व्यावसायिक कागती खेतीमा किसान «

व्यावसायिक कागती खेतीमा किसान

गजुरी– व्यावसायिक कागती खेतीमा किसानहरू सक्रिय हुन थालेका छन् । अहिले ज्यामरुङका आधा दर्जन किसान व्यावसायिक कागती खेती गर्न थालेका छन् । कागतीलाई बाँदरले पनि क्षति नगर्ने भएकाले धमाधम व्यावसायिक खेती थालिएको छ । यो वर्षमात्रै ज्यामरुङका चन्द्र लम्साल, रोहिणी लम्साल, हेमबहादुर ढकाल, बीएन ढकाल, दिनेशचन्द्र ढकाललगायतले करिब २ हजार बोट कागती लगाएका छन् ।

अन्य बालीमा बाँदरले अत्यधिक क्षति गर्ने भएकाले पनि किसानहरू कागती खेतीतर्फ लागेका हुन् । जिल्लामा पछिल्लो समय कागती खेतीलाई व्यावसायिक गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । कुनै समय सामान्य घरायसी प्रयोजनका लागि मात्र दुई–चार बोट बिरुवा रोप्ने प्रचलन भए पनि पछिल्लो समयमा कागती खेतीको व्यावसायिक खेती र उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए ।

धुनिबेसीमा करिब दुई सय जनाले कागती खेती गरेका छन् । थाक्रे, नेत्रावती र बेनीघाट रोराङमा पनि कागती खेतीलाई कृषकले व्यावसायिक खेतीको रूपमा अघि बढाउन थालेका छन् । बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदे बालीका रूपमा किसानले लिन थालेका छन् । कागती खेतीलाई सम्बन्धित निकायहरूले चासो दिन सके मकै, कोदोलागायत बाँदरले आतंक मच्चाउने ठाउँहरूमा कागतीको बिरुवा लगाउने कृषकको संख्या अझ बढ्ने कृषि प्रसार अधिकृत शर्माको भनाइ छ ।

अहिले नेपाली बजारमा कागतीको मूल्य प्रतिकिलो एक सय ५० देखि ४ सय रुपैयाँसम्म पुगेको छ । कागती खेतीमा किसानहरू लागेपछि जिल्ला सदरमुकाम नजिक नीलकण्ठ नगरपालिका–१२ सागंकोषका रामशरण लम्साल अहिले कागती टिप्न व्यस्त छन् । सदरमुकाम धादिङबेसीमा ग्रिल व्यवसाय गर्दै आएका लम्सालको बारीभरि कागती फलेको छ । कोरोना महामारीकै बेला कागती लगाएका नीलकण्ठ नगरपालिका–१०, ज्यामरुङका ईश्वरी लम्सालको बारीमा पनि कागती लटरम्मै फलेको छ ।

परीक्षणको रूपमा लगाइएको कागतीले दुई वर्ष अघिदेखि उत्पादन दिन थालेको हो । गत वर्ष २ लाख रुपैयाँको कागती बिक्री गरेका लम्सालले यस वर्ष चार–लाख रुपैयाँ आम्दानी हुने अनुमान गर्छन् । १ सय ५० बोट कागतीले तीन वर्षमै उत्पादन दिन सुरु गरेको छ । कागती खेतीको परीक्षण सफल भएपछि ईश्वरीले अहिले फेरि ६० बोट कागतीको बिरुवा लगाएका छन् । लकडाउन हुनुअघि ठेक्कापट्टाको काम गर्दै आएका ईश्वरीले कागती खेतीको सम्भावना र जग्गा व्यवस्थापनका विषयमा अध्ययन गरेर खेती गरेका हुन । हालसम्म कागतीमा १० लाख रुपैयाँबराबरको लगानी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्