राष्ट्रिय परिचयपत्र प्रयोगविहीन

पाँचथर-सरकारले निकै महत्वकांक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ । सरकारले पाइलट प्रोजेक्टका रूपमा सिंहदरवारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरे पनि यो ‘सामान्य परिचयपत्र’मै सीमित भएको छ ।
नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याइएको राष्ट्रिय परिचयपत्र स्थानीयका लागि भने ‘बोक्नु न टोक्नु’ भनेजस्तै भएको छ । कुनै पनि प्रयोगमा नआएपछि नागरिकहरूले बाकसमा थन्क्याएर राखेका हुन् । पाँचथरमा १ लाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारीलाई पहिलोचरणमा परिचयपत्र वितरण गर्ने योजनाअनुरुप सुरु भएको यो कार्यक्रम वितरणमै सीमित भएको छ । केही प्रयोजनमा नआएपछि नागरिकले परिचयपत्र थन्क्याएका हुन् ।
पहिलो चरणअन्तर्गत पाँचथर जिल्लाका नागरिक र सिंहदरबारका कर्मचारीलाई परिचयपत्र वितरण गर्ने तयारीअनुसार काम पूरा भएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार यो प्रोजेक्टको कुल लगानी साढे ५ अर्ब हो ।
त्यसमध्ये हालसम्म ४९ करोड रकम खर्च भइसकेको छ ।तामझामका साथ राष्ट्रिय परिचयपत्र वितरण थालिए पनि त्यसको उपयोगिता नभएपछि स्थानीय निराश छन् । अहिले पनि जिल्ला प्रशासन कार्यालयमार्फत कार्ड लिन चाहानेहरूका लागि विवरण संकलनको कार्य भइरहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय पाँचथरका कम्प्युटर अपरेटर भेषराज खत्रीले जानकारी दिए ।‘पाइलट प्रोजेक्ट’का रूपमा वितरण सुरु भएको राष्ट्रिय परिचयपत्र वितरण अन्तर्गत अहिलेसम्म ५८ हजार १ सय ५८ जना पाँचथरका नागरिकले परिचयपत्र लिइसकेका छन् । जिल्लामा हालसम्म विवरण दर्ता भएका ८६ हजार ५ सय २८ मध्ये सबै नागरिकले कार्ड पाएका हुन् । विवरण संकलन भएर पनि अहिलेसम्म २४ हजार ९ सय ४४ जनाको कार्ड थन्किएको छ भने विवरण दिएर पनि ३ हजार ४ सय २६ जनाको कार्ड आउनै बाँकी छ ।
कार्डमा व्यक्तिका जैविक र व्यक्तिगत विवरण समावेश गरिएको उनले जानकारी दिए । हाल विवरण संकलन भइरहेको कार्डमा व्यक्तिगत विवरण र जैविक विवरणलाई पहिलो चरणमा स्थान दिन लागिएको छ । व्यक्तिगत विवरणमा कार्ड पाउने व्यक्तिको नामथर, पारिवारिक अवस्थालगायत विवरण समावेश हुन्छ भने जैविक विवरणमा हातका दशवटै औंलाको छाप, फोटोलगायतका विवरण समावेश गरिएको छ ।यसमा अन्य विवरण थप गर्दै लैजाने तयारी सरकारको छ । नेपालको नागरिकता लिएका र लिन उमेर पुगेकाहरूका लागि गरेर दुई तरिकाबाट कार्ड वितरण गरिएको छ ।
राष्ट्रिय परिचयपत्रको कार्ड रिड गर्ने मेसिनसमेत कतै छैन । यो पाइलट प्रोजेक्ट मात्रै भएका कारण देशभर सवैका हातमा पुगे पछि यसको अध्ययन गर्न सक्ने मेसिनको व्यवस्था हुने पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए । तत्काल कार्ड अध्ययन गर्न सक्ने मेसिन राख्ने कुनै तयारी नबुझिएको उनले बताए । सवै नागरिकका हातमा कार्ड पुगे पछि त्यस पछिको चरणमा मेसिन राख्ने हो । उनले भने, “पाँचथरको हकमा सदरमुकाम सहितका बजार क्षेत्रमा आवश्यकता हेरेर कार्ड अध्ययन गर्न सक्ने मेसिन राखिने छ ।”
सवैको हातमा कार्ड नपुगेका कारण हालका लागि मेसिन नराखिएको प्रमुख जिल्ला अधिकारी वस्तीले बताए । मेसिन राख्न बजेट भन्दा पनि केन्द्रीय नीतिको एकरुपता पहिलो सर्त हो । केन्द्रले राख्ने भन्ने निर्णय लिनेवित्तिकै सवै क्षेत्रमा राखिने बताए ।