्रिज बनाउने सार्वजनिक रूपमा गरेका घोषणा कार्यान्वयनका लागि मेरो नेतृत्वमा प्रारम्भिक अध्ययन भएको छ,’ उनले भने, ‘जग्गाधनीसँग सहमति जुटाउन पालिका र वडाका जनप्रतिनिधिलाई जिम्मा दिएका छौं । लगत्तै विस्तृत अध्ययन गरेर पुल निर्माण गर्छौ ।’
संघीय सरकारको सडक विभागले नबनाए पनि प्रदेश सरकारको स्रोतबाट भए पनि बेलिब्रिज बनाउने मुख्यमन्त्रीसँग छलफल भएको जुग्जालीले बताए । फापरखेतको पहिरोमा ६ करोडभन्दा बढी लगानी भए पनि सफल नभएकाले लुलियाघाट–सिम जोड्ने बेलिब्रिज बनाएर वैकल्पिक सडक सञ्चालन गर्न प्रस्ताव गरिएको मंगला गाउँपालिका–३ का वडाध्यक्ष याम रोकाले बताए ।
बेलिब्रिज निर्माणका लागि प्रस्तावित जग्गाका धनीहरू सकारात्मक रहेकाले उनीहरूसँग छिट्टै सहमति हुने उल्लेख गरे । पूर्वाधार विकास कार्यालय म्याग्दीले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेतको पहिरो मुख्य चुनौती बनेको छ । पहिरोप्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दा बित्तिकै पन्छाउने गरिएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले फापरखेतको पहिरोको भूगर्वविद्को टोलीमार्फत् अध्ययनका साथै वैकल्पिक सडक र बेलिब्रिज निर्माणको कामलाई सँगसँगै अघि बढाउन लागिएको बताए । ‘पहिरोको अध्ययन प्रतिवेदन र लाभ लागतको तुलना गरी वैकल्पिक सडक र बेलिब्रिज बनाउने तयारीमा छौ,’ उनले भने, ‘लुलियाघाट र सिमलचौर जोड्ने झोलुंगे पुलमुनि करिब ५० देखि ६० मिटर लामो बेलिब्रिज बनाउन सकिने प्रारम्भिक अध्ययन गर्दा निष्कर्ष निकालेका छौं ।’ बेलिब्रिजको लुलियाघाट नजिकैसम्म सडकको मार्ग पुगेको र सिमलचौरतर्फ करिब १०० मिटर मार्ग खोलेर स्तरोन्नति गरेर बेनी–दरवाङ सडकमा जोड्न सकिने पौडेलले बताए ।