Logo

आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा

असोज १० गतेदेखि फर्निचर एक्स्पो

काठमाडौं– राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले एक्स्पोको तयारी तीव्र पारिएको जानकारी दिएको हो ।

‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने मुख्य थिमसहित एक्स्पोको आयोजना हुने बताइएको छ । यसअघि नै आयोजकले फर्नेक्सको इभेण्ट लञ्च गरी बोलकबोलमा अधिकांश स्टल बुकिङ गराएको थियो । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा स्टल बुकिङ खुल्ला गरिएकोमा केहीबाहेकका सबै स्टल बुकिङ भइसकेको एशोसिएसनले जनाएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । उनले भने, ‘आर्थिक गतिविधिहरु सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक कृयाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौं ।’

एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ । मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन संघले पहलकदमी लिँदै आएको एक्स्पोका संयोजक निकुञ्ज अग्रवालले बताए । हरेक वर्ष आयोजना भइरहेको फर्नेक्सले यो अभियानलाई सहयोग गरिरहेको भएपनि पछिल्ला दिनमा सरकारले गरेको नयाँ व्यवस्थाका कारण स्वदेशी उत्पादनको बजार बिस्तार चुनौतीपूर्ण भएको अग्रवालको भनाइ छ ।

‘अर्थतन्त्र कमजोर अवस्थामा रहेका बेला स्वदेशी मुद्रा बाहिरिनबाट रोक्नुपर्नेमा सरकारले वन नियमावलीमा निजी क्षेत्रलाई निषेध गर्दा आयातित वस्तुको मात्र बढ्ने हो कि भन्ने चिन्ता एशोसिएशनलाई लागेको छ ।’ एक्स्पोमा १०० भन्दा बढी स्टल रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ ।

एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न सहज मार्ग निर्देशन गर्ने एशोसिएशनका महासचिव सञ्जय लामाले बताए । उनले भने, ‘ग्राहकलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामग्री उपलब्ध गराउन एक्स्पो महत्वपूर्ण हुने विश्वास लिएका छौं ।’

नेपाली तथा अन्र्ताष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनको प्रचार तथा प्रवर्द्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ । एक्स्पो स्थलमा सामान खरिद गर्नका लागि खुल्ला बजार पनि सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्