अरिहन्त सम्मानित

गोल्छा अर्गनाइजेसनअन्तर्गतको अरिहन्त कमर्सियल प्रालि थाइल्यान्डमा सम्मानित भएको छ ।
सन् २०१७ मा सबैभन्दा बढी ट्र्याक्टर बिक्री गर्ने कम्पनीका रूपमा अरिहन्त सम्मानित भएको हो । इटालियन ट्र्याक्टर निर्माता कम्पनी एसडीएफको थाइल्यान्डमा सम्पन्न सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक मार्सेलो पर्सेनीले कम्पनीका प्रतिनिधि धर्मेन्द्र दुगडमार्फत अरिहन्तलाई सम्मान गरेका हुन् । अरिहन्तले विश्वकै पहिलो डिजेल इन्जिन निर्माता इटालियन कम्पनी एसडीएफका सामे ब्रान्डका ट्र्याक्टर विगत १० महिनादेखि नेपालभरि बिक्री आइरहेको छ ।
सामे ब्रान्डका फोर ह्विल ट्र्याक्टरमा ८ देखि १० मेट्रिक टनसम्म मालसामान राखेर पहाडी मार्गमा सजिलै ढुवानी गर्न सकिने अरिहन्तका सञ्चालक राजकुमार गोल्छाले बताए । उनका अनुसार पहाड र तराईका लागि बेग्लाबेग्लै ट्र्याक्टर उपलब्ध छ । अन्य ट्र्याक्टरका तुलनामा डिजल पनि कम खपत हुने उनको भनाइ थियो । “बिक्री सुरु गरेको छोटै अवधिमा ग्राहकबाट पाएको मायाका कारण हामी निकै उत्साहित छौं,” उनले भने, “अझ उत्पादक कम्पनीबाटै सम्मानित हुँदा खुसीको सीमा छैन ।”
अरिहन्तले विराटनगरको कञ्चनबारीस्थित शोरुमलगायत नेपालभरिका ९ अञ्चलका १० शाखाबाट ३५ देखि ८० एचपीसम्मका ट्याक्टर बिक्रीका लागि राखेको अर्का सञ्चालक सोम अधिकारीले जनाए । अधिकारीका अनुसार सामे सन् २०१६ मा संसारका सबै ट्र्याक्टर कम्पनीमध्ये गुणस्तरीय र विशेषताका आधारमा सर्वोत्कृष्ट ट्याक्टरको अवार्ड विजेता ब्रान्ड हो । खेत जोत्ने र मालसामान ढुवानीका लागिसमेत सामे ब्रान्डका ट्र्याक्टर चर्चित रहेको उनी बताउँछन् । थाइल्यान्डमा पाएको सम्मानले बजार विस्तार गर्न थप उत्साह पलाएको उनले बताए ।