Logo

घरभित्रै नयाँ बाटो कायम गरिदिँदा चिन्तित

बिर्तामोड– झापाको दमक नगरपालिका–६ देवकोटा चोक आसपास दाहिनेगढी टोलमा सर्पट नापी टोलीले घरभित्रै नयाँ बाटो कायम गरिदिँदा त्यस क्षेत्रका स्थानीय चिन्तित बनेका छन् । सर्पट टोलीमा खटिएका प्राविधिकले सडक नक्सांकन गर्ने सिलसिलामा कार्यालयमा बसेर आफूखुशी त्यहाँको सडकको उत्तरतर्फका ६ परिवारको घर बसोबास रहेको क्षेत्रलाई समेत सडक कायम गरिदिँदा उनीहरु चिन्तित बनेका हुन् ।

जग्गा नापजाँच सम्बन्धिको सर्पट टोलीले आफूखुसी बाटो कायम गरिदिएपछि ती परिवार समस्यामा परेको भन्दै दमक नगरपालिका कार्यालयले मालपोत कार्यालयलाई सहयोग गर्न पत्राचार गरेको छ । नगरपालिकाले वडा नं ६ को सिट नं १७९००१६०५ अन्तर्गतको कित्ता नं ८, ९, १०, ११, १२ र ४८ को जग्गा सर्पट नापी गर्दा बाटोको नक्सांकन घरभित्र परेकाले सोको अवस्था यकिन गर्न सहकार्य तथा सहयोग गरिदिन मालपोत कार्यालयलाई आग्रह गरेको छ ।

गत असार १७ गते लेखेको पत्र मालपोत कार्यालयमा पुगेको र वडा कार्यालयबाट थप सिफारिस कागजात प्राप्त भएपश्चात नियमानुसार कारवाही गर्ने गराउने भन्ने मालपोत कार्यालय प्रमुखले मुद्धा फाँटलाई आदेश गरेको भएपनि वडा कार्यालयले थप सिफारिस कागजात दिन नमान्दा सो प्रकृया अवरुद्ध हुन पुगेको पीडितहरुको गुनासो छ । पहिला जग्गा खरिद गर्दा त्यहाँ १६ फिट बाटोको चौडा रहने र त्यसमध्ये उत्तर र दक्षिण दुवैतर्फबाट ८–८ फिट बाटोको भाग छोडनुपर्ने भनिएपनि सर्पटले दक्षिणतर्फबाट बाटोको भाग नलिई उत्तरतर्फबाट मात्रै १८ फिट चौडा भएको बाटो कायम गरिदिएको पीडित कृष्णबहादुर बस्नेतले बताए ।

आफूसहित जगतबहादुर लिम्बु, जमुना दाहाल क्षेत्री, कमल बुढाथोकी, सुन्दरदेवी साह र पुष्पा रानामगरका नाममा रहेको जग्गामा पूर्वसर्त अनुसार ८ फुटका दरले चौडा छोडेर नगरपालिकाबाट स्वीकृति लिएर घर बनाएको बताउँदै उनले आफूहरुमाथी अन्याय गरेको गुनासो गरे । नगरपालिकाबाट स्वीकृति लिएर बनाइएका घरभित्रै सर्पटले बाटो कायम गरिदिएको सडक स्तरोन्नतीका लागि नगरपालिकाले प्रकृया अघि बढाएपछि मात्रै थाहा पाएको उनको भनाइ छ ।

जग्गा अलि फराकिलो भएका कतिपय जग्गाधनीको त तीन धुरसम्म सडक कायम गरिएको बताउँदै उनले दक्षिणतर्फबाट सडकका लागि जग्गा छोडिनुपर्नेमा एकतर्फी उत्तरतर्फको मात्रै जग्गा छोड्न लगाउने कुरामा आफूहरुको सहमति नभएको उनले बताए । त्यस क्षेत्रकी सुन्दरदेवी साहले सो ठाउँमा २०६५ असोज २ गते घर निर्माण सम्पन्नको कागजात नगरपालिका कार्यालयबाट लिएको, जमुना दाहाललाई पनि २०६२ सालमा नै घर नक्सा पासको प्रमाण पत्र दिइएको, पुष्पा राना मगरलाई २०६४ सालमा र कृष्ण बस्नेतलाई २०६७ साल बैशाखमा घर निर्माण सम्पन्नको प्रमाण नगरपालिकाले दिएको बताइएको छ ।

घरभित्रै बाटो कायम भएको पाइएपछि आफूहरु सो नक्सांकन संशोधनका लागि पटक पटक विभिन्न निकायमा पुगेको पीडितहरुको गुनासो छ । पीडितलाई नापी कार्यालयका अमिन तथा हाकिमले भित्र पस्नै नदिएका कारण न्यायका लागि सार्वजनिक अपिल गर्न बाध्य भएको उनीहरुले बताएका छन् । नापी कार्यालयले आफूहरुको माग र समस्याका विषयमा सुन्नै नखोज्नुले आशंका पैदा भएको उनीहरुको भनाइ छ । सडक स्तरोन्नतीका लागि लागत सहभागितासमेत जुटाएपनि बाटोको नक्सांकनको समस्या हल गर्न प्रयास नगरिएको उनीहरुको आरोप छ ।

नगरपालिकाको न्यायीक समितिमा यस विषयमा परेको उजुरी पछि वडा सदस्य डेन्जोङ लामाको संयोजकत्वमा पीडितलाई जग्गा बिक्री गर्ने व्यवसायी भगवान बस्नेतसहितको एक समिति गठन गर्ने काम भएपनि नापी कार्यालय र सम्बन्धित वडा कार्यालयले नक्सांकन संशोधन गर्ने प्रयास नगरेको पीडित बस्नेतले बताए । समस्या समाधानका लागि बाटो दक्षिणतर्फका जग्गाधनीलाई नबोलाइकन बाटो उत्तरतर्फकालाई मात्रै बाटोको पूरै भाग बोकाउन खोजिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्