नदीजन्य पदार्थ उत्खनन् संकलन र ढुवानीमा रोक «

नदीजन्य पदार्थ उत्खनन् संकलन र ढुवानीमा रोक

फाइल तस्बिर ।

बिर्तामोड– स्थानीय तहको लापरबाहीका कारण झापामा नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ढुवानीमा रोक लगाइएको छ । सरकारी प्रतिबन्ध खुले पनि स्थानीय तहको लापरबाहीका कारण झापामा नदीजन्य पदार्थ उत्खनन्, संलन तथा ढुवानी प्रभावित भएको हो । सरकारले प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य सामग्री उत्खनन् गर्न रोक लगाएर असोज १ गतेदेखि नदीजन्य सामग्री उत्खनन्, संकलन तथा ढुवानी खुला गरे पनि झापामा नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ढुवानी नहुने भएको हो ।

सरकारले प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य सामग्री उत्खनन् गर्न रोक लगाए पनि स्थानीय तहले त्यो समयमा प्रारम्भिक वातावरण परीक्षण (आईईई) गरेर ठेक्का प्रक्रिया पूरा नगरेकाले असोज १ गतेदेखि नदीजन्य सामग्री उत्खनन्, संकलन तथा ढुवानी गर्न समस्या भएको हो । नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ढुवानी नहुँदा झापामा हुने विकास निर्माणका काममा आवश्यक पर्ने नदीजन्य सामग्री आपूर्तिमा समस्या देखिएको निर्माण व्यवसायी बताउँछन् ।

झापाको अर्जुनधारा, मेचीनगर, दमक, भद्रपुर, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाले नदीजन्य सामग्री उत्खनन्, संकलन तथा ढुवानीवापत ठेक्का लगाउने गरे पनि त्यस क्षेत्रमा नै समयमा काम नहुँदा राजस्व संकलनमा समस्या देखिएको छ । झापाको अर्जुनधारा, मेचीनगर, दमक, भद्रपुर, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको मुख्य आम्दानी नदीजन्य सामग्रीको बिक्रीवापत हुँदै आएकोमा ती स्थानीय तहले समयमै प्रारम्भिक वातावरण परीक्षण (आईईई) गरेर ठेक्का प्रक्रिया पूरा नगरेकाले आम्दानी प्रभावित भई राजस्व संकलन पनि कम हुने भएको छ ।

स्थानीय तहले लापरबाही गर्दा उत्खनन्बाट संकलन हुने राजस्व चुहावट हुने गरेको छ । समयमा काम नगर्ने कर्मचारी र जनप्रतिनिधिका कारण स्थानीय स्रोतबाट संकलन हुने करोडाैं राजस्व गुमेको छ । यसैबीच झापाको दमक नगरपालिकाले समयमा प्रारम्भिक वातावरण परीक्षण (आईईई) गरेर ठेक्का प्रक्रिया पूरा गर्न नसक्दा नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा बिक्रीवितरण कार्यमा रोक लगाएको छ । दमक नगरपालिकाले सूचना प्रकाशित गर्दै असोज १ गतेदेखि नदीजन्य पदार्थको उत्खनन, संकलन तथा ढुवानी कार्य पूर्णरूपमा बन्द गरिएको दमक नगरपालिकाका अधिकृत यज्ञराज निरौलाले जानकारी दिए ।

दमक नगरपालिकाभित्रका रतुवा र मावा खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गर्ने सम्बन्धमा अन्तरपालिकाबीच छलफल भएको बताउँदै उनले कानुनअनुसार नदीजन्य पदार्थको उत्खनन्, संकलन, ढुवानी खुल्ला भए पनि समयमा प्रारम्भिक वातावरण परीक्षण (आईईई) गरेर ठेक्का प्रक्रिया पूरा गर्न नसक्दा नदीजन्य पदार्थको उत्खनन् गर्न रोक लगाएको बताए । दमक नगरपालिका भित्रका रतुवा र मावा खोलाबाट नदीजन्य पदार्थको उत्खनन् गर्ने सम्बन्धमा अन्तरपालिकाबीच आवश्यक निर्णय हुन बाँकी रहेकाले निर्णय नभएसम्म नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा ढुवानी कार्य पूर्णरूपमा बन्द गरिएको उनले जनाए ।

कोही कसैले नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा ढुवानी कार्य गरेको पाइएमा कोशी प्रदेशको आर्थिक ऐन, २०८० बमोजिम कारबाही गरिने समेत उनले चेतावनी दिए । अर्जुनधारा नगरपालिकाले पनि समयमै प्रारम्भिक वातावरण परीक्षण (आईईई) गरेर ठेक्का प्रक्रिया पूरा गर्न नसक्दा नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा बिक्री वितरण कार्यमा रोक लगाएको छ । अर्जुनधारा नगरपालिकाले ठेक्का प्रक्रिया पूरा गर्न अझै १५ दिन लाग्ने अर्जुनधारा नगरपालिकाका प्रशासन प्रमुख हिमराज सेढाईंले बताए । उनले ६ करोड ५४ लाख न्यूनतम अंक राखेर ई–बिडिङ गरिएको र त्यसको म्याद अझै १५ दिन रहेको उनले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाले ठेक्का प्रक्रिया पूरा गर्न नसकेपछि अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा बिक्री वितरण हुने नाकामा कर्मचारी परिचालन गरेर कर संकलन गर्न सुरु गरेको उनले बताए । अमानतमा कर संकलन गर्नका लागि नाकामा कर्मचारी पठाइएको र त्यसका लागि १५ जना कर्मचारी तथा १५ जना स्वयंसेवक परिचालन गरिएको उनले जानकारी दिए । विगतका वर्षमा त्यसरी कर्मचारी परिचालन गरेर कर संकलन गर्दा वास्तविकभन्दा धेरै कम राजस्व संकलन हुने गरेको पाइएको बताउँदै उनले यस वर्ष पनि समयमा प्रक्रिया पूरा नगर्दा नगरको राजस्व घट्ने निश्चित भएको जनाए ।

नदीजन्य पदार्थको उत्खनन्, संकलन र ढुवानीमा रोक लगाउने हो भने त्यहाँ आश्रित हजारौं मजदुरको रोजीरोटी गुम्ने उनको भनाइ छ । चाडपर्व नजिकिएकाले मजदुरहरूलाई पनि मिठो मसिनो खान मन हुने भएकाले पनि नदीजन्य पदार्थको उत्खनन, संकलन र ढुवानीमा रोक लगाउन नसकिने सेढाईंले बताए । केही वर्षअघि अर्जुनधारा नगरपालिकाले नदीजन्य सामग्रीमा रोक लगाउँदा आन्दोलित मजदुरले नगरपालिका तोडफोड गरेको स्मरण गर्दै उनले अमानतमा संकलन गर्दे गर्दा राजस्व पनि नहराउने र मजदुरदेखि विकास निर्माणका काम प्रभावित पनि नहुने बताए ।

त्यसैगरी झापाको कनकाई नगरपालिकाले अतिरिक्त सात दिनका लागि नदीजन्य सामग्री उत्खनन्मा रोक लगाएको कनकाई नगरपालिकाका सूचना अधिकारी खगेन्द्र मिश्रले बताए । दुई करोड ११ लाखमा ठेक्का लागेर सम्झौताको तयारी भइरहेको बताउँदै उनले त्यसका लागि आशयको सूचना प्रकाशन गरेर सम्झौता गर्न सात दिनको समय लाग्ने जनाए । त्यस्तै मेचीनगर नगरपालिकाले नदीजन्य सामग्री उत्खननका लागि प्रक्रिया नै सुरु नगरेको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताए । उनले अझै दुई महिना प्रक्रिया पूरा गर्न समय लाग्ने बताए ।

नदीजन्य सामग्रीको कहिले बिक्री गर्ने, कहाँ बिक्री गर्ने, कसरी बिक्री गर्ने भन्ने निर्णय मेचीनगर नगरपालिकाले गर्ने भएकाले मेचीनगर नगरपालिकाको सम्पत्ति जसरी पनि बिक्री गर्न सकिने जिकिर गरे । त्यस्तै भद्रपुर नगरपालिकाले ठेक्काको सूचना प्रकाशन गर्ने तयारी गरिरहेको भद्रपुर नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोखरेलले जानकारी दिए । उनले आईईई गरेर ठेक्का प्रक्रिया सुरु गरिएको बताउँदै एक करोड ११ लाख न्यूनतम अंक राखेर ईबिडिङ गर्ने तयारी भइरहेको जनाए ।

त्यस्तै बुद्धशान्ति गाउँपालिकाले अर्जुनधारा नगरपालिकासँग साझेदारीमा बिरिङ खोला ठेक्का लगाउने गरेको र यसको ब्यवस्थापन अर्जुनधारा नगरपालिकाले नै गर्दै आएको बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष तथा प्रवक्ता अनिल वाग्लेले जानकारी दिए । त्यस्तै टिमाई र हडिया खोलामा भने उत्खनन् गर्न रोक लगाउने निर्णय गरेको उनले जानकारी दिए । उनले अरु खोलामा भने प्रक्रिया केही ढिला हुने भएकाले उत्खनन्मा रोक लगाइएको बताए । अन्य खोलामा अमानतमा कर संकलन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्