सेती अस्पताललाई दुई सय शैयाको बनाइँदै

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई दुई सय शैयामा वृद्धि गर्न ओएनएम स्वीकृत गर्ने तयारी गरेको हो । २०३९ सालमा ५० शैयाको स्वीकृत पाई अञ्चल अस्पतालको मान्यता पाएको अस्पताल अहिले पनि सोही दरबन्दी र शैयामा सञ्चालन भइरहेको छ ।
अस्पताल व्यवस्थापन समितिले आफ्नै स्रोतमा ७५ शैया सञ्चालन गरेपछि सो अस्पतालमा १२५ शैयाको सेवा दिइरहेको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालको स्तरवृद्धि गर्न बिहीबार अनुगमन गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकासमन्त्री झपटबहादुर साउँद र भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर शाहले अस्पतालको अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा सामाजिक विकासमन्त्री साउदले सेती अस्पतालमा दुई सय शैया अनुमति दिन फाइल अगाडि बढाइसकेको जनाए । सेती अस्पतालको ओएनएम सर्भेको फाइल सामाजिक विकास मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ । मन्त्रिपरिषद्बाट ओएनएम स्वीकृत गरी अस्पतालको स्तरोन्नतिका लागि आफूहरूले अनुगमन गरेको मन्त्री साउदले बताए ।
‘सकेसम्म मागअनुसार दुई सय शैयाको सेती प्रादेशिक अस्पताल बनाउँछौं,’ उनले भने, ‘नसके केही न केही मात्रामा अस्पतालको स्तरवृद्धि गर्छौं । अब यो अस्पताल पुरानै अवस्थामा रहँदैन ।’ अस्पतालको स्तरोन्नति हुन नसकेका कारणले अस्पतालमा विशेषज्ञ डाक्टरदेखि तल्लो तहको कर्मचारीसम्मको जनशक्ति अभाव भोग्दै आएको छ । जनशक्ति अभावका कारणले बिरामीलाई अस्पतालले छिटो छरितो र गुणस्तरीय सेवा दिन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले बताए ।
उनले जनशक्ति अभाव, भवन अभाव र उपकरणको अभावको कारणले गर्दा अस्पतालको सेवा प्रभावित भएको बताए । उनले सात वर्षदेखि निर्माण भइरहेको नयाँ भवन निर्माण कम्पनीको लापरबाहीले निर्माण सम्पन्न नभएको बताए । अस्पतालकी नर्सिङ विभाग प्रमुख शान्ति बरालले दुईजना नर्सको भरले १५ शैयाको आईसीयूमा सेवा दिंँदा सेवा प्रभावकारी नभएको बताइन् । विशेषज्ञ डा. कपिल गौतमले चिकित्सकलाई प्रोत्साहन र सुरक्षाको आवश्यक रहेको बताए ।
मन्त्री साउदले अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन अस्पतालका विशेषज्ञ डाक्टर, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र व्यवस्थापन समितिलाई निर्देशनसमेत दिएका छन् । उनले बिरामीलाई छिटोछरितो सेवा दिई अस्पतालको सेवा सुधार गर्नमा भूमिका निर्वाह गरेको परिणाम आएपछि सम्पूर्ण विशेषज्ञ डाक्टर, चिकित्सक, नर्स, कर्मचारी सबैलाई प्रदेश सरकारले तलब बराबरको प्रोत्साहन भत्ता दिने तयारी गरेको बताए ।
‘तलबको शतप्रतिशतसम्म प्रोत्साहन भत्ता दिने तयारी भइरहेको छ,’ मन्त्री साउदले भने, ‘अस्पताललाई आफ्नै अस्पताल ठानेर सेवा गर्ने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मीलाई तलबको ८० देखि एक सय प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन्छौं,’ मन्त्री साउदले भने, ‘अन्य प्रदेशले १५० देखि २०० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन सक्ने हामीले नसक्ने भन्ने कुरा हुँदैन । चिकित्सकले सेवा गर्नुपर्यो । हामीले त्यसवापत प्रोत्साहन गर्छौ ।’
मन्त्री साउदले सरसफाइ, छरितो र सुलभ सेवा दिन स्तरवृद्धि र प्रोत्साहन भत्ता पर्खिनु नपर्ने अवस्था रहेकाले सो कार्यहरू तत्काल गर्न निर्देशन दिएका छन् । उनले भएको सेवासमेत नदिएर रिफर गरेको गुनासो आएको बताउँदै त्यस्तो गुनासो नआउने गरी काम गर्न अस्पताल प्रशासन र व्यवस्थापनलाई दिर्नेशन दिएका छन् । उनले त्यस्तो गुनासो पुन: आएमा राम्रो नहुने चेतावनीसमेत दिएका छन् । अस्पतालमा विशेषज्ञ डाक्टर, चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र अन्य कर्मचारी गरी चार सय जनाभन्दा बढी व्यक्ति कार्यरत छन् ।
अस्पतालमा जनशक्ति र उपकरण अभावमा दैनिक ४० जनाको मात्रै भिडियो एक्सरे गरिन्छ भने डाइलसिस र सामान्य अप्रेसनको पालो आउन पनि महिना दिनभन्दा बढी समय लाग्ने गरेको छ । अस्पतालले विशेषज्ञ सेवा वृद्धि गर्दै लगेको भए पनि सरकारीस्तरबाट दरबन्दी र शैया थप नभएको कारणले व्यवस्थापन चूनौतिपूर्ण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) ले बताए । उनले व्यवस्थापन समितिको निर्मणबाट हुन सक्ने सुधार एक एक गर्दै गरिरहेको बताए ।
प्रदेशका मुख्यमन्त्री शाहले सेती प्रादेशिक अस्पतालमा तीन महिनाभित्रै परिवर्तन ल्याउने गरी प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले अस्पतालको सेवा सुधार र समस्या समाधान, जनशक्ति व्यवस्थापन, अधुरो भवन निर्माणलगायतका विषयमा तीन महिनाभित्रै प्रदेश सरकारले परिवर्तन ल्याउने दाबी गरे । उनले एकै बेडमा दुई/तीन जना विरामी राखेर उपचार गर्नुपर्ने, बिरामीले सेवाका लागि धेरै समय पर्खिनुपर्ने जस्ता समस्या प्रदेश सरकारले तीन महिनाभित्रै समाधान गर्ने जनाए ।