Logo

९३७ जनाले लिए टेलिमेडिसिन सेवा

काठमाडौं- वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवाबाट गत आथिक वर्षसम्म ९३७ जनाले सेवा लिएको पाइएको छ ।

वैदेशिक रोजागारीको क्रममा विभिन्न देशमा कार्यरत नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वैदेशिक रोजगार बोर्डले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवामार्फत ४ महिनामा सो संख्याले स्वास्थ्य सेवा लिएका हुन् । टेलिमेडिसिन सेवा लिनेहरुमा सबैभन्दा बढी मलेसियाका २७५ जना छन् । त्यसैगरी साउदी अरेबियाबाट २२७ जना, युएईबाट ९७, कुवेतबाट ७१, कतारबाट १०४, जापानबाट १९, कोरियाबाट ५७, पोर्चुगलबाट ११, रोमानियाबाट ११ र अन्य मुलुकबाट ६५ गरी जम्मा ९३७ जनाले सेवा लिएको बोर्डले जनाएको छ ।

सबैभन्दा बढी मेडिसिनमा ३१२, सर्जरीमा १७२ र अर्थोपेडिकमा १३२ जनाले सेवा लिएका छन् । बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले बोर्डले गत आर्थिक वर्षको चैत महिनाबाट पाइलट टेस्टको रुपमा शुरु गरेको टेलिमेडिसिन सेवा प्रभावकारी हुँदै गएको बताए । उनले तत्कालका लागि एक जना चिकित्सक र २ जना स्टाफ नर्स कुनै समयमा पनि उपलब्ध हुने गरी शुरु गरिएको सेवा प्रभावकारी देखिएपछि विस्तार गर्दै लैजाने सोचमा बोर्ड रहेको पनि बताए ।

‘हामीले पाइलट टेस्टको रुपमा गत आर्थिक वर्षको ४ महिनामा ९ सय जनाले टेलिमेडिसिन सेवा लिएका छन् ।’ उनले भने,‘१६ वटा देशबाट सेवा लिइयो । हामीले वीर अस्पतालसँग सहकार्य गरेर टेलिमेडिसिनको सेवा शुरु गरेका छौ ।’ केही समस्या पर्‍यो भने डाक्टरले अन्य विशेषज्ञ डाक्टरको समय लिएर सेवा दिने दिने गरी व्यवस्था मिलाइएको छ । बोर्डले कल सेन्टर र टेलिमेडिसिनको फोनमार्फत श्रमिक रहेका सबै देशबाट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्