Logo

पहिरोले खेतीयोग्य जमिन बन्यो बगर

म्याग्दी– पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेको खेतीयोग्य जमिन बगर बनेको छ । वडा नम्बर ५ स्थित कुवापानीको पहाडबाट खसेको पहिरोले खेतीयोग्य जमिन बगर बनाएको हो । असार ११, २३ र साउन ६ गते वर्षात्पछि कुवापानीको जंगलबाट आएको पहिरोसहितको बाढीले सात घरपरिवार विस्थापित र सँयौ रोपनीमा लगाएको खेती नष्ट गर्दै जमिनलाई बगर बनाएको पहिरोबाट विस्थापित मूलघडेरीका पदम कार्कीले बताए ।

उनले पहिरोले मेरो ६० रोपनी जग्गा बगर बनाएको बताए । ‘बाढीले मूलघडेरी बस्ने पदम कार्की, नगेन्द्र कार्की, रविन मगर, डम्मर खत्री, लालबहादुर जिसी, रेशमबहादुर कार्की र डेकबहादुर कार्कीको घर जोखिममा परेपछि विस्तापित भएका छन्, खेतीयोग्य जमिन पूर्णक्षति पुर्‍याएको छ,’ पदम कार्कीले भने, ‘साउन ६ गते आएको बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको छ । बाढीले सात घरपरिवार खाना घरमा र रातमा बस्न नवजागरण महिला आमा समूहको भवनमा जान्छौं ।”

डेढ महिनाको अवधिमा स्थानीय, प्रदेश र संघका सांसद र मन्त्री आए पनि संरक्षण र नियन्त्रणको ठोस योजना नआएको पहिरोबाट विस्थापित पीडित कार्कीले बताए । आकाशबाट पानी पर्नेबित्तिकै लेदोसहितको बाढी आउँदा भागाभाग हुने गरेको डम्मरबहादुर खत्रीले बताए । ‘लेदोले मकैबाली नष्ट गरेको छ, सडकमा खोल्सा बनाएको छ भने बराहमन्दिर ताल पुरेको छ,’ उनले भने । ‘लेदोले पुरिएपछि धान र कोदो रोपाइँ गर्न पाएका छैनौ । क्षतिपूर्ति पनि पाउन सकेका छैनौं ।’

पहिरो निरीक्षण गर्दै भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले चर्किएको पहाडको डिललाई तत्काल व्यवस्थापन र संरक्षण गर्न सम्भव नरहेको बताए । उनले बाढी पहिरोबाट बस्ती, खेतीयोग्य जमिनमा थप क्षति हुन नदिन व्यक्तिको जग्गालाई मुआब्जा दिएर बाढी नियन्त्रण र संरक्षणको काम गर्नुपर्ने उल्लेख गरे ।

‘कुवापानीको पहिरोलाई केही गर्न सकिँदैन, भूगर्भविद् लिएर अध्ययन गर्नुपर्छ, एक सय मिटर चौडाइमा पहाड फाटेको छ, पानी पर्नेबित्तिकै जमिन बग्न थाल्छ,’ उनले भने, ‘यो पहिरोबाट थप क्षति हुन नदिन संरक्षण काम र पुरिएको बराहताल माटो फाल्ने र सडक स्तरोन्नति गर्ने कामलाई प्राथमिकता दिएर स्टिमेटअनुसार बजेट विनियोजन गर्न प्रदेश सरकारसँंग पहल गर्छौ ।’

जलजला गाउँपालिकाका निर्वतमान अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले मानवीय क्षति नभए पनि भौतिक क्षति ठूलो भएको बताए । यस पहिरोले जलजलाको दुई वटा वडाको बस्तीलाई ठूलो क्षति पुर्‍याउने देखिएकाले दीर्घकालीन रूपमा बस्ती, खेतीयोग्य जमिन, बराहताल, जिसी र कार्कीको कुल मन्दिर, जोगाउन भू तथा जलाधार व्यवस्थापन कार्यालय पूर्वाधार विकास कार्यालयबाट स्टिमेट तयार पारेर तत्काल बजेट छुट्याउने काममा पहल हुने बताए ।

दुई कार्यालयले तयार पारेको स्टिमेटअनुसार बजेट विनियोजन गर्न मुख्यमन्त्री तयार रहेको निर्वतमान अध्यक्ष मल्लले बताए । उनले आगामी दिनमा स्थानीय, प्रदेश र संघसँंग समन्वय गरेर थप क्षति हुन नदिन संरक्षण गरिने उल्लेख गरे । तत्काल बाढी नियन्त्रणको काम हुन नसके भविष्यमा ठूलो जनधनको क्षति हुने स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्