Logo

पोखराको फेवा भ्यू पदमार्गको प्रवर्द्धन गरिने

पोखरा– पोखराको मुख्य बजार क्षेत्रबाट नजिकै रहेको पोखरा २२ को मार्की, सिम्ले, पात्लेलगायतको क्षेत्रलाई जोड्ने दुई घण्टाको राउन्ड फेवा भ्यू फेवा पदमार्गको पवर्द्धन गरिने भएको छ । ४४औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित मार्की, सिम्ले, पात्ले पदयात्रा कार्यक्रममा सहभागीहरूले पर्यटकीय दृष्टिले महत्त्वपूर्ण उक्त क्षेत्रलाई प्रवर्द्धन गर्ने बताएका हुन् ।

प्रदेश सांसद प्रकाश बरालले राउन्ड फेवा भ्यू फेवा परियोजनामा हाल प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको बताए । फेवातालको तीन तहका सरकारको समन्वय गरी ५ देखि ८० मिटरसम्म आवश्यकताका आधारका मापदण्ड कायम गरी यसको विवाद अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । उक्त पदमार्गबाट दृश्यावलोकनका दृष्टिले निकै मनमोहक फेवाताल, पोखरा, माछापुच्छे, अन्नपूर्णलगायतका हिमश्रृंखला अवलोकन गर्न सकिने उपयुक्त छोटो गन्तव्य हुन सक्ने गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले बताए ।

उपाध्यक्ष देवकोटाले राउन्ड फेवा भ्यू फेवाको प्रमोसन गर्न प्रदेश सरकारले लगानी गर्न सुरु गरेको बताउँदै यसलाई अबको पञ्चवर्षीय योजनामै समेट्ने दाबी गरे । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले नजिकको ठाउँमा भएको यस्ता पदमार्गको प्रमोशन गर्नुपर्नेमा जोड दिँदै सहज र छिटो पदमार्गमा बढी पर्यटक भित्र्याउन पर्यटन बिदाको समय यस्ता पदमार्गमा आकर्षित गर्नुपर्ने सुझाव दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले यस पदमार्गको प्रमोसन गर्न आवश्यक भएको बताए । बुधबार विश्व पर्यटन दिवसमा पर्यटक स्वागत गर्ने, बेलुका मिनी सडक महोत्सव हुने उनले जनाए । परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटन बचाउन वातावरण जोगाउनुपर्नेमा जोड दिए । ड्यामसाइडबाट पुम्दीभुम्दी हुँदै पन्चासेसम्मको लामो दूरीको पदमार्ग जोड्न उनले आग्रह गरे ।

टानका अध्यक्ष धर्मराज पन्थी पदयात्रामा सहभागीले प्लास्टिकजन्य बस्तु स्वयं आफैंले व्यवस्थापन गर्नुपर्ने बताए । टानका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले पदमार्ग विस्थापित भएको अवस्थामा छोटो दूरीका पदमार्गको प्रमोसन गर्न आवश्यक भएको बताए । सो क्षेत्र प्राकृतिक रूपमा मनोरम दृश्यावलोकनको उत्कृष्ट गन्तव्य हुने उनले बताए । मंगलबार आफ्नो गाउँमा पदमार्ग प्रमोसन गर्न भन्दै आएको टोलीलाई स्थानीय मार्गदर्शक आमा समूह, संसारीमाई आमा समूहले मार्कीमा फूलमालाले स्वागत गरेको थियो ।

राउन्ड फेवा, भ्यू फेवा दुईदेखि तीन घण्टाको छोटो दूरीको उक्त पदमार्गमा लगानी गरी पदमार्गका पर्यटकहरूको आगमनमा वृद्धि गर्न सके आफूहरूले पर्यटनबाट आर्थिक लाभ लिन सक्ने स्थानीय देवीलाल लामिछानेले विश्वास व्यक्त गरे । पदयात्रामा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, प्रदेश नीति योजना आयोगका उपाध्यक्ष देवकोटा, मुख्यमन्त्री तथा मत्रिपरिषद् कार्यालयका सचिव विनोद कुँवर, आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुप्रसाद शर्मा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्