साउनमा साढे ५५ हजार विदेशिए

काठमाडौं– चालु आवको साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ५५ हजार ५७५ पुगेको छ । गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको पहिलो महिनामा उच्च देखिएको हो ।
वैदेशिक रोजगार विभाग ताहचल कार्यलयका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा जान उक्त संख्यामा श्रम स्वीकृति जारी भएको थियो । गत वर्षको साउनको तुलनामा चालु आवमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या केही घटेको छ । गत आवमा वैदेशिक रोजगारीमा जान ६१ हजार ६३० श्रमिकले श्रम स्वीकृति लिएकोमा यो वर्ष ६ हजार कमी आएर ५५ हजार ५७५ मा सिमित भएको छ ।
यद्यपि गत आवको साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म कायम रहेको छ । चालु आवको साउनमा बिदामा आएर पुन: श्रम स्वीकृति लिनेको संख्या १६ हजार ४२३ रहेको विभागका ताहाचल कार्यलयले जानकारी दिएको छ । यो महिनामा मेनपावर कम्पनीमार्फत २९ हजार २२४, व्यक्तिगत ७ हजार ७३५ श्रमिकले विदेश जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक मदन दहालले पछिल्लो समय श्रम गन्तव्यबाट मागबढी आएका कारण वैदेशिक रोजगारी जान श्रम स्वीकृति लिनेको संख्या बढेको बताए । पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुन: वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बड्दै गईरहेका कारण श्रम स्वीकृतिको संख्यामा वृद्धि भएको देखिन्छ ।
नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार कोरोना संक्रमणका बेला घटेको देखिएपनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ । अघिल्ला दुई आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा काममा जाने युवाको संख्या क्रमस: घटदो रहेको पाइएको थियो । तर गत आवबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बड्दै गइरहेको देखिन्छ ।
अघिल्लो आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख ३१ हजार २९० पुगेको थियो भने गत वर्षमा अझ वृद्धि भएर सो संख्या ७ लाख ७१ हजार पुगेको छ । २०७७/७८ मा १ लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रम स्वीकृति लिएका थिए । यस्तै आव २०७६/०७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ३ लाख ६५ हजार ४३३ रहको विभागको तथ्यांकमा उल्लेख छ ।
वैदेशिक रोजगार विभागले नेपालको आन्तरिक रोजगारीको विकल्पको रुपमा रहेको वैदेशिक रोजगारी कोभिड संक्रमणका कारण दुई वर्ष सुस्त रहेपनि हाल कोभिड अघिकै अवस्थाभन्दा अझ सुधार भएको जनाएको छ । विभागले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवालाई पुर्ण अनलाईन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्नगइ श्रम स्वीकृति लिनेको संख्या बढेको जनाएको छ ।
श्रमिक स्रोत देश नेपालको आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्यमा मुलुकमा दूई वर्ष श्रमिक अभाव भएका कारण पनि श्रम स्वीकृति लिनेको संख्या बढेको विज्ञहरूको भनाइ छ । श्रम स्वीकृति लिएका सबै श्रमिक विदेश जान्छन भन्ने नभएपनि यस्तो संख्या न्यून रहेको छ । धेरै खर्च गरेर श्रम स्वीकृति लिएका अधिकांक्ष भने विदेश जाने गरेका छन् ।